केन्द्रीय संस्करण
व्यङ्ग्य

असारे विकास  ः समृद्धिको प्रकाश ?

person explore access_timeसाउन ६, २०७६ chat_bubble_outline1

  ‘अब देशलाई समृद्धिको बाटोमा जानबाट कसैले रोक्न सक्दैन’ यतिखेरका प्रधानमन्त्रीदेखि पालिका प्रतिनिधिसम्मले बोल्ने  फ्रिसाइजको रेडिमेट वाक्य हो यो नेपाल सन्दर्भमा । अहिलेका सत्ताधारीजनका जिब्रा विकास र समृद्धिका  गायत्री जप्दै आरम्भ, उद्घाटन, समापनका प्रमुख अतिथिमा सिँगारिएर बर्बराउने क्रम युद्धस्तरमा जारी छ ।

जसरी कृषकलाई असार सारपूर्ण छ माना खाएर मुरीका मुरी उब्जाउने  अभियान छ त्यसैगरी वर्तमान राज्य सञ्चालक र त्यसका भोक्तालाई पनि ‘असारे विकास’ स्वसमृद्धिको प्रकाश बनिरहेको छ । जसरी पञ्चायत कालमा ‘गाउँफर्क राष्ट्रिय अभियान’ विकासको मूल फुटाउने, एसियाली मापदण्ड ‘मण्डल र मण्डले’ भद्र  शब्द भएर पनि बदनाम भए त्यसै गरी केही वर्ष यतादेखि ‘असारे विकास’ शब्दले त्यही नियति भोगिरहेको छ ।

भोलि गएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा थारा भए भने शब्दशक्तिमाथि घोर घृणा त उब्जिँदैन ? असारे भाका, असारे गीत, असारे दुधिला मकै, असारे हिलो, असारे बिहे, असारे घाम, असारे रोपार, असारे खेत, असारे आली मङ्सिरे बाली, असार पन्ध्रको दहीचिउरा, असारको केटो मङ्सिरका केटी, अनि कविकुल शिरोमणि कालिदासका ‘आषाढस्य प्रथम दिवसे’ जस्ता कालजयी काव्य र अन्य कविहरुका  असारका कीर्तिगाथामा कालो बादल मडारिन्छ कि भन्ने त्रास छ ।  विडम्बना ! आजकलका राज्य चालकले भने असारलाई सारहीन बनाएर देशको बजेटलाई जेटमा रूपान्तरण गरी विकास र निर्माणको नाममा अर्बौंको धनराशि खग्रास पार्ने  ग्रहणको रूपमा बदनाम बनाउन पुगेका छन् । 

   आर्थिक वर्ष सकिनै लाग्दा नेपाल सरकारले दैनिक विकास खर्च युद्धस्तरमा  बढाएर विश्वका सरकार सञ्चालकलाई नै अलजिल्ल पारेका छन् । महालेखा नियन्त्रक कार्यालयले असार पन्ध्रपछि देनिक एक अर्ब रूपयाँ खर्च हुँदै आएको कुरा प्रकाशमा ल्याएर  वर्तमान दोतिहाइको बलवान् सरकारको सुखी र समृद्ध नेपाल बनाउने विप्ल्याँटो अभियानलाई मजैले उजागर गरेको छ । असार पन्धपछिका दुई वारमा मात्रै  दैनिक पाँच अर्ब रूपयाँ विकासको नाममा खर्च गरेर ओली सरकारले विकास, सुशासन, पारदर्शिता र जनवादी सरकारको खिल्ली मजैले उडाउन पुग्यो । असारमा मात्र पुँजीगत खर्च चौतीस अर्ब झ्वाँम पारेर आफूनिकट ठेकदार र आसेपासेलाई रकम क्वाँम पार्ने परिवेश मजैले खडा गरिदिएछ । असारमै चालीसदेखि पैँतालीस प्रतिशत खर्च गर्ने सामथ्र्य देखाएर वर्तमान सरकारले देशलाई नै थर्कमान बनाएको परिदृश्यले आर्थिक अराजकताको चरम उछृङ्खलता  आँखैमा फुलो पार्ने हुन पुग्यो । 

यो बेला  असारे झरीमा पिचले हिलाम्ये भएको सडक महिना पन्ध्र दिनमा उप्किएर पहिलाको भन्दा पनि विरूप हुने कुकामको बहादुरी छरपष्ट भएको छ । नवनिर्मित पुलहरु हतारको काम लतार पतार भएकाले नदी र खोलामै आफूलाई समाधिस्थ गर्न पुगेका छन् । युद्धस्तरमा बनेका ट्याङ्की, धारो, कुलो, पैनी सबै चुहिने नुहिने र दुनिने बनेका छन् । त्यसैले त कतिपय कलम्चीहरु असारे विकासलाई ‘लुटाहाहरुको तिहार’ भनेर टिप्पणी दिइरहेका छन् । हुन पनि सरकारी रकम खर्च गर्ने अख्तियार पाएका तथाकथित अंशाहार गराउने ठेकेदार, चेक काट्ने एकाउन्टेन, साइटलाई ओके गर्ने बोके दाह्रीका इन्जिनियर र ओभरसियर तलदेखि माथिसम्मका राम बिर्सिएका हराम मन्त्री र कर्मचारीका लागि असारे विकास दसैँको घोर्ले खसी  बनेको बन्यै छ बा ! 

असारमा आएर बाँकी रहेको एक खर्ब सत्र करोड रूपयाँ जहाँ पायो त्यहीँ खर्च गरी बहादुरी देखाउने कुकाम सम्पन भयो । रकमान्तर गरिदएिर बाँकी बजेट आर्थिक वर्षको अन्त्यमा हुरलधुरल पार्ने कार्यादेश प्राप्त हुने बित्तिकै लुटेरा र उपलुटेराहरु सक्रिय भएर रातारात विकासको कर्मकाण्ड पूरा गर्छन् । दुई तिहाई बहुमतको सरकारले यसअघिका सबै सरकारलाई माथ गरेर असारे विकासको झारा तिराई नाथ भूमिकमा मजैले सम्पन्न गर्यो । ट्वाँ परेर हेर्ने काम हामी शासित वर्गको भएको हुँदा त्यो पनि शान्तिपूर्ण रूपमा निष्पन्न भयो । कतिपल्ट आर्थिक वर्ष फेर्न भनेर बहस नचलेको पनि होइन । तर हिउँदको बेला पानी नपर्ने भएकाले आफ्नै हात जगन्नाथ गर्न पल्किएका सेक्टर सेक्टरका एक्टरको रूपमा रहेका बिचौलिया यही बर्खायाम नै अनुकूल ठहर्याएर अथिर्क वर्ष फेर्न नदिएका अरे ।

     जानिफकारहरु भन्छन् झन्नै बजेटको पचास प्रतिशत भाग यही असारमै खन्तीखलाँस हुन्छ । विकासनिर्माणको नाममा लुटको धनमा फुपूको श्राद्ध गर्ने भाइरसहरुले वाक्कट्यार्र हुने गरी हसुर्नसम्म हसुर्छन् । रकमान्तर र स्रोतान्तरका काइते शब्दजालमा अर्थमन्त्रीहरु असारे विकासलाई सधैँ निकास दिइरहेका छन् । यसरी यस पालि पनि असारे विकास समृद्धिको प्रकाश भन्ने नारालाई उराल्दै भ्रष्ट शासक प्रशासकले डकार्ने काम सम्पन्न भएको छ ।

अब विस्तारै जनप्रतिधि पनि निवृत्तिभरणमा रिटायर हुन भनेर सबै तहका सरकारमा बहस चलाएर निर्णयमा जान बाध्य पार्दै छन् । भत्ता, तलब र अन्य खर्चमा वृद्धि गर्नपर्छ भनेर राजनीति गतिलो दुहुने भैँसी बनाउन तलदेखि माथिसम्मका प्रतिनिधिहरु जुर्मुराएका छन् । दसैँखर्च कर्मचारीको कटौती गर्नुपर्छ र किसानलाई पनि पेन्सन दिनुपर्छ नत्र भने हामीलाई पनि चाहिन्छ भन्ने बालखिल्ले पदुवाहरु हल्लीखल्ली मच्चाइरहेका छन् । असारे विकास समृद्धिको प्रकाश नभएर बेथितिको झकास भइरहेको देख्दा उखानपुरको भविष्य खतरामा छ । यसरी सदाबहार असारे विकास विनाशको वितण्डा बन्न अझ जुरे भएर हुक्काँ गरेको गर्यै छ बा !  
   

कमेन्ट

  1. July 22, 2019, 10:17 p.m. माधव पाेखरेल gojyangre
    good homouras setire sir.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...