बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्लिन फिडको प्रावधान हटाउन नसकिने मन्त्री बास्कोटाको अडान

सोमबार, ०६ साउन २०७६, १४ : ३४
सोमबार, ०६ साउन २०७६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने अडान राखेका छन् ।

मन्त्री बास्कोटाले राष्ट्रिय जनता पार्टी, नेपालका सांसदद्धय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले सो विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन राख्नु भएको संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने पनि स्पष्ट पारे ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा सो प्रावधान राखेको स्पष्ट पार्दै फिर्ता लिन पनि संशोधनकर्ता सांसदद्धय कर्ण र मियाँलाई आग्रह गरे ।

नेपालको हितलाई प्रबद्र्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको सो प्रावधान हटाउन नसकिने मन्त्री बास्कोटाको तर्क छ । मन्त्री बास्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान  सयपटक छलफल गरेपनि हटाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे ।

मन्त्री बास्कोटाले क्लिन फिड मुलूकको राष्ट्रियता र रोजगारीसँग जोडिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराए । बैठकमा समितिका सदस्यहरुले क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान विधेयकबाट हटाउन सरकारसँग माग गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सबैले व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित सरकारले सो विधेयकमा क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान राखेकोमा आपत्ति जनाउँदै हटाउन माग गरे ।

उनले बाह्य पर्यटक भित्र्याएर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि क्यासिनोहरुको विज्ञापन गर्न पाउने व्यवस्था गर्न उपयुक्त हुने तर्क पनि गरे । सांसदहरुले सो विधेयक र सूचना प्रविधिसँग सम्बन्धित विषयकमा बाँझिएका कतिपय प्रावधान सच्याउन पनि सरकारलाई सचेत गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप