शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा नयाँ प्रधानमन्त्री बन्दै गरेका जोनसनसँग जोडिएका महत्वपूर्ण मितिहरू

मङ्गलबार, ०७ साउन २०७६, २३ : २७
मङ्गलबार, ०७ साउन २०७६

लण्डन-कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मङ्गलबार विजय प्राप्त गरेका छन् । नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो । 

सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी उनले अक्सफोर्ड बालिओल कलेजबाट चारबर्ष पछि स्नातक पास गरेका थिए भने सन् १९८७ देखि करिब दुई बर्ष द टाइम्स पत्रिकामा काम गरेका थिए । जोनसनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा काम गरेका थिए । उनले सन् १९९९ देखि २००५ सम्म द स्पेक्टेटर नामक खबर पत्रिकामा काम गरे तर सन् २००१ मा नै उनी लण्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद सदस्य बनेका थिए । उनी सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचित भए ।

सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लण्डनको नगर प्रमुख (मेयर) बने । उनी सन् २०१२ मा पनि लण्डनको मेयरका रूपमा निर्वाचित भएका थिए ।

सन् २०१५ मा अक्सब्रिज र साउथ रस्लीप क्षेत्रबाट संसदमा प्रतिनिधित्व गरे भने सन् २०१७ मा पनि सोही क्षेत्रबाट निर्वाचित भए ।

सन् २०१६ मा भएको ब्रेक्जिटको पक्षमा मतदान गरेका बेलायतीहरूलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उनले तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरूनको राजिनामा पछि भएको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी सम्हाले । तर प्रधानमन्त्री टरिजा मेका ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै सन् २०१८ जुलाई ९ मा राजिनामा दिए ।

उनले सन् २०१९ को जुलाई २३ अर्थात् मङ्गलबार प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित बनेका छन् । उनले बुधबार महारानी एलिजावेथ द्वितीयसँगको भेटघाट र औपचारिक समारोहबीच बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ । एएफपी/picture: Henry Nicholls-WPA Pool/Getty Images​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप