बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पीडितको पीडैपीडाः घरमा खानेकुरा छैन, ल्याउन सडक छैन

सोमबार, ०६ साउन २०७६, १५ : १२
सोमबार, ०६ साउन २०७६

जनकपुर–अविरल वर्षापछि केही साता पहिले आएको बाढीले धनुषाको पूर्वी क्षेत्र अवस्थित कमला नदीको तटबन्ध भत्कियो । 

तटबन्ध भत्किएपछि सिरहामा समेत बाढीले क्षति पुर्यो । बाढीको कारणले धनुषाको जनकनन्दनी गाउपालिका अवस्थित इनरुवा, फुलवरिया र मलहनियामा व्यापकरुपमा धनको क्षती भएको छ भने सर्वसाधारण अझैपनि कष्टकर जीवन जीउन बाध्य छन् । 

इनरुवा, फुलवरिया र मलहनिया तथा कमला नगरपालिकाको बडेरवा गाउँहरु अहिलेपनि जलमग्न अवस्थामा रहेको छ ।  मलहनियादेखि उत्तर र फूलवरियादेखि दक्षिण कमला नदीको बाँध (तटबन्ध) २ सय मिटर सम्म बाढीले बगाएपछि मलहनीया, इनर्वा र फुलवरिया धनुषाको मुल सडकबाट समेत वञ्चित भएको छ ।

जनकनन्दनी गाउँपालिका वडा नम्बर १ मा अवस्थित इनरुवा, फूलवरिया र मलहनियाका सयौं व्यक्तिहरु अझै पनि प्रभावित छन् । यहाँ कुनै पनि किसिमको सवारी साधान पुग्न सकिरहेको अवस्था छैन भने सर्वसाधारण ४ फिट भन्दा बढी जमेकोे पानी पार गरेर गन्तव्य तर्फ पुग्न बाध्य छन् । 

वर्ष भरिको जोहो गरेर राखिएको खाद्यान्न सामाग्री समेत बाढीले लगेपछि अहिले खान र लगाउन सम्म समस्या भएको स्थानीय ५८ वर्षिय चन्देश्वर यादवले बताए ।

अहिले जनकनन्दनी गाउँपालिका र कमला नगरपालिका लगायतका अधिकांश स्थलमा चहलपहल खासै देखिँदैन ।  कुन बेला पानी पर्ने हो भन्ने कुराले निकै चिन्तित देखिन्छन्, यहाँका स्थानीयवासीहरु । 

स्थानीय ५० वर्षीय रामेश्वर ठाकुरले करिब १ विघा खेतमा लगाएको अन्नवालीमा कमला नदीको पानी पसेको गुनासो गरे ।   उनी भन्छन्, ‘हाम्रो आस नै खेतीपाती हो, बाढीले गर्दा कमल नदीको छेउमा रहेको खेत पनि डुबानमा परेको छ । के खाने र लाउने भन्ने भएको छ अहिले ।’

स्थानीय चन्देश्वर यादवले यस्तो अवस्थामा पनि सरकारले राहत वितरणमा कुनै चासो नदिएको आरोप लगाए । 

बाढीको कारण करिब १ सय फुसको घर भत्किएको छ भने भान्सा घरका खाद्यान्न सामाग्री समेत पानीमा गलेर नष्ट भएको छ । बाहिरबाट खाद्यान्न सामाग्री ल्याउने बाटो समेत बन्द छ । यहाँका स्थानीयवासी सिरहा र भारतको जयनगरबाट दैनिक गुजारा टार्नका लागि खाद्यान्न सामाग्रीहरु आयात गर्ने गर्छन् । तर कमला नदीको तटबन्ध भत्केपछि सडक बन्द हुन पुगेको हो । 

‘गाउँबाट न सिरहा जाने बाटो छ, न त जयनगर नै । घरायसी सामान किन्न पनि ४ फिट भन्दा बढी पानी तरेर जानुपर्ने बाध्यता छ ।’ चन्द्रेश्वर यादवले बताए । 

जनकनन्दनी गाउँपालिका वडा नम्बर ६ स्थित कठाल बस्ने ५० वर्षीय रामेश्वर ठाकुरले भने, ‘हामी डुबिरहँदा र अहिलेसम्म कसरी बाच्यौँ भन्ने कुरा कसैले वास्ता गर्न आएको छैन । केही नेता मन्त्रीहरु पायक पर्ने ठाउँमा आएको हल्ला सुन्छु, तर केही गरेको वा गरिरहेको देख्न र सुन्न नसक्नु विडम्वना नै हो ।’

स्थानीयका अनुसार कमला नगरपालिका वडा नम्बर ९ बरेरवामा बाढीले बढी क्षति पुर्याएको छ । 

सदरमुकाम जोड्ने हुलाकी सडक पनि विभिन्न स्थानमा भत्किएको छ । अहिले खाद्यान्न सामाग्री जसोतसो छाक टार्नका लागि ल्याइरहेको स्थानीय अमोद मडिक यादवले बताए ।

यता प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीय प्रशासनले आफ्नो स्तरबाट एकद्वार प्रणाली मार्फत विभिन्न ठाउँमा राहत वितरणको कार्य भइरहेको जनाएका छन् । 
कतिपय ठाउँमा सडक अवरुद्ध बनेकाले राहत सामग्री लिएर प्रभावित क्षेत्रसम्म पुग्न कठीनाई भएको उनले बताए । 

औषधीको समस्या

असार महिनाको अन्तिममा आएको बाढीको कारणले अहिले विभिन्न ठाउँमा विभिन्न रोगको प्रकोप देखापर्न थालेको छ । चर्म रोग, झाडा पखाला लगायतका विभिन्न रोगका बिरामी उपचारका लागि जनकपुर अंचल अस्पतालमा आउन थालेका छन् । 

 गाउँमै पानी पसेपछि शौचालयको समेत व्यापक समस्या भएको छ । बाध्यतावश खुलै चौरमा सौच गर्नुपर्ने बाध्यता छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप