शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढीबाट क्षति भएको पानीको मुहान र पाइपलाइनको मर्मत गरिँदै

सोमबार, ०६ साउन २०७६, १६ : ०२
सोमबार, ०६ साउन २०७६

काठमाडौं । केही दिनअघि काठमाडौं उपत्यकामा आएको बाढीका कारण ललितपुर क्षेत्रमा बढी क्षति पुगेका खानेपानी वितरण प्रणालीहरुको काम सुचारु भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले  जनाएको छ।  

बाढीले ललितपुरको नल्लु, देवकी र बासुकी मुहानमा र फर्पिङमा पहिरो गएका कारण केही दिनदेखि ललितपुर क्षेत्रमा खानेपानी आपूर्ति हुन सकिरहेको छैन । ललितपुर क्षेत्रमा खानेपानीको अभाव चर्किंदै गएपछि केयुकेएलले देवकी र बासुकी मुहानको मर्मतलाई तीव्रता दिईरहेको जनाएको छ । 

बाढीका कारण देवकी र बासुकी मुहानमा पुरै क्षति पु–याएको थियो भने नल्लुमा करिब साढे २ किलोमिटर पाइप लाइन बगाएको थियो । केयुकेएलको ललितपुर शाखाका प्रमुख डा डोलप्रसाद चापागाईले तत्कालका लागि देवकी र बासुकी मुहानको मर्मत गरी करिब ५० प्रतिशत पानी चापागाउँको रिजर्भवायर ट्यांकीमा पानी खसाल्न सकिएको जानकारी दिए । 

‘तत्काल देवकी र बासुकी मुहानको मर्मत गरिरहेका छौं । यी दुई मुहानको मर्मत गरेर भएपनि ललितपुर क्षेत्रमा पानी वितरण गर्ने तयारी गर्दैछौं, शाखा प्रमुख चापागाईंले भने, ‘उता फर्पिङमा पहिरोले मुहान र पाइप बगाएर पुरै क्षति पु–यायो । त्यसको पनि मर्मत गर्दैछौं । तत्कालका लागि २–३ दिनभित्र नै खानेपानीको आपूर्ति सहज हुन्छ ।’

बाढीले क्षति पु–याएको मुहान र पाइपलाईनको विषयमा अध्ययन तथा अनुगमन गर्दै आएका काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा सञ्जिव विक्रम राणाले बाढीबाट मुहान र पाइपलाईनमा गरी करिब ३ करोड ७१ लाख बराबरको क्षति भएको जानकारी दिए । 

केयुकेएलले फर्पिङबाट पानी पम्पिङ गरी ललितपुरका विभिन्न सहरबजारमा खानेपानी वितरण गर्ने गरेको छ भने देवकी, बासुकी र नल्लुबाट आउने पानी ललितपुरको चापागाउँस्थित रिजर्भवायर ट्यांकीमा खसाली त्यहीँबाटै वितरण गर्ने गरेको छ ।

 फर्पिङबाट पम्पिङ गरेर ल्याइएको पानी  ललितपुरका पश्चिमतिरका केही ठाउँहरुमा समेत वितरण गर्ने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप