शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो कार्यकालका लागि चुनाव नलड्ने एनआरएन अध्यक्ष भवन भट्टको घोषणा

बिहीबार, ०९ साउन २०७६, ०१ : ३५
बिहीबार, ०९ साउन २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा गरेका छन् । दुई वर्षे कार्यकाल सकिन साढे दुई महिना अघि बाँकी रहँदा भट्टले दोस्रो कार्यकालका लागि आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन् । 

गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत एक विशेष सम्बोधन गर्दै भट्टले अबको नयाँ नेतृत्व संस्थालाई गति दिनसक्ने बलियो होस् भन्ने आफ्नो चाहना रहेको बताए ।  

उनले आफू एनआएनबाट रिटायर्ड भएको नभई चालक बस्ने सिटबाट पछाडि मात्रै हटेको टिप्पणी गरे ।  ‘म चुनाव मात्रै नलड्न लागेको हुँ, एनआएनबाट रिटायर्ड भएको होइन, बरु झन् सक्रिय भएर लाग्नेछु’ भट्टले भने, ‘ म चालकको सिटबाट पछडि सरेको मात्रै हो । बसबाट निस्केको छैन ।’ नेतृत्वमा नरहेपनि  एनआरएनसँग सम्बन्धित मामलामा आफू सँधै सँगै रहने भट्टको भनाई छ । 

‘एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो । एनआएनए मेरो रगत रगतमा छ  जीवनपर्यन्त रहन्छ’ भट्टले भने ।  

धेरै एनआरएनका शुभचिन्तकहरुले आफूलाई दोस्रो कार्यकालका लागि पनि तयारी गर्न सुझाव दिँदादिँदै पनि आफूले चुनाव नलड्ने निर्णय गरेको भट्टले बताए ।  भट्टले भने, ‘मैले गरेको गरेको यो निर्णलाई साथीहरुले स्वीकार गर्नुहुन्छ भन्ने ठानेको छु ।’

एनआरएनमा रहँदा आफूले सबै पक्षको माया पाएको उल्लेख गर्दै उनले भने, ‘म भाग्यमानी छु । मैले एनआरएनमा कमाएको पनि यही माया हो । मेरो शुभेच्छुक र समर्थकको मायालाई म सम्मान गर्छु । अबको चुनाव लड्दिनँ ।’
आफूले स्वतस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको स्पष्ट पार्दै भट्टले  पावर  र लोभी संस्कारलाई सबैले चिर्नु जरुरी रहेको र आफूले त्यसको थालनी गरेको बताए । 
‘के अध्यक्षमात्रै टप लिडरसिप हो र ? यहाँ कैयन भवनहरुले अवसर पाउनु पर्छ । परिवार, लोभ, मोहबाट माथि उठ्न हामीले सिक्नुपर्छ ’ भट्टले भने, ‘मैले त्यो अन्त्य गरेको छु ।  धेरै साथीहरुले निरन्तरतामा जोड दिँदादिँदै मैले यो एउटा उदाहरण पेश गरेको छु।’

आगामी कार्यकालका लागि भट्टले चुनाव लड्ने या नलड्ने भन्नेबारे एनआरएनभित्र बहस भइरहेको बेला भट्टले यो घोषणा गरेका हुन् । 

 भट्ट पूर्वअध्यक्ष शेष घलेकी पत्नी जमुना घलेलाई अघिल्लो निर्वाचनमा हराउँदै अध्यक्ष बन्दा उपाध्यक्ष कुमार पन्तले बलियो समर्थन गरेका थिए ।  त्यतिबेला अर्को  कार्यकालमा पन्तलाई भट्टले सघाउने सहमति भएको स्वमय् पन्तले बताउँदै आएका छन् । भट्टले सोही सहमतिअनुसार पन्तलाई सघाउन अर्को कार्यकाल चुनाव नलड्ने घोषणा गरेका हुन् या होइनन् त्यसबारे केही खुलाएका छैनन् ।  

बरु भट्टले एनआरएनमा बलियो नेतृत्वको खाँचो रहेको बताएका छन्  । उनले एनआरएनलाई कसैले बिगार्न खोजे आफू चुप लागेर नबस्ने भट्टले चेतावनी दिएका छन् । 

यसैबीच भट्टले आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबै सञ्चारकर्मी, संघसंस्था, नेपाल सरकार, राजनीतिक दललगायतलाई धन्यवाद दिएका छन् । २००३ मा एनआरएनको सदस्य बनि संस्थामा लागेका भट्ट अघिल्लो कार्यकालबाट केन्द्रीय अध्यक्ष बन्न सफल बनेका थिए । 

उनले आफ्नो कार्यकालमा एनआरएन भवन निर्माण, शंकमूल पार्क निर्माण, एकीकृत लाप्राक बस्ती निर्माण सम्पन्न गरिएको स्मरण गर्दै एनआरएनकै सक्रियता र सहभागितामा नेपालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए । 

एनआरएनको नवौं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप