बाढी पहिरो रोक्ने उपाय : वर्षाको पानीको व्यवस्थापन
अहिले हामी वर्षामा बढी केन्द्रीत हुन्छौं । बाढीले सताउँछ, हामी हल्लाखल्ला गर्छौं । दोषारोपणको खेती चल्छ, योजनाहरुको तानाबाना बुनिन्छन्, उपाय र अर्तीहरुको ‘भर्चुअल’ बाढी नै आइलाग्छ । तर वर्षा र साँच्चिकै बाढी रोकिएपछि चाहिँ सकियो, सबै कुराहरु हामी भुल्छौं । हिउँद लागेपछि खडेरीको चर्चा परिचर्चा पनि बेजोडले चल्छ । तर पानी भएन, खडेरी लाग्यो भनेर चैत्र वैशाखसम्म मात्रै हामी धेरै चर्चा परिचर्चा गर्छौं । वर्षा लाग्छ, अनि खडेरीका कुरा पनि पटाक्षेप हुन्छ ।
यस्तो हुन थालेको धेरै वर्ष भइसक्यो ।
बुझनै पर्ने कुरा के हो भने हिउँदमा खडेरी पर्नुको सम्बन्ध वर्षाको पानीको व्यवस्थापनसँग अभिन्न रुपमा जोडिएको हुन्छ । हिउँदमा हामीले उपभोग गर्ने पानी भनेकै वर्षाको मौसममा जमिनभित्र सञ्चित भएको पानी हो ।
त्यसैले बुद्धिमत्ताको कुरा भनेको हिउँदका लागि वर्षाको पानीको संग्रह वा व्यवस्थापन नै हो । बुद्धिमत्तापूर्ण ढंगले गरिने वर्षाको पानीको व्यवस्थापनले बाढी पहिरोलाई मात्रै न्यून गर्दैन, हिउँदको खडेरीलाई पनि घटाइदिन्छ । त्यसैले तत्कालै र तुरुन्तै गर्नुपर्ने काम भनेकै वर्षाको बढी पानीले ल्याउने बाढी रोक्न र हिउँदको खडेरीलाई मेट्न प्रकृतिमा पानी हाल्ने काम शुरु गर्नु हो, ती दुई चीजबाट बच्ने सर्वोत्तमउपाय नै पनि त्यही नै हो ।तपाईंले प्रकृतिमा पानी हाल्ने कामको शुरुवात गर्नुभयो भने वर्षामा आउने भलमा कमी आइहाल्छ ।
तर गर्ने कसरी ?
उपाय पनि सरल छ । जमीनभित्र प्राकृतिक रुपमा पानी जान सक्ने टालिएका ठाउँहरुलाई खोल्ने, जमिनभित्र पानी जान सक्ने खालको बनाइदिने ।
उदाहरणको लागि, सडकको किनारमानाली बनाइएका छन् । सडकका पीच ढलानले पानी जमिनमा छिर्न दिँदैन, त्यहाँ बग्ने पानी नालीकोबाटोे हुँदै मूलतः ढलमा मिसाइन्छ । वर्षात् मौसममा घरको छत, सडक, खुला जमीनबाट बग्ने पानीहरु तिनै नालीको बाटो भई ढलमा जान्छ, जुन ढलमार्फत् सोझै खोलामा पुग्ने गर्छ । यसले वर्षात्को पानी जमिनभित्र सोसिन पाउँदैन । खोलामा चाहिँ पानीको ‘भोल्युम’ बढ्छ, जसको परिणति बाढीको वेग र तोड बढ्न जान्छ ।
वर्षात्का पानीलाई खोलामा सोझै मिसिन नदिने अर्को उपाय भनेको पोखरीहरु खन्ने र वर्षात्को पानीलाई तिनमा जम्मा गर्ने पनि हो । यो असम्भव र अनौठो उपाय होइन । यो भनेको विगतमा हाम्रा पुर्खाहरुले मनग्गे अभ्यास नै गरिसकेका कुरा हुन् ।
त्यसैले वर्षाका पानी नालीहरु हुँदै त्यसरी सोझै ढलमार्फत् नदीमा जाने गरी बनाइनु हुन्न ।
बढ्दो जनसंख्या र अन्धधुन्ध शहरी विकासका कारण वर्षाका पानी जमिनमा रसाएर जाने प्राकृतिक प्रक्रियाहरु बिथोलिएर एकादेशको कथा बनिसकेको छ । यस्तो स्थितिमा हामीले गर्नैपर्ने उपायहरु भनेको वर्षाको पानीलाई कसरी खोलानदीमा सकेसम्म जान कम गर्ने हो, त्यसलाई पूरै रोक्न नसकेपनित्यो बगेर खोलासम्म ह्वारह्वारर्ती जाने गतिलाई सुस्त बनाइदिने हो र यथासक्य त्यो पानीलाई जमिनभित्र नै पठाइदिने नै हो ।
वर्षे झरीको स्वरुपमा परिवर्तन आइसकेको छ । पहिले पहिले जस्तो कैयन दिन झरी पर्नेकरिब करिब छाडिसके । साउने झरीजस्ता कुराहरु अब गीत संगीत र लेखनमा पो खुम्चिनेको हो कि भन्ने स्थिति आउन बेर छैन । आजभोलि आकासबाट पर्ने ठूलो पानी धेरैसमय पनि आउदैन । आउँदा एकैचोटी ह्वारर आउने पानी भनेको १५, २० मिनेटमात्रै आउछ, त्यसले पानीको भल नै बगाइदिन्छ । हामीले सोच्नुपर्ने र गर्नुपर्ने भनेकै मूलतः त्यो भलको रुपमा बगेर खेर खाने वर्षाको पानीको उचित व्यवस्थापन हो । त्यसका लागि त्यो भललाई खोलामा पुग्नुभन्दा अगाडि जमिनमा अड्याउने हिसावले संरचना बनाउनुपर्छ । आधा घण्टा मात्रै जमिनमा त्यो पानीलाई अड्याउन सकियो भने त्योमध्ये धेरैजसो पानी जमिनभित्र सोसिन सक्छ ।
त्यसका लागि ठाउँठाउँमा जमिनभित्र पानी छिर्ने मंगालहरु बनाउन सकिन्छ । जस्तो, सडकका दुवै किनारतिर नालीको हरेक दश बीस फिटमा ठाउँ हेरी गहिरो मंगालहरु बनाएर ढुङगा भर्न सकिन्छ, जहाँबाट पानी जमिनभित्र छिर्ने प्रक्रिया सहज रुपमा चल्न सक्छ ।
यस सन्दर्भमा बुझ्नु पर्ने कुरा के हो भने जमिनमुनि पानी जाने प्रकृया साह्रै सुस्त हुन्छ । त्यसको विधान नै फरक हुन्छ ।थिचेर वा पम्प गरेर पानी छिटो तल जाँदैन । बगेको पानी जमिनबाट विस्तार रसाउँदै भित्र जाने हो । त्यो प्रक्रिया पनि जमिनको प्रकृतिअनुसार फरक फरक हुने गर्छ । जमिनको संरचना माटो, बालुवा, गिटी, ढुंगा कस्तो किसिमको छ, त्यही अनुसार ढिलो चाँडो रसाउने गर्छ ।
वर्षात्का पानीलाई खोलामा सोझै मिसिन नदिने अर्को उपाय भनेको पोखरीहरु खन्ने र वर्षात्को पानीलाई तिनमा जम्मा गर्ने पनि हो । यो असम्भव र अनौठो उपाय होइन । यो भनेको विगतमा हाम्रा पुर्खाहरुले मनग्गे अभ्यास नै गरिसकेका कुरा हुन् ।
फर्केर हेर्ने हो भने काठमाडौं उपत्यकामा मात्रै होइन हाम्रा पुर्खाहरुले पहाडका प्रायः सवै ठाउँमा पोखरीहरु बनाएका थिए । भन्ने नै हो भने पहिले पहिले पोखरी नभएको कुनै गाउँ नै थिएन । तर आधुनिक विकासको अन्धदौडमा कुद्दा हामीले गाउँघर, शहरबजारतिर पोखरी बनाइनुको मूल मर्मलाई ठम्याउन सकेनौं,त्यसलाई भैंसीको आहाल मात्र हो भनेर बुझ्यौ । भैंसी बसेपछि फोहोर हुने भएकाले कुनै ठाउमा सुँगुुर पनि पस्ला वा हाँस पनि नाच्ला । पानी धेरै छ भने भाडा माझ्ने वा लुगा धुने पनि गरिएला । यो पानी भैसकेपछि त्यसका विभिन्न प्रयोगका कुरा भए । तर सुरुमा त्यो पोखरी भैंसीलाई आहाल होस् भनेर त पक्कै बनाएको होइन ।
पोखरीको अन्तर्य खोजतलास गर्ने क्रममा पुर्खाहरुको ज्ञानमा गए म । उनीहरुकोसोच वा विज्ञता के रहेछ भनेर जान्ने बुझ्ने कोशिश गरें । उपत्यकामा ढुङ्गेधारामा बनेको पानीविज्ञान आजपनि एउटा अनौठो लाग्छ–त्यो कसरी भयो होला भनेर । तर त्यो बेलाका मान्छेले बुझेका थिए । त्यतिबेलाका मान्छेले के बुझेभने वर्खामा पानी दुईचार महिनामात्रै आउँछ । त्यसपछि हिउँद लाग्छ र पानीको अभाव हुन्छ । हिउँदमा प्रयोग गर्न, भाडा माझ्नदेखि बस्तुलाई खुवाउनसम्म वर्षाको पानीलाई संग्रहित गरेर राख्न पाइयो भने अलिकति भएपनि सजिलो हुन्छ भन्ने सोचेर उनीहरुले पोखरी बनाए । त्यसरी पोखरीको उत्पत्ति भयो ।
पोखरीको उत्पति हेर्ने क्रममा इतिहास खोतल्ने हो भने त्यो ऋषिमुनिहरुसम्म जोडिन पुग्छ । पौराणिक कालमा उनीहरुले आशिर्वाद वा ज्ञान दिने गर्थे । त्यतिवेलाका अगुवा वा राजाहरुलाई ऋषिमुनिले आदेश दिन्थे ‘तिमीले योयो वा त्यो काम गर्नु ।’ एक ठाउँमा के भनिएको छ भने, ‘किसानको लागि पहाड वा आकासबाट आएको पानी जलासय बनाएर राख्यौ भने त्यो कल्याणकारी काम हुन्छ । त्यसले गुन लाग्छ ।’ ऋषिले भनेपछि करिब करिब त्यो अकाट्य, महाराज वा अगुवाले मान्ने गर्थे । इतिहासकारहरुका अनुसार इसापूर्व कालमै नेपालमा पोखरीको विकास भएको थियो ।
जल व्यवस्थापनसँगै जोडिएको पोखरीको अवधारणा
हामीले अहिले ऋषिहरु भनेर पौराणिक कालका कुरा ठानिए पनि त्यतिवेला ऋषिहरु विद्वत एवं ज्ञानी वर्गमा पर्दथे । उनीहरु अहिलेका बैज्ञानिकहरुले जस्तै सोचविचार, चिन्तन र आविष्कारहरु गर्थे । त्यहीक्रममा नै सम्भवतः पोखरीहरुको माध्यमबाट जलव्यवस्थापन गर्न सकिन्छ भन्ने उपाय सुझाएका थिए । उनीहरुले ठम्याएका थिएः हिउदका लागि पानी बचाउन पोखरी खन्ने र त्यसमा वर्षाको पानी जम्मा गर्ने । त्यसरी वर्षाको पानी पोखरीमा हलिसकेपछि स्वभावतः त्यो रसाइरहन्छ । त्यसले गर्दा जमिनभित्रको पानीको भण्डार रिचार्ज भइरहने भयो । सम्भवतः त्यसरी नै विगतमा पोखरीहरु बनाउने चलन स्थापित भयो ।
नेपालका पहाडी क्षेत्रहरु घुम्नुभयो भने अधिकांश स्थानहरुमा अझैपनि पोखरी छन् वा त्यहाँ पहिले पहिले पोखरी विद्यमान रहेको प्रमाणहरु फेला पर्छन् । हो, त्यस्ता पोखरीहरु ती स्थानहरुका जमीनका प्रकृति अनुसार कतै ठूला, कतै साना थिए । पोखरीको विज्ञानलाई पहाडभरि नै अनि उपत्यकाहरुमा पनि अपनाइएको थियो । अझ काठमाडौं उपत्यकामा टन्नै पोखरीहरु थिए । ती पोखरीहरुमा वर्षाका पानी संकलन गर्ने मात्र हैन, हिउँदमा पानीको आपूर्तिलाई निरन्तरता दिन पानी ल्याउने राजकुलो पनि थियो । खोलाबाट कुलो मार्फत पानी ल्याएर पोखरीमा हालिन्थ्यो ।
पानी व्यवस्थापनको त्यो पौराणिक उत्तम विधिलाई विकासका आधुनिक रुपले मास्ने काम गर्यो । गर्नुपर्ने चाहिँ पुराना प्रविधि र उपायहरुलाई जोगाउँदै नयाँलाई अपनाउनुपर्ने थियो तर ठ्याम्मै त्यसमा ध्यान दिइएन ।
आधुनिकताले मास्दै गएका पोखरी
काठमाडौंकै उदाहरणबाट शुरु गरौं । काठमाडौंमा सम्भवतः २०२० सालतिरसुन्दरीजलको पानी शहरमा ल्याएको हो । यो भन्दा पहिला ठुलठुला राणाजीहरुका घरमा पानी जान्थ्यो । वीरधाराहरु थिए । अहिले पनि ठाउठाउमा सामुदायीक धाराहरु देख्न सकिन्छ । योबाहेक घरघरमा धारा लाने काम ०१८, ०२० सालमा भयो । नत्र सामुदायिक वा ढुगे धारमै गएर काम चलाउनुपथ्र्यो । घरमा धाराको पानी भित्रिएपछि पानीको आवश्यकतापूर्ति त्यसले गरिदिने भयो, फलतः अब कुलो वा पोखरी चाहिएन, बेकारको भयो ।
भूमिगत जल सञ्चितिमा ठूलो भूमिका खेल्ने, मानिसका दैनिक जीवनकै लागि पनि पानीको आपूर्ति गरिदिने त्यस्ता पोखरीहरु सार्वजनिक ठाउँहरुमा थिए । सार्वजनिक ठाउँमा भएको र घर घरमा भित्रिएको धाराको पानीको कारण काम नलाग्ने भएपछि मानिसहरुले पोखरीलाई वेवास्ता गर्न थाले ।
बेकार भैसकेपछि पोखरीमा वर्षाका पानी जम्मा गर्ने कुरा मानिसको प्राथमिकतामा पर्न छाडे । फलतः फोहर जम्मा हुन थाले र पोखरीहरु सुक्न थाले पछि पोखरीले चर्चेका सार्वजनिक जमीनहरु व्यक्ति, समुदाय वा सरकार आफैंले पनि हडप्ने र अन्य प्रयोजनको लागि प्रयोग गर्ने क्रम शुरु भयो । सामान्यतः पोखरीले ओगटेको जग्गा समथर हुने भएकाले पहाडतिर पोखरीको जग्गामा स्कुल, गाउँपञ्चायत, नगरपालिका, , सरकारी अड्डा अदालत, बसपार्क र पछिल्लो समय आमा समुह जस्ता सामुदायिक भवनहरु पनि बने । काठमाडौमा पनि अधिकांश पोखरीहरु त्यसरी नै नासिए, कतिपय पोखरीहरु चाहिँ बक्सिसको नाममा सत्ता र शक्तिको आडमा निजी बने ।
भुल्नै नहुने कुरा के थियो भने पोखरी बनाउने मानिसहरु बुद्धि नभएका थिएनन् र उनीहरुले वेफ्वाँकमा लहडले, रहरबाजीले मात्रै ती पोखरीहरु बनाएका थिएनन् । तर हामीले त्यो कुरा बुझ्नै सकेनौं, बुझेका जतिले पनि विस्तारै बिर्सियौं । बाउबाजेले त्यसरी पोखरी खन्दा निक्कै पसिना बगाएका थिए ।
शहरीकरण बढेसँगै जलबायुको समस्या विश्वव्यापी बन्दै गएको छ । एक दुइजनाले मात्रै नियन्त्रणको प्रयास गरेर समस्या समाधान गर्न सम्भव छैन । जलवायु परिवर्तनमा जोडिएको एउटा प्रमुख विषय हो कार्वन । जसलाई ग्रिन हाउस ग्याँस भनिन्छ । त्यसको प्रभावले सिर्जित जलवायु परिवर्तनले गर्ने भनेकै आँधी, हुरी, तुफान बतासहरुको अनियमित चक्र र मनसुनमा आउने गडवडी हो । यसले गर्दा समस्या विश्वव्यापी नै हो र त्यसले सिर्जना गरेका समस्याहरुाई सामना गर्नको लागि व्यवस्थित तयारी गर्नुबाहेक तत्कालको लागि अरु कुनै उपाय नै छैन ।
फेरि विज्ञान र प्रविधिको अहिले जस्तो विकास र सहज प्राप्यता नरहेको त्यो जमानामा पसिना बगाउन अहिले जस्तो सजिलो पनि थिएन। अहिलेको जस्तो स्काभेटर, डोजर लगायत आधुनिक औजार, यन्त्रहरु नै नरहेको त्यो बेला, प्रचण्ड घाममा कोदालो बोकेर माटो खनेर पितापुर्खाहरुले त्यसै पोखरी बनाएका थिएनन् । मकै खाएको भरमा कठिन परिश्रम गरी रगत पसिना सुकाएर पुर्खाहरुले किन त्यसरी पोखरी बनाए भनेर हामीले कहिल्यै विश्लेषण नै गरेनौं, गर्ने आवश्यकता नै ठानेनौं । पुरानो कुरा भन्ने वित्तिकै ह््या गर्ने र त्यस पछाडिका बैज्ञानिक कारणहरु नखोज्ने हाम्रो समाजको संस्कारको बलिवेदीमा, अनि सामुहिक हितका स्रोत साधनहरुलाई व्यक्तिगत हितमा प्रयोग गर्ने स्वार्थी, व्यक्तिकेन्द्रीत आचरणका कारण सार्वजनिक हितका लागि खनिएका पोखरीहरुलाई आहुति दिइयो, दिइँदैछ ।
पानी नेपालीको संस्कार, संस्कृतिमा पनि छ्याप्पै भिजेको कुरा हो । मुलुकमा विभिन्न जातजाति, धर्म संस्कारहरु छन् तिनले पानीमा दिसापिसाब गर्न नहुने नत्र नाग लाग्ने, मन्दिरमा जाँदा पवित्र हुनका लागि जलले आचमन गर्ने, अशुद्धलाई शुद्ध पार्न कुशपानी वा सुनपानी छर्कने, मृत्युको मुखमा पुगेका लागि ‘गंगाजल’ खुवाउने जस्ता कुराहरुमा प्रकट रुपमा धार्मिक अन्धता र रुढताहरु रहे तापनि त्यसको अन्तर्यमा कतै न कतै पानीको महत्वलाई बुझेको, त्यसलाई पवित्र मानिएको र ती आस्था विश्वास र मान्यताले मानिसहरुमा पानीको महत्त्व र संरक्षणबोध गराएको थियो कि भन्ने अनुमान गर्न सकिन्छ ।
गल्ती सच्चाउने अल्पकालीन र दीर्घकालीन उपायहरु
कुरा काठमाडौं उपत्यकाबाटै शुरु गरौं । हामीले काठमाडौंका नदीनालाहरुलाई साँघुर्याएर, खुम्च्याएर दुइतिर पर्खालको ज्याकेट हालिदिएका छौं । । त्यसले पटक पटक बाढीको संकट ल्याएको छ, तर हामीले अझै चेतेका छैनौं ।
उदाहरणका लागि, पोहोर हनुमन्तेले त्यत्रो नोक्सान भयो । अहिले फेरि त्यहीँपर्खाल हालेर छेक्ने गलत काम भएको छ । त्यसरी हालिएको वालले २,४ वा १० बर्षे पानी त छेक्ला, तर २० बर्षे वर्षा आयो भने छेक्दैन । त्यतिवेला त्यो पर्खालले पानी छेक्दा जोगाउने हैन कि उल्टै झन ठूलो क्षति हुन्छ । पानीको चरित्रमा हरेक १०,२० मा आउने फरक र जलवायुले ल्याएको परिवर्तनले तत्काल र दीर्घकालमा पार्न सक्ने प्रभावहरुको
आँकलन र त्यहीअनुसार संरचनाहरुको निर्माणमा ख्याल गर्ने काम पटक्कै गरिएको छैन ।
त्यसैले, तत्काल क्षति घटाउनलाई पानी कही छेकिएको छ भने त्यसको मार्ग खेल्नुपर्यो । किनभने आज नआए भोलि वा भोलि नआए मुसलधारे पर्सी आउन सक्छ भन्ने बिर्सन भएन, त्यो अवस्थालाइ समेत ख्यालमा राखेर पानीको मार्ग छेक्नुभएन ।
अर्को गर्नैपर्ने कुरा भनेको आफ्नै घरको पानीको व्यवस्थापन । अधिकांश घरहरुको कुरा गर्ने हो भने करिब हजार स्क्वायर फिटको घरको छतबाट पानी झरेको पानी, ढुङगाले छापेको वा ढलान गरेको आँगनका कारण जमीनमा सोसिन पाउँदैन, पानी सिधै ढलमा जान्छ ।
त्यो पानी ढलमा नहाली जमीनमा पठाउने प्रक्रियाको थालनी तुरुन्तै र सजिलै गर्न सकिन्छ । त्यसका लागि घरमा एउटा कार राख्ने जत्रो ठाउँमा ढलान गर्नुको साटो पानी जाने मंगाल बनाएर जमीनभित्र पानी पठाउन सकिन्छ । त्यसका लागि । १०, १५ फिट गहिरो खाल्डो खनेर ढुङगाले भर्ने अनि वर्षाको पानी त्यहाँ पठाउने व्यवस्था गर्न सकिन्छ । त्यसभागमाथि गाडी राख्न वा अन्य कुनै खेतीपातीहरु सजिलै गर्न सकिन्छ । एकछिनको लागि विचार गरौं, काठमाडौं उपत्यकाका हरेक घरले एकएक गाग्रो पानी मात्रै जमिनमा हलिदियो भने लाखौ लिटर पानी जमिनभित्र जान्छ । अझ मंगाल नै बनाएर जमिनभित्र पानी पठाउने उपाय अपनाउन सकियो भने त कति पानी जमिनभित्र पठाउन सकिन्छ कल्पना गरौं ।
सडकमा बग्ने भललाई पनि व्यवस्थापन गर्नु जरुरी छ । उदाहरणको लागि, पुल्चोकमा पानी पर्दा त्यहाँको पानीको भल सडकबाट बग्दै कुपण्डोलमा पुगेर बागमतीमा मिसिन्छ । वर्षामा त्यो पानीको वेग यति कडा हुन्छ, त्यसले सडकमा मोटरसाइकल नै लडाउदै हिँड्छ । वागमतिमा पुगेपछि त्यसले झन् विनास गर्ने गर्छ ।
तर त्यही पानीलाई हामीले माथि लेखको शुरुतिर उल्लेख गरेजस्तै ठाउँ ठाउँमा मंगालहरु बनाएर जमीनभित्र पठाउने हो भने २० प्रतिशतमात्रै भएपनि कम गर्न सकिन्थ्यो ।
अब प्रश्न उठ्न सक्छ : सडकमा १०–१० फिटमा मंगल बनाएर पानी छिराउने कुरा कति सम्भव होला, त्यो कत्तिको खर्चिलो होला?
चाहने हो भने त्यो तत्कालै गर्न सम्भव छ र त्यसका लागि खर्च पनि धेरै हँुदैन । त्यसका लागि गर्ने भनेको नै सडकको दुवैतिर निश्चित दुरीमा खाल्डो खन्ने, ढुङगा हाल्ने र माथिबाट पुर्ने हो । पुर्दाखेरि पानी छिर्नेगरी गिटीसिटीले पुर्नुपर्छ । त्यसो गरेपछि वर्षाको पानी त्यहाँबाट रसाएर जमीनमा छिर्न सजिलो हुन्छ । यसो गरिएमा सडक र छेउछाउका नालीबाट वग्ने वर्षाको पानी जमिनमा पस्छ, त्यो खोलामा कम मात्रै पुग्छ । त्यसरी पानी खोलामा कम पुग्ने वित्तिकै बाढी पनि कम हुन्छ ।
वर्षाको पानी व्यवस्थापनः जिम्मा कसले लिने ?
सरकारको कुरा गर्दा भन्नैपर्ने हुन्छ बर्षाको पानीको व्यवस्थापन गर्ने जिम्मेवार मन्त्रालय वा आधिकारिक निकाय नै छैन । देशभरमा पानीको मुल सुक्न थालेको १०,१५ वर्ष बढी भैसक्यो । मैले थाहा पाएकै त्यति भयो । मुल सुकेको विषय कुन मन्त्रालयको सरोकारको विषय हो ? अध्ययन नै छैन । त्यति गम्भीर कुरा कसैको क्षेत्राधिकारमा पनि पर्दैन ।
मुल सुक्नु समस्या हो । त्यो पनि प्राकृतिक विपदकै एउटा रुप हो । मुल सुकेर ठाउँ ठाउँका बस्ती उजाडिएका छन् । यो कुरामा सरकारको ध्यान कहिले जाने हो ?
मूलतः वर्षाको पानीलाई व्यवस्थापन गर्ने र मुल सुक्ने, बाढीपहिरोले क्षति गर्ने लगायतका समस्याहरलाई हल गर्नको लागि सरकारले विहंगम दृष्टिकोण राखेर नीति बनाउनु जरुरी भइसकेको छ । त्यसका लागि छुट्टै मन्त्रालय बनाइबस्नु नै पर्दैन ।
बरु सरकारले एउटा यस्तो अधिकार सम्पन्न निकायको गठन गर्नुपर्यो, जसले यस मुद्दासँग सरोकार राख्ने मन्त्रालयहरु, जस्तै, जलस्रोत, खानेपानी, वन तथा वातावरण, विज्ञानप्रविधि कृषि तथा पशुपंक्षि लगायतका निकायहरुसँग प्रत्यक्ष सहकार्य गरेर एउटा साझा नीति, ढाँचा र प्रक्रिया निर्धारण गर्न सकोस् र तद्जन्य समस्याहरुलाई सम्बोधन गर्ने दिशामा प्रभावकारी पाइला चाल्न सकोस् । एउटा साझा र प्रभावकारी नीति बनाएर बाढी, पहिरो, भल र मूल सुक्ने जस्तासमस्याहरुलाई हल गर्ने दिशामा त्यसरी संगठित ढंगले अघि बढ्न सके समस्याको दीर्घकालीन समस्या गर्न सम्भव हुन्छ ।
यथास्थितिमा अघि बढ्ने हो भने २०९८ सालमा आइपुग्दा पनि समस्या यस्तै हुने हो । बरु झनै भयावह चाहिँ बन्दै जान सक्छ । यस्तै रहिरह्यो भने यहि कुरा गर्ने हो । त्यसैले वर्षाको पानीको व्यवस्थापन कसरी गर्ने, जसले बाढी, पहिरो, भल र सुख्खाका समस्याहरुलाई सम्बोधन गर्न सक्छ भन्ने कुुरा नीतिमा नै आउनुपर्यो ।
वर्षाको पानीलाई घरघरमा सञ्चय कसरी गर्ने ? बाटाघाटाहरु बनाउँदा पानीका प्राकृतिक बाटाहरुलाई नखज्मजाइकन वा त्यसको असरलाई न्यून गर्ने गरी कसरी बनाउने ?बाटाघाटाहरु कहाँ र कसरी बनाउने ? शहरबजारतिर नै बाटाघाटा, भौतिक संरचनाहरु बनाउँदा पानीलाई बढीभन्दा बढी जमिनमा सोसिन दिनका लागि के कस्ता प्रविधि र उपायहरु अपनाउने लगायत यावत पक्षहरुमा सुक्ष्म चिन्तन, अध्ययन, अनुसन्धानको थालनी गरिनुपर्छ ।
आधुनिक विकास निर्माणका कार्यहरुले भूस्वरुपमा परिवर्तन ल्याइदिएको छ, प्राकृतिक संरचनाहरु खज्मज्याइदिएको छ । केही समयअघि खोटाङका एक जना साथीले मलाई भने, ‘हिजो टन्न पानी पलाउने ठाउमा आज जंगल छ तर पानी छैन ।’ पाँचखालमा पनि त्यस्तै छ ।
त्यसको कारण के त ?
त्यो हुनुको मूल कारण होः जमिनको भुस्वरुप परिवर्तन हुनु । प्राकृतिक रुपमा बग्ने पानीलाई अन्तै लानु । जंगल त पानी भएपछि बढ्ने हो र जंगलमा पानीभित्र जानु भनेको सानो पक्ष मात्रै हो । मुख्य कुरा पानीको आफ्नो प्राकृतिक प्रकृया अनुसार चल्न पाउनुपर्छ, जुन कुरा नै आज भंग हुँदै गइरहेको छ । त्यही कारण नै हिजो जहाँ मुल र कुवा थिए, आज छैन ।
अहिले हामी पानीको मुलको सन्दर्भमा कुरा गरिरहेका छौ । दिनभरिमा ५ गाग्री पानी आउने मुल अथवा ५० गाग्री पानी आउने मुल पनि होलान् । मूलतः प्राकृतिक स्रोतको कुरो ठुलो हो । त्यो ५ गाग्री पानी आउन पनि कहीँ कतै केही मिलेर न आउने हो । त्यसकारण यस विषयमा अन्तरमन्त्रालयको एउटै नीति हुनुपर्छ । काम कसले के गर्ने भनेर जिम्मा लगाउनुपर्छ । हुन त अहिले पहाडमा जताततै खनिएका सडकले धेरै पहिरो गयो भनेर पहिरो नीति बनाउने भन्ने पनि सुनिएको छ । तर त्यो गाउँको सडकका लागि मात्रै भयो । पहिरो गाँउ र खेति वरपर पनि छ भन्ने बुझ्नुपर्छ ।
बाढी पहिरो प्राकृतिक प्रक्रिया, मानिस नै त्यसले गर्ने क्षतिको मुख्य दोषी
शहरीकरण बढेसँगै जलबायुको समस्या विश्वव्यापी बन्दै गएको छ । एक दुइजनाले मात्रै नियन्त्रणको प्रयास गरेर समस्या समाधान गर्न सम्भव छैन । जलवायु परिवर्तनमा जोडिएको एउटा प्रमुख विषय हो कार्वन । जसलाई ग्रिन हाउस ग्याँस भनिन्छ । त्यसको प्रभावले सिर्जित जलवायु परिवर्तनले गर्ने भनेकै आँधी, हुरी, तुफान बतासहरुको अनियमित चक्र र मनसुनमा आउने गडवडी हो । यसले गर्दा समस्या विश्वव्यापी नै हो र त्यसले सिर्जना गरेका समस्याहरुाई सामना गर्नको लागि व्यवस्थित तयारी गर्नुबाहेक तत्कालको लागि अरु कुनै उपाय नै छैन ।
समग्रमा भन्दा प्राकृतिक भुसंरचना र त्यसको प्रकृयामाथिको आक्रमण र हस्तक्षेप नै समस्याको जड हो । हिउदको पानी, बर्षाको पानी अनि बोटविरुवा जस्ता प्राकृतिक भुसंरचना र यसका प्रकृया नबुझिकन गरेको कामका कारण यो अवस्थामा पुगेका छौ । त्यसमाथि थप विश्वव्यापी जलवायु परिवर्तन (ग्लोवल वार्मिङ) त छदैछ । हामीले त्यसका लागि पनि तयारी गर्नुपर्ने थप जिम्मेवारी थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)
-
मन्त्रीहरूको कार्यशैलीमा हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई एमालेभित्र चर्को दबाब
-
रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?