मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बीपीलाई सम्झिँदै काँग्रेस नेताहरुले गरे पूर्वराजादेखि विप्लवसम्मलाई कटाक्ष

सोमबार, ०६ साउन २०७६, १९ : १२
सोमबार, ०६ साउन २०७६

काठमाडौं– नेपाली काँग्रेसले विभिन्न कार्यक्रमकाबीच संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस मनाएको छ । काँग्रेस र उसका भातृ तथा शुभेच्छुक संस्थाले देशव्यापी कार्यक्रम आयोजना गरी कोइरालाको योगदानको स्मरण गरेको छ । पार्टीले ७७ जिल्लाका जिल्ला समिति, सबै भातृ संस्था र विदेशमा भएका सबै जनसम्पर्क समितिलाई बीपी स्मृति दिवसमा कार्यक्रम गर्न पत्राचार गरेको छ ।

सोही अनुसार बीपीको स्मृतिमा काठमाडौंमा मात्र ५ वटा कार्यक्रम आयोजना गरिएको थियो । यस्तै प्रदेश तीनको अस्थायी राजधानी हेटौंडामा पनि कोइरालाको स्मरण गरियो । सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु प्रमुख अथिति रहेको थिए । 

पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, नेता रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताले काठमाडौंमा भएका कार्यक्रममा बीपीलाई स्मरण गरे । यता लिगेसी नेता डा.शेखर कोइरालाले स्याङ्जाको वालिङबाट बीपीलाई सम्झिए ।

बीपीे स्मितिमा पूर्वराजादेखि विप्लवसम्मलाई कटाक्ष

काठमाडौंमा सोमबार आयोजित ‘बीपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा सभापति देउवाले बीपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

सभापति देउवाले भने, ‘बीपीको विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रुपमा स्थापित उहाँको व्यक्तित्व साच्चिकै असाधारण छ।’ राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई एकसाथ अघि बढाउनुपर्छ भन्ने मान्यतामा दृढ बीपीलाई राष्ट्रप्रति माया भएकै कारण मेलमिलापको नीति लिएर स्वदेश फर्किएको उनले स्मरण गरे । ‘मुख्य कुरा भनेको प्रजातन्त्र हो, प्रजातन्त्र विनाको समाजवाद हुँदैन भन्ने उहाँको प्रष्ट धारणा थियो,’ सभापति देउवाको भनाई थियो ।

वरिष्ठ नेता पौडेलले बीपीको विचारले नै नेपाली राजनीतलाई गाइड गरिरहेको बताए । ‘नेपाली राजनीति बीपीको विचारमा नै अघि बढि रहेको छ । वर्तमान राज्य व्यवस्था उहाँको विचारको बाटोमा छ,’ उनले भने । उपसभापति विमलेन्द्र निधिले बीपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधारअघि सारेको स्मरण गरे ।

उनले भने,‘बीपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधारअघि सार्नुभएकाले थियो । हामीले देशका लागि प्रजातन्त्र नै अपरिहार्य शर्त हो भन्ने पक्षलाई मनन गर्नुपर्छ ।’ नेता रामशरण महतले बीपी दुरदृष्टि नेता भएको भन्दै आजका नेताहरुमा दुरदृष्टिको कमी देखिएको बताए । ‘वीपीको नीतिको खिलापमा हामी छैनौं तर, वीपीको समयको आदर्श अहिले छैन । उहाँमा दुरदृष्टि थियो । त्यो दुरदृष्टि आजका नेताहरुमा कमी कमजोरी छ ।’

त्यस्तै उनले बीपी कोइराला कुनै अहम नभएको राष्ट्रवादी नेता भएको भन्दै नेपाली राजनीतिमा बीपीको योगदान बारे चर्चा गरे । महतले राष्ट्रको हितको मामलामा काँग्रेस कहिले पनि पछाडि नपरेको पनि बताए ।
यता शेखर डा.कोइरालाले मुलुकको वर्तमान अवस्थामा बीपीको विचारको कोइरालाको सान्दर्भिकता अझ बढेर गएको बताए । 

‘मुलुकको अहिलेको अवस्थालाई विचार गर्दा उहाँको सान्दर्भिकता अझ बढेर गएको देखिन्छ । उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कुरा अघि सार्नु भएको थियो । उहाँले राष्ट्रियता र प्रजातन्त्र सँगसँगै जाने कुरा गर्नु भएको थियो,’ शेखरले भने,‘सबै प्रजातान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याउनुपर्छ भन्ने नीति उहाँको थियो । मुलुकमा फेरि राष्ट्रियता र प्रजातन्त्र जोगाउन एकजुट हुनुपर्ने बेला आएको छ ।’

बीपीको विचारलाई सबैले आत्मासात गर्न नसक्दा राष्ट्रियता कमजोर भएको उनको बुझाई छ । ‘अहिले राष्ट्रियता कमजोर भएको छ । प्रजातन्त्र (लोकतन्त्र)पनि कमजोर बनाइएको छ । राष्ट्रियताको स्थान खोक्रो राष्ट्रवादले लिएको छ । लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने प्रश्न उब्जेको छ,’ शेखरले भने ।

यता प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको विजयको हिसाबले बीपीको विचारले निकै ठूलो उचाइ प्राप्त गरेको बताए । ‘अहिले मुलुकका सबै राजनीतिक दलका नेतृत्वको प्रेरणको स्रोत बीपी भएको र सबैले गौरवका साथ स्वीकार गरेको अवस्था हो, राजा र कम्युनिष्टले बीपी विचारलाई बुझेको भए यो देश र यहाँका र जनताले यति धेरै दुःख भोग्नुपर्ने थिएन,’ उनले भने ।

प्रवक्ता शर्माले आगाडि थपे, ‘राजाले समयमै बीपीलाई चिनेको भए आज उज्यालो नहुँदै नागार्जुनको जंगलमा ह्विस्की पिएर बस्नुपर्ने अवस्था आउने थिएन । बीपीले राजा र मेरो गर्धन जोडिएको छ भन्दा उहाँलाई मृत्युदण्डको माग भयो । तर उहाँले भनेको कुरो अहिले सार्थक भएको छ । राजाले उहाँको भनाइ बुझेको भए अहिले राजसंस्था समाप्त हुने थिएन ।’

बीपीलाई प्रेरणको स्रोत भन्ने कम्युनिस्टहरुले समयमा बीपीको विचारलाई नबुझ्दा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको शर्माको भनाई छ । ‘मदन भन्डारीले झापा काण्डपछि भनेका थिए–मलाई मन पर्ने खाजा मःम र मन पर्ने नेता बीपी ।  उहाँले पहिल्यै बीपीलाई बुझेको भए झापामा थुप्रै काँग्रेसलाई कम्युनिस्टले मार्नु पर्थेन,’ उनले भने, ‘प्रचन्डले प्रधानमन्त्री हुँदा सुन्दरीजलमा बीपीको कोट सुम्सुम्याएर उहाँ मेरो प्रेरणाको स्रोत भन्नु भयो । प्रचण्डले पहिल्यै बीपीलाई बुझेको भए १७ हजारकोको ज्यान जाने थिएन । थुप्रै काँग्रेसले कात्रो ओढ्नुपर्ने थिएन ।’ 

विप्लवले पनि अबको १० वर्षपछि बीपीलाई प्रेरणको भन्ने दिन आउने शर्माले दाबी गरे । ‘विप्लव अहिले जंगलमा छन् । अबको १० वर्षपछि उनले पनि बीपीलाई चिन्नेछन् । उनले पनि भन्नुपर्ने दिन आउने छ, बीपी मेरो प्रेरणा हो ।’

बीपीलाई उहिले राष्ट्रघाती मान्ने कमल थापाले पनि बल्ल बीपीलाई बुझेर अहिले बीपीको सिद्धान्त मानिरहेको शर्माको भनाइ छ । पूर्व राजादेखि विप्लव सम्मलाई बीपीलाई चिनाउने कोशिस गरेको शर्माको काँग्रेसले पनि बीपीलाई चिन्न नसकेकोख स्वीकारोक्ति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप