शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउत र मन्त्री साहको अपशब्द सामाजिक सञ्जालमा भाइरल भएपछि...

बुधबार, ०८ साउन २०७६, १५ : ३४
बुधबार, ०८ साउन २०७६

जनकपुर– प्रदेश नम्बर २ मा अहिले मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहको चर्तिकलाको निकै आलोचना भइरहेको छ । अपशब्द प्रयोग गर्दै गाली गलौजमा उत्रेको भिडियो समाजिक सञ्जालमा भाईरल भएपछि मुख्यमन्त्री राउत र मन्त्री साहको राजिनामा समेत माग्न थालिएको छ ।

सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेश सभा सदस्य मनिष सुमनले अस्लील गाली शब्दावली उच्चारण गर्ने मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले राजीनामा दिनुपर्ने माग गरेका छन् । 

सामाजिक सञ्जालमा अस्लिल शब्दावली प्रयोग गरिएको भिडियो राख्दै महासचिव सुमनले मधेसको जनतासँग दुवै जनाले माफी मागेर राजीनामा दिनुपर्ने बताए । महासचिव सुमनले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई जानकारी गराइने बताउँदै उनले यस घटनालाई लिएर मुख्यमन्त्री र मन्त्रीहरुलाई सचेत गराउनुपर्ने आवश्यकता रहेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले यसैसाता एक सञ्चारमाध्याममा अन्तर्वाता दिने क्रममा अपशब्द प्रयोग गरेका थिए । ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रममा प्रदेश सरकारले छात्राका लागि साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा मुख्यमन्त्री राउतले निकै आक्रोशित भएर अभद्र तरिकाले अपशब्द बोल्न समेत भ्याए ।

उनले एक सञ्चारकर्मीलाई हप्काउँदै भनेका थिए– ‘तपाई बढी फट्याई कुरा नगर्नुस,’ राउतले भने, ’कसैको...मा दम छ भने प्रमाणित गरेर देखाओस् ।’ उनले सञ्चारकर्मीलाई झपार्दै सम्पूर्ण पत्रकारको दक्षता र योग्यतामाथि नै प्रश्न खडा गरे । सो अन्तरवार्ता सामाजिक सञ्जालमा भाइरल भएपछि मुख्यमन्त्रीको पदमा बसेका व्यक्तिबाट प्रयोग भएको भाषाको विषयमा निकै आलोचना समेत भएको छ । त्यस्तै, मुख्यमन्त्रीको विषय सेलाउन नपाउँदै प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सञ्चारकर्मीलाई इंगित गर्दै गालिगलौज गरेको भिडियो भाइरल भएको छ ।

मन्त्री साहले आफ्नो मन्त्रालयमा भ्रष्टाचार भएको प्रमाणित गरे पदबाट राजीनामा दिने भन्दै सञ्चारकर्मीलाई निकै फोहोर शब्द प्रयोग गरी गाली गरे । उनले आफ्नो मन्त्रालयबाट बजेट रकमान्तर गर्दा अर्थमन्त्रीलाई समेत पैसा दिएको भिडियोमा बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप