बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘रातो र चन्द्र सूर्जे’ अब नेपथ्यको म्यूजिक भिडियोमा

बुधबार, ०८ साउन २०७६, १३ : १५
बुधबार, ०८ साउन २०७६

काठमाडौं– कवि गोपालप्रसाद रिमालले राणाकालमै लेखेको कालजयी कविता ‘रातो र चन्द्र सूर्जे जंगी निशान हाम्रो’ संगीतबद्ध भएको केहि दसकपछि अब म्यूजिक भिडियोका रुपमा प्रस्तुत भएको छ ।  यस कवितालाई निकैपछि अम्बर गुरुङले वीररसमा संगीतबद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए । उतिबेलै गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो ।

नेपाली झण्डाको महिमा गाउने क्रममा हाम्रो गौरवमयी इतिहास र गाथा बयान गर्ने यो गीतलाई पछिल्लो समय लोक रक ब्याण्ड नेपथ्यले गाउँदै आएको छ । ‘पुरानै गीतलाई हाम्रो थप प्रयास स्वरुप नयाँ एरेन्जमेन्टले सजाएपछि श्रोताहरुलाई सुनाउँदै आएका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘सन् २००२ यता ब्याण्डका हरेक जसो कन्सर्टमा नछुटाइकन यो गीत प्रस्तुत हुने गरेको छ ।’

त्यसैगरि नौ वर्षअघि नेपाली सेनाले यस गीतलाई ‘सैनिक गीत’ बनाउने निधो गरेपछि उसका प्रत्येक जस्तो औपचारिक कार्यक्रममा यो धुन बजाउँदै आइरहेको छ ।  ‘म्यूजिक भिडियोमा नेपथ्य ब्याण्डकै लाइभ कन्सर्टका दृश्यहरुलाई संयोजन गरिएको छ,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘गीत गाउँदा दर्शकहरुमा देखिएको ब्यापक उत्साह र उर्जाले नै शब्दको शक्ति देखाउने भएकाले यस्तो निर्णय लिएका हौं ।’

‘यो गम्भीर भाव बोकेको पुरानो गीतलाई युट्युब पुस्तासम्म लैजाने उद्देश्यले यसको भिडियो तयार पारेका हौं,’ नेपालयका किरणकृष्ण भन्छन्, ‘हरेक कन्सर्टमा गाउने बेला दर्शकमा देखिने उत्साहलाई नै यसको ब्यापक माँगका रुपमा बुझेर हामीले यस्तो निर्णय लिएका हौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप