शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउने सोमबारको ब्रत बस्नुभएको छ ? यस्ता छन् ब्रत बस्नुका फाइदै फाइदा

सोमबार, ०६ साउन २०७६, ११ : ०३
सोमबार, ०६ साउन २०७६

साउन महिना सुरु भइसकेको छ । यतिबेला धेरै मानिसहरु विशेषगरी महिला र युवती सोमबारको ब्रत बस्छन् । कतिले शिव भगवानलाई खुसी राख्नका लागि महिनाभरीका लागि सात्विक भोजन गर्ने गर्छन् । तपाईंले आस्थाका लागि बस्नुभएको ब्रतले शरीरमा विभिन्न फाइदा पुर्याउँछन् भन्ने कुरा के तपाईंलाई थाहा छ ? ब्रत बस्नुका फाइदा अनुसन्धानले पनि पुष्टि गरिसकेको छ । जर्मनीका दुई प्रतिष्ठित संस्थाको साझा शोधमा उपवाससम्बन्धि विभिन्न जानकारी सार्वजनिक भएको छ ।

शरीरलाई विभिन्न लाभः

ब्रत राख्दा वा खाना खाने प्रक्रिया बीच लामो अन्तराल राख्दा शरीरलाई विभिन्न फाइदा पुग्छ । जो व्यक्ति नियमित रुपमा खाना खान्छन् उनीहरुको चालढाल सुस्त हुन्छ तर जो व्यक्ति उपवास बस्छन् उनीहरुको बुढेसकालमा पनि सतर्कता बढ्ने गर्छ र शरीर अत्यधिक फुर्तिलो हुन्छ । यसका लागि वैज्ञानिकले बुढ्यौलीसँग सम्बन्धित दुई सय समस्यामाथि अनुसन्धान गरेको छ ।

धेरै खाँदा चाँडै ढल्छ शरीरः

अनुसन्धानमा पत्ता लागे अनुसार जो व्यक्ति कम खान्छन्, उनीहरुको शरीर धेरै समयसम्म फिट रहन्छ । सुरुमा ब्रत बस्दा शरीरले  असजिलो महसुस गर्छ तर समयसँगै शरीरलाई भोको पेट बस्ने बानी पर्छ । १२ घण्टासम्म केही नखाने व्यक्तिको शरीरमा अटोफागी नामको सफाई प्रक्रिया सुरु हुन्छ । अनावश्यक कोसिकालाई शरीरले सफा गर्न थाल्छ । भोक र ब्रत नयाँ कोसिकाको निर्माणमा फाइदाजनक हुन्छ । अटोफागीको खोजका लागि सन् २०१६ मा जापानी वैज्ञानिक योशिनोरी ओसुमीले नोबेल पुरस्कार पाएका थिए ।

सात्विक भोजनले क्यान्सरको आशंका कमः

आजकाल क्यान्सरको मामला पनि तीब्र रुपमा बढिरहेको छ । यस्तोमा उपवास बसेको दिन सात्विक भोजन गर्नुहोस् । प्याज–लसुन र मांसहारबाट टाढै रहँदा र फलको सेवनले तपाईं स्वस्थ रहनुका साथै क्यान्सरको आशंका पनि कम हुन्छ ।  ब्रत बस्दा जीवन लामो हुनसक्छ किनभने मधुमेह र क्यान्सरजस्ता रोगको खतरा पनि कम हुन्छ । साथै, ब्रत बस्नेहरु निकै हल्का पनि महसुस गर्छन् ।

तौल कम हुनेः

ब्रत बस्दा शरीरमा यस्ता हर्मोनको श्राव हुन्छ जसले फ्याटी टिस्यूलाई तोड्न मद्दत मिल्छ । अर्थात् तपाईंको तौल कम हुनसक्छ । अनुसन्धानमा यो पनि प्रमाणित भइसकेको छ कि शर्ट टर्म फास्टिङ अर्थात् केही समयका लागि ब्रत बस्दा शरीरमा मेटाबोलिजम तीब्र रुपमा बढ्छ जसले तौल घटाउन मद्दत मिल्छ ।

शरीरको शुद्धिकरणः

ब्रत राख्दा शरीर शुद्ध हुन्छ । शरीरबाट विषालु तत्व बाहिर निस्कन्छन् । ब्रत बस्दा तपाईं फलफूल र सागसब्जीको सेवन गर्नुहुन्छ । आयुर्वेद अनुसार ब्रत बस्दा शरीरमा जठराग्नी (डाइजेस्टिभ फायर) बढ्ने गर्छ । यसले पाचन बलियो हुन्छ । यसले ग्यासको समस्या पनि भाग्छ ।

स्नायु प्रणालीमा सुधार:

ब्रत बस्दा हाम्रो शरीर हल्का महसुस हुन्छ । हल्का शरीरले मन पनि हल्का हुन्छ र दिमागले राम्रोसँग काम गर्छ । समग्रमा भन्नुपर्दा ब्रतले सकारात्मक असर पुर्याउने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप