बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हामी पुष्पलालकै उत्तराधिकारी हौँ : प्रचण्ड

मङ्गलबार, ०७ साउन २०७६, १० : ५३
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रकृया करीब–करीब निष्कर्षमा पुगिसकेको बताएका छन् ।

 उनले एकदुईवटा कामलाई औपचारिकता दिनमात्रै बाँकी रहेको भन्दै एकदुई दिनभित्रै त्यो काम पनि पूरा हुने बताए । 

पार्टी संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले साउन महिनाभित्र पार्टी एकताका बाँकी काम टुङ्ग्याउने र स्थायी समिति र केन्द्रीय समितिको बैठक समेत बसेर देशव्यापी अभियानमा जाने कार्यक्रम बनाउने बताए । 

‘एक वर्षमा पार्टी एकता ढिलो भयो, लाखौँ नेता कार्यकर्ताको काम गर्ने सकारात्मक वातावरण बनेन भन्ने जुन चिन्ता थियो,त्यो चिन्तालाई दूर गर्ने, कार्यकर्तालाई आमूल रुपमा उत्साहित गर्ने र सरकारका कामलाई सुशासन र विकासको मोडल प्रस्तुत गर्ने उद्देश्यका साथ जानुछ’ प्रचण्डको भनाई छ । विभाजित पार्टीलाई एकीकृत गर्नुपर्छ भन्ने पुष्पलालको भनाई स्मरण गर्दै अध्यक्ष प्रचण्डले पुष्पलाले लिएको समाजवादतर्फको यात्रा आफूहरुले पूरा गर्ने जिम्मेवारी थपिएको बताए । 

‘हामी पुष्पलालकै उत्तराधिकारी हौँ, सन्तति हौँ’ प्रचण्डले भने । कम्युनिष्टहरुका बारेमा पहिलेदेखिनै भ्रम छरिएको भन्दै प्रतिकृयावादीले छरेको त्यो भ्रम चिर्दै पार्टी एकता सम्भव भएकाले अब एकता हुनै सक्दैन भन्नेहरुलाई जवाफ दिनुपर्ने बताए । 

कीर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा नेकपा अध्यक्ष प्रचण्डसहित, नेताहरु माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरेका थिए ।

 विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप