केन्द्रीय संस्करण
अन्तरिक्ष

चन्द्रमा अवतरणको नयाँ दौड : शक्ति राष्ट्रदेखि अर्बपति व्यापारीसम्म

person explore access_timeसाउन ८, २०७६ chat_bubble_outline0

टाइम/जेफ्री क्लुगर

इलन मस्कको जन्म एपोलो ११ अवतरण भएको दुई वर्षपछि सन् १९७१ मा प्रक्षेपण केन्द्रभन्दा धेरै टाढा दक्षिण अफ्रिकामा भएको थियो । आफूले प्रत्यक्ष नदेखेको भए पनि एपोलो मिसनबाट आफू निक्कै प्रभावित भएको मस्क बताउँछन् । 

‘एपोलो ११ मानव इतिहासको सबैभन्दा प्रेरणादायी घटनामध्ये एक हो,’ मस्कले भने । मस्क स्पेस–एक्स नामक रकेट कम्पनीका प्रमुख हुन् । 

अन्तरिक्ष अन्वेषणमा छुट्टै पहिचान बनाएको निजी अन्तरिक्ष कम्पनी स्पेस–एक्स सन् २००२ मा स्थापना भएको थियो । 

कम्पनीको निर्माणमा एपोलो ११ को महत्त्वपूर्ण प्रेरणा रहेको स्वीकार्दै मस्क भन्छन्, ‘एपोलो ११ नभएको भए स्पेस–एक्स नहुन पनि सक्थ्यो ।’

अहिले चन्द्रमा अवतरणका लागि नयाँ दौडा सुरु भएको छ । स्पेस–एक्स यस दौडको एउटा सहभागी हो ।

सन् १९६० को दशकमा विश्वले पहिलो चरणको अन्तरिक्ष दौड देख्यो । त्यसमा दुई धावक थिए ः अमेरिका र सोभियत सङ्घ ।

यो पटक अमेरिकासँग अन्तरिक्ष प्रतिस्पर्धा गर्न नयाँ अन्तर्राष्ट्रिय शक्ति राष्ट्र आएको छ, चीन । तर यो पटक दुई शक्ति राष्ट्रको अतिरिक्त दुई जना अर्बपति पनि चन्द्रमा मानव उतार्न लागिपरेका छन् ।

निजी कम्पनीमध्ये एउटा मस्कको स्पेस–एक्स हो भने अर्को विश्वको सबैभन्दा धनी व्यक्ति जेफ बेजोजको ‘ब्लु ओरिजिन’ छ ।

यही वर्षको जनवरीमा चीनले ‘च्याङ ए–४’ नामको सानो आधार स्टेसन र बाहन चन्द्रमाको फरक भागमा अवतरण गराउन सफल भयो । पृथ्वीबाट छेकिने उक्त भागमा अन्तरिक्ष यान अवतरण गराउने चीन पहिलो राष्ट्र भएको छ ।

आफूहरुको चन्द्रमामा जानुको उद्देश्य प्रष्ट्याउने क्रममा अघिल्लो वर्ष चीनका चन्द्र कार्यक्रम प्रमुख एई पेइजियानले भनेका थिए, ‘अहिले हामी चन्द्रमा जान सक्षम हुँदाहुँदै पनि गएनौँ भने भावी पुस्ताले हामीलाई सराप्नेछन् ।’

चन्द्रमा : के छ आकर्षण 

नयाँ अन्तरिक्ष दौडलाई आर्थिक, प्राविधिक र भूराजनीतिक पक्षले निर्देशित गरिरहेको छ । चन्द्रमा जानुको पहिलो र प्रष्ट फाइदा अन्तरिक्षको खोज तथा अन्तरिक्ष विस्तारमा चन्द्रमा ट्रान्जिट बिन्दु बन्न सक्छ भन्नेछ ।

चन्द्रमाको धरातलमा अति बहुमूल्य ‘रेयर–अर्थ धातु’को ठूलो भण्डार छ । भावी दिनमा ती आयका लागि उपयोग हुनसक्छ । आज हामीले प्रयोग अधिकांश विद्युतीय उपकरण निर्माणमा ‘रेअर अर्थ धातु’ आवश्यक सामग्री हो । त्यसैले यसको उच्च माग रहेको छ ।

चन्द्रमा उडानमा अर्बौं अर्ब खर्च हुने अवस्थामा त्यस उत्खनन् त्यति नाफामूलक हुने छैन । तर भावी दिनमा प्रविधिमा परिवर्तन भएर चन्द्रमा यात्रा सस्तिने सम्भावनाबीच त्यो फाइदामा पनि ख्याल गरिँदैछ ।

फेरि पनि चन्द्र अभियानको सबैभन्दा महत्त्वपूर्ण कारण यसको वैज्ञानिक र प्राविधिक फाइदा हो । पृथ्वीबाट आकाशीय पिण्डको अवलोकन गर्दा दुरदर्शक यन्त्रले वायुमण्डलमा रहेका ग्यासको मोटो पत्र भएर हेर्नुपर्ने हुन्छ । तर चन्द्रमामा भने वायुमण्डल छैन । त्यसले गर्दा त्यहाँबाट अन्तरिक्षको अध्ययन बढी प्रभावकारी हुन्छ । 

त्यसबाहेक पनि विगत दशकमा अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाउन भएको अनुसन्धानबाट यस्ता आविष्कार भए, जुन हाम्रा लागि उपयोगी भएका छन् ।

स्क््रयाच नलाग्ने सिसा, उच्च भोल्टेज–युक्त हल्का ब्याट्री, आगोले नमात्ने कपडाका साथसाथै जीपीएस प्रविधि सबै अन्तरिक्ष कार्यक्रम विस्तार गर्ने क्रममा पत्ता लागेका आविष्कार हुन् ।

त्यसबाहेक पनि भविष्यमा मानवलाई मङ्गल ग्रहमा पाइला टेकाउने लक्ष लिइरहेको सन्दर्भमा त्यसतर्फको यात्रामा चन्द्रमा सहायक हुनेछ ।

चन्द्रमा अवतरण गराउने सबै प्रतिस्पर्धीको आँखा चन्द्रमाको दक्षिणी ध्रुवमा छ जो नित्य सूर्यको छायामा रहन्छ । त्यस भागमा पानी हिउँको रूपमा जमेर बसेको पत्ता लागेको छ ।

त्यसले गर्दा पछिका दिनमा उक्त क्षेत्र अन्तरिक्षयात्रीको लागि चन्द्रमामा आधार स्टेसन बनाउनका लागि सबैभन्दा उपयुक्त स्थान हो ।

त्यहाँ उपलब्ध पानी खाद्यान्न उब्जाउनका लागि मात्र सहयोग हुने होइन, पानीलाई टुक्राउने संयन्त्र खडा गरेर, त्यसबाट प्राप्त अक्सिजन र हाइड्रोजन प्राप्त गर्न सकिन्छ ।

अक्सिजन अन्तरिक्षयात्रीका लागि उपयोग हुनेछ भने हाइड्रोजन राम्रो इन्धनको हो । लामो अन्तरिक्ष यात्राका लागि पृथ्वीबाट पानी र इन्धन बोकेर लागन खर्चिलो र अफ्ठ्यारो हुन्छ ।

त्यसैले मङ्गल ग्रहको यात्रामा निस्केका अन्तरिक्षयानहरुलाई चन्द्रमामा रोकेर पुनः इन्धन भराउन योजना छ । 

चन्द्रमा अवतरणका लागि अमेरिकामा सक्रियता

यही वर्षको मार्चमा अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले ट्रम्पको प्रशासनले अमेरिकालाई सन् २०२४ सम्म चन्द्रमा पुर्याउने वाचा गरे । पेन्स पुनः गठिन नेसनल स्पेस काउन्सिलका प्रमुख हुन् । काउन्सिल सन् १९९३ मा भङ्ग गरिएको थियो ।

चन्द्रमा जाने विभिन्न योजनामाझ फ्लोरिडाको अन्तरिक्ष तटमा चहलपहल निक्कै बढेको छ । नासाले केप क्यानभरलको लन्चप्याड ३९ए स्पेस–एक्सलाई भाडामा दिएको छ । यो ऐतिहासिक लन्चप्याड हो ।

विगतमा जति पनि एपोलो अभियानका रकेट प्रक्षेपण भए, सबै यही लन्चप्याडबाट भएको थियो । 

स्पेस–एक्सले अमेरिका सरकारभन्दा अगाडि नै सन् २०२३ मा मानवसहित चन्द्रमामा अवतरण गर्ने योजना अनुरूप अघि बढिरहेको छ ।

स्पेस–एक्सले ३९ए नजिकको ४० नम्बरको लन्चप्याड पनि भाडामा लिएको छ । रकेटसम्बन्धी काम गर्नका लागि उसले क्यानाभरल मैदाननजिक ५४ हजार वर्ग फिटको ह्याङ्गर बनाएको छ ।

‘हामी चन्द्रमामा पूर्णस्तरको आधार बनाउन चाहन्छौँ । त्यसैले त्यही स्तरका सामग्री बोक्न सक्ने रकेट निर्माण गर्दैछौँ,’ मस्कले भने, ‘अहिले अनुसन्धानका लागि अन्टारटिकामा जस्तो खालको स्थायी आधार छ, त्यस्तै आधार चन्द्रमामा बनाउन पाए कति मज्जा हुन्थ्यो ।’

त्यस्तै, नासाले क्यानाभरलको लन्चप्याड नम्बर ३६ र ११ लाई जेफ बेजोसको स्वामित्वमा रहेको ‘ब्लु ओरिजिन’लाई भाडामा दिएको छ ।

‘ब्लु ओरिजिन’ले क्यानभरल मैदानमा २० करोड अमेरिकी डलरको विशाल निर्माणस्थल बनाएको छ । त्यसलाई थप ९० एकडमा विस्तार गर्ने उसको योजना छ ।

मे महिनामा बेजोसले भावी दिनमा चन्द्रमामा अवतरण गर्ने चन्द्र यान ‘ब्लु मुन’को प्रारूप अनावरण गराए । उनले अमेरिकी सरकारले तोकेकै समय अर्थात सन् २०२४ मा चन्द्रमा पुग्ने लक्ष लिएका छन् ।

नासा आफै पनि क्यानाभरल लन्च–प्याडमा काम गरिरहेको छ । उसले लन्च–प्याड नम्बर ३९ बीमा ५० करोड अमेरिकी डलरको प्रक्षेपण टावर खडा गरेको छ ।

४७ लाख किलोग्रामभन्दा बढी तौल भएको ३८ तल्लाको प्रक्षेपण टावर एक ठाउँबाट अर्को ठाउँ सार्न पनि सकिन्छ । यसलाई नासाले स्पेस लन्च सिस्टम (एसएलएस)’ नाम दिएको छ ।

अमेरिकी उपराष्ट्रपति पेन्सको घोषणासँगै नासाले एसएलएसको निर्माणमा तीव्रता दिएको छ । साथै उसले अन्तरिक्ष यात्रु बोक्ने ओरियन बाहनको निर्माण चाँडै सकाउने लक्ष लिएको छ ।

नासाले यस पटक चन्द्रमा अवतरण अभियानलाई ‘आर्टेमिस’ नाम दिएको छ । ग्रिक दन्त्यकथा अनुसार ‘आर्टेमिस’ ‘एपोलो’को जुम्ल्याहा बहिनी हुन् ।

चीनको अन्तरिक्ष सपना

जहाँसम्म चन्द्रमा अवतरण गर्न चाहने अर्को राष्ट्र चीनको कुरा छ, ऊ यो दौडमा निक्कै ढिलो प्रवेश गरेको हो ।

चीनको सरकारी अन्तरिक्षा संस्था ‘चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन’ले सन् १९७० सम्म पनि पहिलो भू–उपग्रह अन्तरिक्षमा पठाएको थिएन । यो किन महत्त्वपूर्ण छ भने, दशकौँसम्म भू–उपग्रह अन्तरिक्षमा पुर्याउनु अन्तरिक्ष सफलताको मानक मानिन्थ्यो ।

तर सन् २००३ मा चीनले मानवलाई अन्तरिक्षमा पुर्याएर त्यो सफलता हासिल गर्ने तेस्रो राष्ट्र बन्यो । त्यसयता चीनले कैयौँ अभियान उडाइसकेको छ ।

ती सबमा उसले विभिन्न कोसेढुङ्गा पार गर्यो । अन्तरिक्ष यात्रामा सफलताको रूपमा हेरिने अन्तरिक्षमा हिँड्नेदेखि सानो स्तरको अन्तरिक्ष केन्द्र निर्माण गर्ने काम उसले सम्पन्न गरेको हो । 

चीनले चारवटा रोबोटसहितको चन्द्र अभियान पनि उडाइसकेको छ । यो वर्ष ‘च्याङ ए–४’ आधार स्टेसन र बाहनको अवतरण सबैभन्दा महत्त्वपूर्ण थियो । 

सन् २०१७ को सुरुमा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा बोल्दै चीनको पहिलो अन्तरिक्षयात्री याङ लिबेईले ‘चीन मानवसहितको चन्द्रमा अवतरणको योजना बनाइरहेको’ बताएका थिए ।

अपारदर्शी चिनियाँ अन्तरिक्ष बजेट

चीन आफ्नो देशको अन्तरिक्ष कार्यक्रममा गर्ने खर्चबारे केही कुरा भन्दैन वा भने पनि विश्वनीय तथ्याङ्कबाहिर ल्याउँदैन । चीनको अन्तरिक्ष प्रशासनले वार्षिक रूपमा पाउने बजेटबारे प्रेसमा आएको तथ्याङ्कमा नै विश्वास गर्ने आधार छैन ।

यो वर्ष अन्तरिक्ष प्रशासनको लागि जम्मा ८ अर्ब अमेरिकी डलर छुट्याइएको छ । यो नासाको २० अर्ब अमेरिकी डलरको बजेटको तुलनामा ४० प्रतिशत मात्र हो ।

तर अधिकांश अन्तरिक्षविज्ञ चीनले आफ्नो अन्तरिक्ष खर्चलाई कम देखाइरहेको विश्वास गर्छन् । ‘चार स्थानमा रहेको लन्च–प्याड र ९० हजार कर्मचारी भएको अन्तरिक्ष कर्पोरेसन चलाउन त्यति रकम निक्कै थोरै हो,’ च्याङले भने ।

सन् १९६६ मा नासाको बजेट सबैभन्दा उच्च थियो । त्यस वर्ष उसलाई ५.९ अर्ब अमेरिकी डलर बजेट छुट्याइएको थियो । जुन आजको बजारभाउमा ४७ अर्ब अमेरिकी डलर हुन आउँछ ।

तर अहिले नासा अमेरिकी सरकारी खर्च कटौतीको शिकार भएको छ । चिनियाँ अन्तरिक्ष अभियानलाई बलियो सरकारी प्रतिबद्धता र खर्चको साथ छ भने अमेरिका अन्तरिक्षका कैयौँ पक्षको ज्ञानमा निक्कै अगाडि छ ।

चन्द्रमा अवतरणमा प्रयोग हुने रकेटका कुरा

सरल भाषामा भन्दा चन्द्रमामा मानव अवतरण गराउन अत्यन्त भारी यन्त्रलाई तीव्र गतिमा आकासमा उडाउनुपर्छ । विगतमा एपोलो युगको चन्द्रमा चक्कर लगाउने अरबिटर र अवतरण गर्ने ल्यान्डरको कुल वजन ४३ हजार किलोभन्दा बढी थियो । 

त्यसैलाई आकासमा हुत्याउनका लागि विशाल सामर्थ भएको ‘स्याटर्न पाँचौँ’ रकेट निर्माण गरिएको थियो । ३६३ फिटको रकेटले ७६ लाख पाउण्डको बलले माथि ठेल्थ्यो ।

नासाले हाल नयाँ डिजाइन गरिरहेको ‘एसएलएस’ले स्यार्टन पाँचौँभन्दा बढी अर्थात ८८ लाख पाउन्ड माथि बल सिर्जना गर्छ ।

नासाको चन्द्रमा मानव अवतरण गर्नका लागि चन्द्रमा कक्ष नजिक ‘गेटवे’ नाम गरेको सानो अन्तरिक्ष केन्द्र निर्माण गर्ने र ‘ओरियन’मा रहेका अन्तरिक्षयात्री गेटवेमा ओर्लेर, त्यहाँबाट चन्द्रमा धरातलमा ओरालिने योजना छ ।

गेटवेको प्रयोगले प्रारम्भमा चन्द्र अभियान महँगो र कठिन बनाउनेछ । तर दीर्घकालीन अवधिमा भने बढी सस्तो पर्नेछ किनकि ओरियन पटक पटक प्रयोग गर्न सकिने यान हो ।

इन्टरनेसनल स्पेस स्टेसनजस्तै ‘गेटवे’लाई पनि विस्तार गर्दै लान सकिन्छ । त्यसअन्तर्गत अन्तर्राष्ट्रिय शक्ति अथवा निजी कम्पनीका लागि धेरैवटा रकेट अवतरण गर्ने स्थान बनाउन सकिन्छ ।

नयाँ चन्द्रमा अभियानमा को होला पहिलो ?

हालसम्मको प्रगति हेर्दा सबैभन्दा अगाडि इलन मस्क छन् । अहिले स्पेस–एक्ससँग रहेको सबैभन्दा ठूलो रकेट ‘फाल्कोन हेभी’ हो जुनले ५० लाख पाउन्डको शक्ति सिर्जना गर्छ । त्यो एसएलएस प्रयोगमा आएपछि सिर्जना गर्ने शक्तिभन्दा कम हो ।

तर पनि यो हाल प्रयोगमा भएको सबैभन्दा शक्तिशाली रकेट हो । स्पेस–एक्सले सक्दो चाँडो सन् २०२१ सम्ममा उसले ‘फाल्कोन सुपर हेभी रकेट’ प्रयोगमा ल्याइसक्ने बताएको छ ।

त्यस रकेटको सामाथ्र्य १ करोड पाउन्ड हुनेछ । त्यसमा १०० यात्रु क्षमताको हुने उसले बताएको छ । त्यो ओरियनले बोक्न सक्ने यात्रुभन्द १७ गुणा बढी हो । ओरियन यानले ४ देखि ६ जना अन्तरिक्षयात्रु मात्र बोक्छ ।

मस्क आफ्नो हरेक प्रगति ठूलो होहल्लासहित सार्वजनिक गरिरहेका हुन्छन् भने वेजोस र उनको ब्लु ओरिजिनले गुपचुप काम गरिरहेको छ । यही भिन्नताले ‘ब्लु ओरिजिन’को प्रगति रहस्यमा छ । तर अमेजनको छत्रछाया रहेकाले ‘ब्लु ओरिजिन’सँग रकमको कुनै अभाव छैन ।

तर जति नै धनाढ्यको सञ्चालनमा रहे पनि अन्तरिक्ष अभियान अत्यन्त खर्चिलो हुन्छ । कुनै आय गर्नुअघि अर्बौं रकम खर्च भइसकेको हुन्छ ।

त्यही भएर निजी कम्पनी स्पेस–एक्स र ब्लु ओरिजिन दुवै प्रक्षेपण सेवा प्रदान गर्ने र त्यसपछि उपभोक्ताहरु खोजेर तिनबाट पैसा उठाउने उद्देश्यका साथ अघि बढिरहेका छन् ।

जहाँसम्म चीनको कुरा छ, उसको उद्देश्य देशको मानवसहित यानको अन्तरिक्षको लामो यात्रा गर्ने छ । यसका लागि उसले लङ मार्च रकेट शृङ्खला सुरु गरेको छ । उसले यही वर्षको अन्त्यसम्म चन्द्रमामा मानवरहित रकेट चन्द्रमा पुर्याएर फर्कने योजना लिएको छ ।

त्यसपछि अर्को मिसन सन् २०२० मा मङ्गल ग्रहका लागि हुनेछ । यद्यपि, सुरुवाती प्रयास त्यति सहज रूपमा अघि बढेको देखिँदैन । सन् २००६ मा गरिएको एउटा रकेटको परीक्षण उडान केही हदसम्म सफल भएको थियो तर सन् २०१७ मा गरिएको परीक्षण असफल भयो । त्यस उडानको सामग्री अन्तरिक्ष नै पुगेन ।

यही वर्ष जुलाईमा योजना गरिएको परीक्षण पनि गढबढीको कारण रद्द गर्नुपर्यो । केहीले चीन गम्भीर रूपमा चन्द्रमा जान नै नचाहेको पो हो कि भन्ने आशङ्का पनि गरेका छन् ।

चीन पृथ्वीमा नै महत्त्वपूर्ण हुने अत्याधुनिक प्रविधि निर्माणमा लागिरहेको र चन्द्रमा अवतरण उक्त उद्देश्य लुकाउने प्रयास पो हो कि भन्ने तिनको आशङ्का छ ।

राष्ट्रिय प्रतिष्ठाको विषय वा मानवताको जित

अन्तरिक्ष विकासका लागि प्रतिस्पर्धा नै उत्तम विकल्प हो भन्ने होइन । जस्तो अहिले अन्तरिक्षमा रहेको ‘इन्टरनेसनल स्पेस स्टेसन’ अमेरिकाले १५ राष्ट्रसँग मिलेर बनाएको हो ।

रसिया, युरोपिय स्पेस एजेन्सी, जापान र क्यानडा सबैले मोड्युल निर्माणमा योगदान गरेका छन् । हालसम्म १८ देशका अन्तरिक्षयात्री उक्त स्टेसन पुगिसकेका छन् ।

राजनीतिक रूपमा अमेरिका र रुसबीच तनाव बढ्दासमेत स्पेस स्टेसनले सहकार्यको वातावरण बनाइदिने गरेको छ । विशेष गरेर दुवै देशका अन्तरिक्ष यात्रीमाथि समस्या आइपर्दा त्यस्तो देखिन्छ ।

जलवायु परिवर्तन र रोगव्याधीको जोखिमबीच बाचिरहेको विश्वलाई यस्तो खालको सहकार्यले महत्त्वपूर्ण हुन्छ । अन्तरिक्ष क्षेत्र प्रतिद्वन्द्वी राष्ट्रबीच विश्वास निर्माण गर्ने क्षेत्र बनेको छ । 

प्राविधिक रूपमा नासाले चीनसँग सैन्य प्रयोजन नभएको नागरिक परियोजनामा सहकार्य गर्न सक्छ । तर अन्तरिक्ष कार्यक्रमका धेरै क्षेत्रको दोहोरो प्रयोजन हुने भएकाले दुईबीच स्पष्ट विभाजन गर्न कठिन हुने अवस्था पनि छ ।

तर राजनीतिक रूपमा अमेरिकामा चीनसँग अन्तरिक्ष क्षेत्रमा सहकार्यभन्दा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने विषय अमेरिकाका दुई प्रतिस्पर्धी पार्टीबीच सहमतीका थोरै मुद्दामध्ये एक हो । हिजोको दिनमा सोभियत सङ्घसँग प्रतिस्पर्धाले यस्तो एकता निर्माण गराउँथ्यो । 

‘नासाको प्रशासकदेखि, इलन मस्क र अन्य अमेरिकी अन्तरिक्ष व्यक्तित्व नियमित रूपमा चीनले पुर्याउन लागिसक्यो भन्ने डर देखाएर अमेरिकी सरकारबाट सहुलियत रकम लिइरहेका देखिन्छन् ।’

मानव जाति ५० वर्षअघि नै दुई विश्वको प्रजाति भइसकेको हो । त्यो अवस्था अब सामान्य बनाउनेतर्फ अघि बढिरहँदा राजनीति र नियमकानुनले बाधा पुर्याउनु हुँदैन ।

निल आर्मस्ट्रङ्को एपोलो ११ यानमा चन्द्रमा गएका तेस्रो अन्तरिक्षयात्रु माइकल कोलिन्स अन्तरवार्ताहरुमा चन्द्रमा अवतरण गरेपछि विश्व भ्रमण गर्दा मानिसहरुले भनेको कुरा स्मरण गर्छन् ।

‘केही ठाउँमा मानिसहरु हामीलाई भेट्दा ‘तपाईं अमेरिकीहरुले अन्तत गरेरै छाड्नुभयो, त्यसको लागि बधाई’ भन्थे । तर अधिकांश ठाउँमा मानिसहरु ‘हामीले अन्ततः गरि छाड्यौँ । हामी मानवले अन्ततः यो ग्रहभन्दा बाहिर पुगेरै छाड्यौँ’ भन्थे ।’

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...