मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनको नयाँ नेतृत्वका लागि भट्टले आफूलाई सहयोग गर्ने पन्तको विस्वास

बिहीबार, ०९ साउन २०७६, १४ : ०६
बिहीबार, ०९ साउन २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा हुने नवौं विश्व सम्मेलनबाट चयन गरिने नयाँ नेतृत्वमा आफ्नो दाबेदारी रहेको भन्दै वर्तमान अध्यक्ष भवन भट्टको पनि  सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

 बिहीबार राती भट्टले आफूले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेसँगै नेतृत्वको लागि दौडधूपमा रहेका पन्तले यस्तो बताएका हुन् । 

उनले भट्टको कार्यकालमा एनआरएनका तीन महत्वपूर्ण परियोजनाहरु लाप्राकको मुख्य बस्ती, एनआरएनए भवन र शंकमूल पार्क निर्माण सम्पन्न भएको उल्लेख गर्दै अन्य कामहरु पनि उल्लेख्य रुपमा भएको बताए । 

‘भवनजीले आफ्नो कार्यकालमा उत्कृष्ट काम गर्नुभएको छ । तीन वटा मुख्य परियोजनाहरु लाप्राकको बस्ती निर्माण, एनआरएनए बिल्डिङ, शंकमूल पार्क लगायतका अरु थुप्रै उल्लेखनीय काम गरिसकेपछि  उहाँले फेरि नेतृत्वमा दोहोर्याउनु आवश्यक नठान्नु भएको हुनसक्छ’, उनले रातोपाटीसँग कुराकानी गर्दै भने । 

भट्टले चुनाव नलड्ने घोषणा गरेसँगै अब एनआरएनको नेतृत्व सर्वसहमतिमा चयन गरिनुपर्ने आसय पन्तले व्यक्त गरे । ‘संस्थामा सहमतिको प्रयास जहिले पनि हुने गरेको छ । यसपटक पनि सिनियर र  अग्रहजबाट सहमतिको प्रयन्त हुन्छ भन्ने श्विास लिएको छु’ पन्तले भने, ‘भएन भने पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुंगो लाग्नेछ र म सबै रुपमा तयार नै छु ।’

भट्टले विभिन्न भेटहरुमा आफूलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदै आएको पन्तले बताए । तर, दोस्रो कार्यकालका लागि चुनाव नलड्ने विषयमा भने पछिल्लो समय आफूसँग कुनै छलफल नभएको पन्तको दाबी छ।  

‘भवनजीले पहिलेदेखि नै भेटहरुमा म तपाईँलाई नै सघाउने हो । यसमा कुनैपनि द्धिविधामा नरहनु भनेर भन्दै आउनु भएको हो । त्यो बाहेक उहाँले मलाई अरु केही भन्नुभएको छैन’ पन्तले भने । 

उनले भट्ट बचनको पक्का भएको व्यक्ति भएको भन्दै अघिल्लो कार्यकालमा भएको सहमतिअनुसार आफूलाई सहयोग रहने विश्वास व्यक्त गरे ।   


दोस्रो कार्यकालका लागि चुनाव नलड्ने एनआरएन अध्यक्ष भवन भट्टको घोषणा


‘उहाँले सहयोग गर्नुहुन्न कि भनेर म कुनै द्धिविधामा छैन । भवनजी बचनमा पक्का हुनुहुन्छ। सोहीअनुसार उहाँले चुनाव नलड्ने घोषणा गरेको रुपमा मैले बुझेको छु ।’

पन्त अघिल्लो कार्यकालकै अध्यक्ष पदका दाबेदार रहेका थिए । तर भट्टसँग भएको सहमति अनुसार उनले पुनः उपाध्यक्षमा चित्त बुझाउँदै भट्टलाई अध्यक्षमा सघाएका थिए । त्यतिबेला भट्टले अर्को कार्यकालका लागि पन्तलाई सघाउने समझदारी भएको एनआरएनभित्र चर्चा छ । जुन कुरालाई पन्तले समेत स्वीकार गर्दै आएका छन् । 

भट्ट चुनावी दौडबाट बाहिरिएसँगै अब एनआरएनको अध्यक्षको दाबेदारको रुपमा पन्तसँगै अर्का उपाध्यक्ष कूल आचार्य पनि देखिएका छन् । भट्टसहित अन्य पूर्वअध्यक्षहरुको साथ र समर्थनको आधारमा नयाँ नेतृत्वको टुंगो लाग्ने छ । 

यता भट्टले कसलाई समर्थन गर्ने भन्नेबारे केही खुलाएका छैनन् । यद्यपि अबको नेतृत्वको संस्थालाई गति दिन सक्ने बलियो होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाई छ । 

भट्टले आफू एनआएनबाट रिटायर्ड भएको नभई चालक बस्ने सिटबाट पछाडि हटेको पनि टिप्पणी गरेका छन् ।  ‘म चुनाव मात्रै नलड्न लागेको हुँ, एनआएनबाट रिटायर्ड भएको होइन, बरु झन् सक्रिय भएर लाग्नेछु’ भट्टले भनेका छन्, ‘ म चालकको सिटबाट पछाडि सरेको मात्रै हो । बसबाट निस्केको छैन ।’ नेतृत्वमा नरहेपनि  एनआरएनसँग सम्बन्धित मामलामा आफू सँधै सँगै रहने भट्टको भनाई छ । 

उनले धेरै एनआरएनका शुभचिन्तकहरुले आफूलाई दोस्रो कार्यकालका लागि पनि तयारी गर्न सुझाव दिँदादिँदै पनि आफूले चुनाव नलड्ने निर्णय गरेको बताएका छन् । 

स्वतस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको भन्दै भट्टले  पावर  र लोभी संस्कारलाई सबैले चिर्नु जरुरी रहेको र आफूले त्यसको थालनी गरेको बताएका छन् । 

‘के अध्यक्षमात्रै टप लिडरसिप हो र ? यहाँ कैयन भवनहरुले अवसर पाउनु पर्छ । परिवार, लोभ, मोहबाट माथि उठ्न हामीले सिक्नुपर्छ’ भट्टले भनेका छन्, ‘मैले त्यो अन्त्य गरेको छु ।  धेरै साथीहरुले निरन्तरतामा जोड दिँदादिँदै मैले यो एउटा उदाहरण पेश गरेको छु ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप