बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्कूल विभागमा रडाको : आखिर के छ त्यस्तो नेकपाको स्कूल विभागमा ?

बुधबार, ०८ साउन २०७६, १५ : ५७
बुधबार, ०८ साउन २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा रहने ३२ विभाग मध्ये स्कूल विभाग कसले लिने भन्नेमा चर्को विवाद देखिएको छ । अन्य विभागमा भागबन्डा मिले पनि यो विभाग तत्कालिन कुन पार्टीले लिने भन्नेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले समेत टुङ्गाउन सकेका छैनन् । सचिवालयका नेताद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले आ–आफ्ना दावी नछोडेपछि स्कूल विभागमा विवाद सिर्जना भएको हो ।

यो विभागमा कुरा मिल्न नसकेपछि नेकपाको मंगलबार बस्ने भनेको सचिवालय बैठक पनि बस्न सकेन ।

एकताका सबै काम टुङ्गाउने विषयमा सोमबार अध्यक्षद्वय ओली र प्रचण्डबीच लामो छलफल भएको थियो । उक्त भेटमा अध्यक्षद्वयबीचमै स्कूल विभागमा कुरा नमिलेपछि नेकपाको एकता प्रक्रिया फेरि अड्किएको छ । अध्यक्ष ओलीले स्कूल विभागको प्रमुखमा नेता पोखरेलको दाबी अनुसार उनलाई बनाउन चाहेका छन् । यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि आइतबार खुमलटारमा बसेको पूर्व माओवादीको बैठकको निर्णय अनुसार नेता श्रेष्ठलाई स्कूल विभाग प्रमुख बनाउन चाहेको स्रोतको दावी छ ।


‘पार्टीमा महत्त्वपूर्ण मानिने विभागहरु पूर्व एमालेको भागमा गएको छ । पूर्व माओवादीले एउटा स्कूल विभाग दावी गर्दा किन आपत्ति ? यो विभागको लागि सचिवालयमा पनि सिनियर र अहिले संसद सरकारमा पनि नरहनु भएका नेता नारायणकाजीको लागि त्यो विभाग उपयुक्त हुन्छ,’ उनले भने, ‘वामदेव कमरेड र नारायणकाजी कमरेडले त रोजेको विभाग पाउनु पर्ने हो । वामदेव कमरेडले रोजेकै विभाग पाउनु भयो । अब नारायणकाजी कमरेडलाई स्कूल विभाग दिँदा उपयुक्त हुन्छ ।’


तत्कालिन दुवै पार्टीबाट सचिवालयमा रहेका नेता एकले अर्कालाई स्कूल विभागको प्रमुखमा स्वीकार्न नसकेपछि यो विभागमा अन्य नेताले समेत दावी गर्न थालेका छन् । स्रोतका अनुसार वरिष्ठ नेता झलनाथ खनालपनि अन्तिम समयमा आएर यो विभागको नेतृत्व लिन इच्छुक देखिएका छन् । त्यस्तै स्थायी कमिटी सदस्य घनश्याम भूसालले यो विभागको जिम्मा आफूलाई दिन भन्दै शीर्ष नेतालाई भेटेर संकेत दिइसकेका छन् ।

पार्टीमा महत्त्वपूर्ण मानिने संगठन, आर्थिक र विदेश विभाग तत्कालिन एमालेको भागमा परेको भन्दै पूर्व माओवादीले स्कूल विभागमा दावी गरेको स्थायी कमिटीका एक नेताले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘पार्टीमा महत्त्वपूर्ण मानिने विभागहरु पूर्व एमालेको भागमा गएको छ । पूर्व माओवादीले एउटा स्कूल विभाग दावी गर्दा किन आपत्ति ? यो विभागको लागि सचिवालयमा पनि सिनियर र अहिले संसद सरकारमा पनि नरहनु भएका नेता नारायणकाजीको लागि त्यो विभाग उपयुक्त हुन्छ,’ उनले भने, ‘वामदेव कमरेड र नारायणकाजी कमरेडले त रोजेको विभाग पाउनु पर्ने हो । वामदेव कमरेडले रोजेकै विभाग पाउनु भयो । अब नरायाणकाजी कमरेडलाई स्कूल विभाग दिँदा उपयुक्त हुन्छ ।’

देशव्यापी रुपमा कार्यकर्ताहरुसँग जोडिदै वैचारिक विषयमा प्रशिक्षण चलाउने जिम्मेवारी यो विभागलाई भएको हुँदा आफ्नो प्रभाव छोड्न पनि नेताहरु यो विभागको नेतृत्व लिन प्रतिस्पर्धानै हुने गर्छ ।

नेकपाको राजनीतिक प्रतिवेदनमा तत्कालका लागि ‘जनताको जनवाद’ नयाँ कार्यनीति तय गरिएको छ । तर, यसमा असन्तुष्टि जनाउँदै नेता पोखरेलले अबको कार्यनीति जनताको जनवाद नभएर तत्कालिन एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ नै हुनुपर्ने अभिव्यक्ति दिएका थिए । नेता पोखरेलको अभिव्यक्ति प्रति तत्कालिन माओवादीका नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यसअर्थमा पनि वैचारिक बहसको लागि महत्त्वपूर्ण मानिने स्कूल विभागको जिम्मा नेता पोखरेललाई दिन नहुने पक्षमा तत्कालिन माओवादी समूह छ ।

यस्तै, स्रोतका अनुसार नेकपाको अन्तरिम राजनीतिक प्रतिवेदन लेखनमा महत्त्वपूर्ण भूमिका खेलेका नेता श्रेष्ठलाई स्कूल विभागको जिम्मेवारी दिन उपयुक्त हुनेपक्षमा सचिवालयका बहुमत सदस्य छन् । बिहीबार बस्ने नेकपाको सचिवालय बैठकमा नेताहरुले आफ्ना धारणा राख्ने भएका छन् ।

अन्य महत्त्वपूर्ण विभागमा भागबन्डा मिल्न सकेको नेकपामा स्कूल विभागमा आएर किन विवाद भयो ? र, त्यो विभागले के काम गर्छ त ? नेकपाको नियमावली २०७५ मा यो विभागको काम, कर्तव्य र भूमिका उल्लेख छ । हेरौँ के छ नियमावलीमा :

चर्को विवाद भएको स्कूल विभागको काम के ?

पार्टी नियमावली २०७५ मा ३२ विभागकै जिम्मेवारी तोकिएको छ । नियमावलीमा स्कूल विभागका जिम्मेवारीलाई आठ बुँदामा उल्लेख गरिएको छ ।

नियमावलीमा भनिएको छ, ‘पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरुप आफ्नो तहमा नियमित वा आवधिक  पार्टी स्कूल सञ्चालन गर्ने  र त्यसका निम्ति कार्ययोजना तयार गरी आफ्नो तहको पार्टी कमिटी समक्ष प्रस्तुत गर्ने ।’

यस्तै यो विभागले पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वय गर्ने नियमावलीमा उल्लेख छ । त्यहाँ थप बुँदामा भनिएको छ, ‘पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्ने । पार्टी स्कुलका  पाठ्यक्रम तयार  गर्ने, तदनुसार  पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने  ।’

यस्तै यो विभागले प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा  प्रमाणपत्र दिने र सोको अभिलेख पनि राख्नेछ । त्यसबाहेक स्वदेश तथा विदेशका पार्टी स्कुलहरूसँग अनुभव  आदान–प्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरूलाई  विशेष प्रशिक्षणको व्यवस्था गर्नुपर्ने छ । त्यसबाहेक सम्बन्धित कमिटीले तोकेका अन्य काम पनि गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप