सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

भरतपुर काण्ड : देवी ज्ञवाली र दैत्य दौँतरी द्वन्द्व

शुक्रबार, २७ साउन २०७४, ११ : ३६
शुक्रबार, २७ साउन २०७४


भरतपुर काण्डमा देवी ज्ञवाली इमान जमानका सघन प्रतीक हुन् भने मतपत्र च्यात्ने जस्तो लोकतन्त्रको प्राण हरण गर्ने कामका दुई दौतरी वा दामल व्यक्ति दैत्यका दुर्बल प्रतीक हुन् । जनताको मत, अभिमत अङ्कित पत्र च्यात्नु भनेको जनादेश, जनभावना र जनमतलाई धुजा धुजा पार्नु हो । जनता नै देश वा राष्ट्र हो भने यो कृत्य जनताको घोर उपेक्षा र अपमान हो । जनताको अपमान गर्नेले देशको सम्मान गर्छ भनेर पत्याउन सकिन्न । जनताको मत च्यात्नुु निकृष्ट स्वार्थपूर्तिका लागि जनताको बलि चढाउनु हो ।

संसदीय राजनीतिलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल भनेर त्यसका विरुद्ध सत्र हज्जार निरपराध र निर्दोष जनताको कत्लेआम गरेकोमा गौरवबोध गर्ने माओवादी केन्द्रको तथाकथित जनयुद्ध केवल ढाँेग हो भन्ने कुरा उसले गरेको भरतपुरको निकृष्टतम घटनाबाट पुष्टि हुन्छ । भरतपुरमा माओवादी उम्मेदवार हार्ने अवस्था देखेर मतपत्र च्यात्ने त्यस पार्टीका कार्यकर्ता मधु न्यौपानेको अनुहार बदलिएर पुष्पकमल दाहालको मुहार टल्कियो । अर्को मतपत्र च्यात्ने द्रोण न्यौपानेको मुखाकृति बदलिएर शेरबहादुर देउवाको मोहडा झल्कियो । न्यौपाने र सिवाकोटीका पृष्ठभागमा निर्वाचन आयोगका अध्यक्ष डा. यादव मुसुमुसु हाँसिहेका थिए । रमन श्रेष्ठको प्रधान न्यायाधिवक्ता यादवसितै नारिएर खित्का छाड्दै थिए । यसको पाश्र्व भागमा भरतपुर फैसलाका सर्वोच्च अदालतका न्यायाधीश द्वयको अनुहार यस लेखकको दिव्यदृष्टिले देख्यो ।

पूर्वप्रधान न्यायाधीश तथा न्यायमूर्ति सुशील कार्कीले सर्वोच्च अदालतमा मुद्दा फैसला गर्ने बेन्चको तयारी बारे सेवानिवृत्त भएपछि एक अन्तर्वार्ता मार्फत् उल्लेख गर्नुभएको थियो । पूर्वसभामुख तथा प्रसिद्ध कानुनविद् निलाम्बर आचार्यले समेत भरतपुरमा मतपत्र च्यातेको विषयमा सर्वोच्च अदालतले गरेको फैसला सकारात्मक नभएको टिप्पणी गरिसक्नुभएको छ । पार्टीअनुसार नीति बन्छ भने नीतिअनुसारको नेता चुनिन्छ । अनि त्यही नेताअनुसारका कार्यकर्ता हुन्छन्, किनभने नेताको बेहोरा कार्यकर्तासित ठ्याम्मै मिल्छ । यसरी बेहोरा मिलेकाले त भरतपुरमा कार्यकर्ता मतपत्र च्यात्न तात्तिएका हुन् । नेताको परोक्ष आदेश, निर्देश र तिनको मनोविज्ञान बुझेर मतपत्र च्यात्न हौसिएका हुन् । पार्टी र नेतृत्वले यस्तै खालका गृहकार्य बेलाबेला दिने गरेकाले पार्टी जीवन्त बनेको हो । यसबापत् उचित पुरस्कृत गरिँदा पार्टी बलियो बन्ने हो । यसको प्रत्यक्ष प्रमाण भरतपुरमा मतपत्र च्यात्ने माओवादी कार्यकर्तालाई खादा, माला लगाएर सम्मान गरिएको कुराबाट अवगत हुन्छ ।

लोकतन्त्र र जनतन्त्रको आधारभूत तथा मूलभूत अपरिहार्य पक्ष जनता र जनमत हो । लाछी र निर्लज्ज काम भरतपुर, महानगर पालिकामा शेरबहादुर र पुष्पकमल दाहाल गठबन्धन सरकारले देवी ज्ञवालीविरुद्ध ठूलो पौरख देखाए गरे । यस लेखकले यसलाई देवी र दैत्यकाबीचको द्वन्द्व ठानेको छ ।

पार्टीमा कार्यकर्ता र नेताले गरेका हरेक कामको जवाफदेहिता पार्टी अध्यक्षको हुन्छ । मतपत्र च्यात्ने कार्यकर्तालाई दण्डित नगरी उल्टो फूलमाला, खादा र अबिर लगाएर सम्मान गरेपछि यस्तो पुनित काम पार्टी अध्यक्ष पुष्पकमल दाहालले गरेको स्पष्ट हुन्छ र हो पनि । अनि भरतपुरको मतपत्र पार्टी अध्यक्षले नै च्यातेको बहस र पैरवीबाट ठहर्छ । ज्यान केसमा प्रत्यक्ष संलग्न नभए पनि मिलोमतो र ज्यान मारेको देख्ने पनि जेल सजायको भागीदार हुन्छ । अनि भरतपुर घटनामा सहभागी र दह्रो मतियार भएको नेपाली काङ्ग्रेस चोखो देखिन्न । किन पनि देखिन्न भने द्रोण सिवाकोटीको स्वभाव काङ्ग्रेससित ठ्याक्कै मिल्छ । यस्तै चाला हो भने नितान्त निहित र निकृष्ट कृत्यका लागि बिनलादेन जन्माएर उसैले आफूतिर तिर सोझ्याउने दिनको प्रतीक्षा गर्नुबाहेक विकल्प देखिन्न ।

न्यौपाने र सिवाकोटी पार्टीको मूल्याङ्नमा नपर्ने कुरै भएर । अब तिनको बढुवा पनि हुँदो हो । माओवादी र नेकामा यस्तै दुष्कर्म नगरी कार्यकर्ता र नेताको अन्य रचनात्मक काम गरेर मूल्याङ्कन होला जस्तो लाग्दैन । नेपाली काङ्ग्रेसका सभासद् तथा वरिष्ठ वकिलले केही दिनअघि सरकारले ल्याएको प्रतिनिधि सभा सदस्यहरुको निर्वाचनसम्बन्धी विधेयकको संशोधन प्रस्ताव विषयमा बोल्दा एक पटक भ्रष्टाचार, दुराचार र व्यभिचारको अभियोग लागेकाहरुलाई प्रतिनिधि सभा सदस्य हुन कुनै बन्देज लगाउन हुन्न भनेर बहस गरे । सरकारले भ्रष्टाचारीलाई आजीवन उम्मेदवार हुन नपाउने गरी विधेयक ल्याएपछि यसका विपक्षमा खुलेआम बोल्ने र तदनुसार चल्ने काङ्ग्रेसले भरतपुरमा लोकतन्त्र र विधिको शासनको धज्जी उडाउनु कुनै अचम्म र उदेकको विषय नै होइन । त्यसैले सिवाकोटी नेका पार्टी सभापतिकै प्रतिनिधि पात्र हुन् भनेर भन्न मिल्ने पर्याप्त आधारहरु देखिन्छन् ।

आफ्ना कार्यकर्ताले खुलेआम मतपत्र च्यात्ता पार्टीले कारबाही नगरी उल्टो खादा, माला र टीका लगाएपछि कुरा बुझियो । यस पुनित काममा पार्टी अध्यक्षकै आड, भरोसा र प्रोत्साहन रहेछ । पाकेटमार र बगलीमार छोरालाई हकारपकार पनि नगर्ने बाबु कसरी सद्दे हुन्छ ? अब यो गठबन्धन सरकारले देशमा राम्रा काम गर्ने कुनै आशा गर्ने ठाउँ देखिन्न । अनि प्रधानमन्त्री भएको दुई महिना हुँदा पनि शेरबहादुर देउवाले आफ्नो सम्पत्ति विवरण बुझाएनन् भनेर रुनु बेकार छ । जब चोरालाई चौतारामा बिराजमान गराइन्छ, तब साधुलाई शूली चढाइने अवस्था टड्कारो देखिन्छ । यसको पहिलो सिकार देवी ज्ञवाली भएका छन् । जब सियो चोर्दा मौन बसिन्छ, त्यसपछि फाली चोरिनु स्वाभाविक हुन्छ । यो क्रम बढेर यो चोरी प्रकरणले घर फोर्ने अवस्थासम्म पु¥याउँछ । लोकतन्त्र र जनतन्त्रको आधारभूत तथा मूलभूत अपरिहार्य पक्ष जनता र जनमत हो । लाछी र निर्लज्ज काम भरतपुर, महानगर पालिकामा शेरबहादुर र पुष्पकमल दाहाल गठबन्धन सरकारले देवी ज्ञवालीविरुद्ध ठूलो पौरख देखाए गरे । यस लेखकले यसलाई देवी र दैत्यकाबीचको द्वन्द्व ठानेको छ ।

देवी ज्ञवाली सत्य, सदाचार र सत्कर्मका प्रतिमूर्ति हुन् भने गठबन्धन सरकार दैत्य दौतरको प्रतिरुप हो । सानु सानु सत्य मिलेर ठूलो सत्य बन्छ । सियो चोर्नेले नै फाली चोर्छ, अनि यसैले घर पनि फोर्छ । कहिलेकहीँ जितेर पनि हारिन्छ भने कहिलेकाहीँ हारेर पनि जितिन्छ । देवी ज्ञवालीले इमानको जित हासिल गरेका छन् । ज्ञवालीका अगाडि प्राविधिक र कृत्रिम जित हासिल गरेकाहरु नैतिक दृष्टिले कमजोर छन् र हुन्छन् । तिनले देवी ज्ञवालीका अगाडि शिर ठाडो गर्नै सक्तैनन् । मानिसले अरुलाई ढाँटे पनि आफूलाई कहिल्यै ढाँट्न सक्तैन । सिङ्गो राज्यसत्ता हातमा लिएर चरम धाँदली र राष्ट्रिय धनको खोलो बगाएर गरेको नाटकीय विजय के विजय ? लुर, तागत र क्षमता हुनेहरु इमानको सहारा लिन्छन् र त्यसका आधारमा विजय हासिल गर्छन् । बेइमानहरु हर्दम षडयन्त्र, खुराफात तथा नीच निकृष्ट हरकतका भरमा र पैसाको खोलो बगाएर राज गर्न चाहन्छन् ।

यस खालका असत्य, अपराध र अकर्मण्यता विरुद्ध पुर्खाहरुले लामो लडाइँ लडेका छन् । यही लडाइँका कारण सयौँ शकुनीका सन्तानहरु, कौरवपुत्रहरु कंश, रावण र हीरण्यकशिपुहरु मानव जातिका कलङ्क बनेका छन् । यस खालका दुस्सासनका शासनहरु इतिहासमा दुर्नाम र बदनाम बनेका छन् । एमाले अध्यक्ष तथा यस मुलुकका प्रभावशाली राष्ट्रवादी पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीसितको षडयन्त्र बहुत ठूलो भारी बात हुन्छ । यसको मूल्य निक्कै महँगो पनि हुन्छ । ओलीले पहिले भन्दैखेरि अहिलेको अभिमन्यु उहिल्यैको जस्तो केटाकेटी होइन भन्नु भएको थियो । नभन्दै ओलीले बोल्दा मात्र पनि आधा काम पूरा हुन्छ यो भनाइ जननेता मदन भण्डारीको हो । अहिले कतिपय सरकारी दबाब र दमनका विरुद्ध पौँठेजारी खेल्ने समय अलि प्रतिकूल भएर मात्र हो । नत्र भारतीय प्रधानमन्त्री नै ओलीका अगाडि लत्रिन बाध्य हुनुप¥यो भने यहाँका तिनैका अरौटेहरु कुनै समस्या नै होइन । तर भरतपुरको १९ नं. वार्डको दोस्रो चरणको चुनावमा तमाम हतकण्डा विरुद्ध त्यहाँको पार्टी भिडेर नलाग्नु हो । प्रदीप नेपालले एमालेकै कारण एमालेले अपेक्षित परिणाम ल्याउन नसक्ने बताउनु भएको थियो ।

हुन पनि झापा जिल्लामा पार्टी अध्यक्ष र सचिव नै स्थानीय तहको चुनावमा उठ्न हत्ते हाल्नु पर्ने कारण के ? ओली निकट भएर मात्र ओली विशेषता हासिल हुँदैन । ओली हुन रातको बाह्र बजेसम्म पढ्नु पनि पर्छ । कतिपय ओलीसित राजनीतिक नाता जोड्नेहरु नै ओली छवि धुमिल बनाउँदैछन् । तथापि ओली निकटहरु बढी जिम्मेदार, विवेकी र इमानदार पनि छन् । भरतपुरको माडी नगरपालिकामा मेयर आकाङ्क्षी श्याम विष्टको नाम विधिसम्मत रुपमा जिल्ला समितिले प्रदेश समितिमा नै पठाएन । तर पनि उनी नारदमणि पौडेलका पक्षमा चुनावी अभियानमा होमिए । तर मोरङ जिल्लाका सभासद् चन्द्रबहादुर गुरुङ आफ्नो पक्षको मेयर आकाङ्क्षीले टिकट पाएर भनेर सिरक ओढेर सुते । प्रदीप नेपालको ‘मेरो नेता मदन भण्डारी मात्र हो’ भन्ने शीर्षकको लेखमा माधव नेपालसित सम्बन्धित अंश पढेपछि नेताप्रति नै चरम वितृष्णा बढ्यो । यस खालको असंवेदनशील स्थिति मुहानमा नै भएपछि भुइँ तहमा उदात्त संस्कार खोजेर पाइन्न । यो संस्कारको कतिपय ठाउँमा नग्न र भद्दा रुप देखिन्छ, इटहरी उपमहानगर पालिकामा बसोबास गरेका नाताले यस्ता विरुप रुपहरु देखेको छ ।

मोरङ जिल्लामा हार खानुका पछाडि प्रदेश स्तरका कतिपय नेताहरुका गुटगत सङ्कीर्ण सोच, घमण्डी स्वभाव रहेको पनि देखियो । अब सानुतिनु खर्चले चुनाव धान्न नसकिने स्थिति एमाले इतरका पार्टीले गरेको खर्चले देखायो । तैपनि भरतपुरमा देखापरेको हतकण्डाले लोकतन्त्र, गणतन्त्रकै हुर्मत लिएको छ । यस्तै चाला हो र यही चाला बढ्यो भने नेपालको उल्टो गति सुरु हुनेछ । आम सञ्चार जगत्ले पनि समाजको कुरुप पक्षबाहेक समाजमा प्रवाह गर्ने कुनै विषय पाइने छैन । भरतपुरमा जित्नेलाई पनि देवी ज्ञवाली सधैँ चिमोटिरहने विषय बन्यो भने जित्नेले कार्यकालभरि मन खुम्च्याएर बाँच्नुपर्ने अवस्था देखियो । तर देवी ज्ञवाली भने शिर ठाडो पारेर छाती चौडा पारेर जनताको सेवामा निरन्तर लागि रहनेछन् र उनका अगाडि देश र जनताको प्राण लिने दैत्य दौतर बलशाली भए देखिए पनि नैतिक बलविहीन निरीह कुपात्र बन्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप