शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिपक्षी दल इतिहासकै निकम्मा देखियो: रायमाझी

आइतबार, ०५ साउन २०७६, १७ : १८
आइतबार, ०५ साउन २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालको संसदीय इतिहासमै अहिलेको जस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निकम्माको संज्ञा दिएका छन् । 

आइतबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले प्रतिपक्षी दल कमजोर भएको बताएका हुन् । उनले भने,‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि थिएन् । म त भन्छु प्रतिपक्षी दल निकम्मा भयो । कांग्रेससँग कुनै तर्क र आधार छैन् ।’ 

साक्षात्कारमा बोल्दै उनले कांग्रेसले संसद अवरुद्ध गरेकोमा पनि आक्रोश पोखे । उनले भने, ‘तर्क, सर्क केही छैन बन्द भन्यो भैगयो । सत्तापक्षका सांसदले कुरा उठाएपछि मात्रै काँग्रेसले विरोध गर्छ ।’  रायमाझीले तत्काल मन्त्रिमण्डलपनि पूनर्गठन नहुने जिकिर गरे । उनले भने,‘जनताका अपेक्षा र गुनासाहरु व्यापक छन् । त्यसैले जनताका अपेक्षा पूरा गर्नेगरि काम गर्नुपर्छ । व्यक्ति बदलेर केही हुँदैन् । सोच र दृष्टिकोण बदल्नुपर्छ ।’ उनले तत्काल प्रधानमन्त्री परिवर्तन गर्नेबारे पार्टीभित्र कुनै छलफल तथा बहस नचलेको पनि स्पष्ट पारे ।

उनले भने, ‘अहिले प्रधानमन्त्री फेर्नुपर्ने आवश्यकत्ता छैन् । वर्तमान प्रधानमन्त्रीको विकल्प छैन् । अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने भनेर कुनै छलफल भएको छैन् । प्रधानमन्त्री मात्रै होईन तत्काल मन्त्रीहरुपनि परिवर्तन हुने सम्भावना मैले देखेको छैन् ।’

रायमाझीले दुई वटा बेग्ला–बेग्लै पार्टी मिलेर नेकपा बनेकोले पार्टीभित्र केही विरोध तथा अन्तरहरु हुनु स्वभाविक भएको स्पष्ट पारे । उनले भने,‘द्वन्द्व, विवाद र अन्तरविरोध हुनु स्वभाविक हो । यसलाई मैले सहज रुपमा लिएको छु । पार्टी एकताको अधिकांश काम सम्पन्न भैसकेका छन् । जनवर्गीय संगठन र विभागहरुको नेतृत्वको कुरा छ । यो पनि अब पार्टीको नेतृत्वले चाँडै टुँगो लगाउँछ ।’ पार्टीलाई सही दिशमा अघि बढाउनको लागि ‘रोडम्याप’ पनि तयार भैरहेको उनले जनाए । 

रायमाझीले तत्काललाई पार्टीभित्र ६०–४० वा ५५–४५ को जस्तो देखिएपनि यसले निरन्तरता नपाउने जिकिर गरे । उनले भने, ‘पार्टी व्यक्तिवादी चरित्रले चल्दैन् ।’ वर्तमान सरकार विगतको जस्तो पूरानो सरकार नभएको जिकिर गर्दै अब विकास र समृद्धिको लक्ष्य हासिल गर्नेगरि द्रुत गतिमा काम गर्नुपर्ने उनको सुझाव थियो । 

उनले भने, ‘साना–साना नतिजाहरुभन्दा पनि यो सरकारले अब ठूला ठूला नतिजा दिनेगरि काम गर्नुपर्छ । अब बिस्तारै सरकारले गरेका कामका नतिजाहरु आउँदैछन् । जस्तो अहिले पाईपलाईनबाट तेल ल्याउन काम भैरहेको छ । अब क्रमशः नतिजाहरु आउँछन् । मेलम्चीको पानी पनि अब चाँडै आउँछ ।’ काठमाडौंमा धुलो, धुँवामा अहिले सुधार आएको पनि उनको दाबी छ । उनले भने, ‘विरोधको नाममा विरोध गरेर हुँदैन्, अहिले धुलो धुवाँको अवस्थामा सुधार आएको छ ।’ प्रतिपक्षी दलले कुनै कुरा नै उठाउन नसकेको उनको ठोकुवा छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर विश्वकर्माले साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुख कृष्णबहादुर महराको भूमिकामा निर्भर पर्ने स्पष्ट पारेका छन् ।  उनले भने, ‘साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुखको भूमिकामा भर पर्छ । प्रतिनिधिसभाको नियमावाली छ । यसको व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । सभामुखको भूमिका ढंगले चलेको छैन् । त्यही भएर बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नियमावालीअनुसार चल्नुभएको छ । त्यही भएर बैठक चलिरहेको छ ।’

सांसद विश्वकर्माले संसद बैठक स्थगन् गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले भने,‘अहिले जनताका दैनिक जनजीवनसँग जोडिएका विषयहरु छन्, संसद भनेको साझा थलो हो । छलफल हुनुपर्छ भनेर हामीले प्रस्ताव गरेका थियौं । तर, सरकार जनताप्रति उत्तरदायी देखिएन् ।’ उनले सभामुख महराको निर्णय क्षमतामा नै ह«ास आएको टिप्पणी गरे । 

सरकारले अहिले दिनैपिच्छे प्रतिपक्षी दललाई एउटा एउटा मुद्दा दिएको सुनाए । उनले भने,‘सरकार एकपछि अर्को गरेर विवादमा फसेको छ । जनअपेक्षाअनुसार काम गर्न सकेको छैन् ।’ विषादी प्रकरणमा वर्तमान कृषिमन्त्री चक्रपाणी खनालले देश र जनतालाई ढाँटेको उनको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप