शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने

मङ्गलबार, ०७ साउन २०७६, १४ : ५२
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं– जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् ।

गत भदौमै कालोपत्र भइसक्नुपर्ने गरी ठेक्का भएको सडक थपिएको म्याद सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन । गत वर्ष सकिएर थपिएको म्याद पनि आगामी भदौमा सकिँदैछ तर सडक सार्वजनिक जग्गा भएको स्थानमा मात्र विस्तार गर्न लागेजस्तो देखिन्छ । जीर्ण बनेको सडकका कारण यातायात सञ्चालनमा समस्या आउन थालेपछि सोमबार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामा जनप्रतिनिधिसँग छलफल भएको थियो ।

छलफलमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायतका जनप्रतिनिधिको सहभागिता थियो । 

जीर्ण सडक मर्मतका लागि ग्राभेल भनेर माटो हालेर हिलो बनाइएको भन्दै स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेपछि आयोजना कार्यालयमा बैठक भएको हो । बैठकमा दुई बुँदे सहमति भएको नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष ढुङ्गानाले बताए । 
 
‘नगरपालिकाले सार्वजनिक पर्ती जग्गा खाली गर्न गराउन पहल गर्दै सार्वजनिक सूचना जारी गर्ने जीर्ण सडकमा तत्काल मर्मतसम्भार शुरु गर्ने सहमति भएको छ’, उनले भने । सडक विस्तार हुन नसकेपछि तीन पटकसम्म मर्मत भइसकेको आयोजनाले जनाएको छ । सडकमा नाली खोल्न नदिएपछि जतिपटक मर्मत गरे पनि दिगो हुन नसकेको आयोजना प्रमुख अर्जुन अर्यालले बताए । 
 
सार्वजनिक स्थलमा बनेका संरचना हटाएर विस्तारमा सहयोग गर्ने विषयमा जनप्रतिनिधिसँग सहमति भएको उनले सुनाए  । नाली बनाएर ठूला खाल्डा भएका स्थानमा मर्मतको काम शुरु भइसकेको आयोजनाको दाबी छ । 
 करिब सात किमि सडक रु ५४ करोडको लागतमा विस्तार गरी कालोपत्र गर्न चार वर्ष अघि ठेक्का सम्झौता भएको थियो । दुई खण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ । सडक नबन्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोले किनारा क्षेत्रमा बस्न नसकिने स्थानीय सम्झना तामाङको गुनासो छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप