बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो खेलमा नै नेपाललाई झड्का : कतारसँग चार विकेटले पराजित

मङ्गलबार, ०७ साउन २०७६, १० : ५०
मङ्गलबार, ०७ साउन २०७६

आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले स्तब्ध बनेको छ । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो ।

नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।

कतारलाई जीत दिलाउन इनमाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए भने कमरान खानले २२ रन बनाए ।

त्यस्तै, नोउमान सरवारले नटआउट रहँदै १५ रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्याए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो ।

नेपालका लागि ओपनरद्वय कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट शुरुवात दिलाए पनि मध्यक्रम चल्न नसक्दा सस्तोमै समेटिएको थियो ।

खड्का र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

कप्तान खड्काले १७ बलमा ४ चौका  र १ छक्काको मद्दतले २८ रन बनाए भने मल्लले २४ बलमा २३ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए ।

ऐरीले ३५ बलमा एक चौका र एक छक्का हिर्काए । अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कतारका लागि इकबार हुसेनले ३ तथा नुमान सरवार र तमुर सज्जादले २–२ विकेट लिए ।

सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता हुँदैछ । 

छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले दोस्रो खेल मलेसियासँग जुलाई २४, तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ  ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप