शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै

सोमबार, ०६ साउन २०७६, १३ : ०२
सोमबार, ०६ साउन २०७६

खोटाङ– हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । 

पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु गरिएको पदमार्ग निर्माण सम्पन्न नहुँदै भासिएको छ । छेउपट्टि फलामे रेलिङ तथा बाहिरी भागमा बगैँचासमेत रहने पदमार्गको १०० मिटर लम्बाइ र पाँच मिटर चौडाइ निर्माण शुरु गरिएको हो ।

निर्माण सम्पन्न नहुँदै भासिएको पदमार्गमा उपभोक्ता समितिले टाल्ने काम मात्र गर्न लागेको स्थानीयवासीले आरोप लगाएका छन् । ‘निर्माण उपभोक्ता समितिका पदाधिकारीले कमाइ खाने योजनाका साथ गुणस्तरहीन काम गर्दा यस्तो भएको हो’, नाम नभन्ने शर्तमा एक स्थानीयवासीले भने, ‘यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ । तत्काल सुधार नगरिए कमजोर संरचना निर्माण हुन्छ ।’

उपभोक्ता समितिले पदमार्ग निर्माणका लागि जमीन सम्याउँदा निस्किएको ‘फिलिङ’ माटोमाथि पर्खाल लगाएर ढलान गरेकाले सम्पन्न नहुँदै भासिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । ‘हलेसीलाई कसैले कमाइ खाने ठाउँ बनाउनुहुन्न’, उनले भने, ‘भासिएको ढलान पूरै उप्काएर पुनः नयाँ ढलान गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छु ।’  
                                                                                       
निर्माणको काम अन्तिम चरणमा पुगेको पदमार्गको पूरै भाग भासिएपछि उपभोक्ता समितिको चर्को आलोचना हुन थालेको छ । मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको पदमार्ग हटाएर पुनःनिर्माण शुरु गरिएको पदमार्गको बाहिरी भागमा विभिन्न प्रजातिका फूलको बगैँचा बनाउने योजना छ ।  

निर्माणाधीन पदमार्ग लगातारको वर्षाका कारण आएको बाढी पसेपछि भासिएको उपभोक्ता समितिका अध्यक्ष देवराज राईले बताए । ‘हामीले गुणस्तरीय नै काम गरेका छौँ’, उनले भने, ‘लगातारको भारी वर्षाका कारण ढलान गरिएको भाग भासिएको छ । उक्त ठाउँमा पुनः निर्माण गर्ने तयारी गरिएको छ ।’ गत असारभित्रै सम्पन्न गर्नुपर्ने उक्त योजनाको काम अहिलेसम्म पनि सम्पन्न नहुँदा हलेसी आउने भक्तजन तथा पर्यटकलाई समस्या भएको छ । निर्माणाधीन पदमार्गभरि निर्माण सामग्री थुपारिएकाले मन्दिर परिक्रमा गर्ने भक्तजनलाई समस्या भएको हो । 

बाह्रै महिना दर्शनार्थी तथा पर्यटकको भीड लाग्ने हलेसीमा साउन लागेसँगै ‘बोलबम’ मेला शुरु भएको छ । महिना दिनसम्म लाग्ने बोलबम मेलामा विशेषगरी हिन्दू धर्मावलम्बीको भीड लाग्ने गरेको छ । बोलबममा मेला भर्न आउने भक्तजन खाली खुट्टा हिँडेर मन्दिर परिक्रमा गर्ने हुँदा समस्या हुने भएको स्थानीयले बताएका छन् । यस वर्ष गत वर्षको तुलनामा भक्तजनको भीड नरहेको महन्त गोपाल गिरीले बताए ।

लामो समयको खडेरीपश्चात् परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले सडकमा क्षति पुगेपछि यस वर्ष दर्शनार्थी घटेको जनाइएको छ । अवरुद्ध सडक तीन दिनअघिदेखि मात्र पुनः सञ्चालनमा आएकाले अर्को हप्ताको सोमबारदेखि हलेसीमा भक्तजनको भीड लाग्ने अनुमान गरिएको छ । 

अवरुद्ध सडक पुनः सञ्चालनमा आए पनि अहिले हलेसी आउने भक्तजन तथा पर्यटकको सङ्ख्या न्यून रहेको होटल व्यवसायीको भनाइ छ । बोलबम मेलाका लागि तयारी गरिएको होटल अहिले खाली रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप