बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कप्तान ज्ञानेन्द्रको अर्धशतक, मलेसियाविरुद्ध नेपालको शानदार जीत

बुधबार, ०८ साउन २०७६, ११ : ००
बुधबार, ०८ साउन २०७६

काठमाडौँ । कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।

वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले आठ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।

कप्तान मल्लले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाए । यसक्रममा उनले ५ चौका र ३ छक्का हिर्काए ।

योसँगै मल्लले नेपालको तर्फबाट सबैभन्दा छिटो पचास रनको कीर्तिमान राखेका छन्।

त्यस्तै, प्रदीप सिंह ऐरीले १२ तथा विनोद भण्डारीले १३ रनको योगदान दिए ।

यसअघि पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।

मलेसियाका लागि सायेद अजिजले ३० रन तथा वीरन्दीप सिंहले २१ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा वसन्त रेग्मीले २ विकेट लिए । सन्दीप लामिछानेले र करण केसीले १–१ विकेट लिए ।

सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता हुँदैछ ।

पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो ।

छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले अब तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ  ।

नेपालले विश्वकप छनौटको सम्भावनालाई कायम राख्न प्रतियोगिताको बाँकी सबै खेल जित्नुपर्ने छ ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप