शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनमोहक तिब्बतको ‘यामड्रोक लेक’ (फोटोफिचर)

शनिबार, ०४ साउन २०७६, १५ : ००
शनिबार, ०४ साउन २०७६

तिब्बत– चीनको तिब्बतलाई ‘संसारको छानो’ र ‘विश्वको तेस्रो खम्बा’ भनिन्छ । सबैभन्दा अग्लो अर्थात चार हजार मिटरभन्दा माथिको शहर हो तिब्बत । 

सूर्यको किरणबाट नजिकको बस्ती तिब्बतलाई संसारका उच्च हिमालय पर्वतको बस्ती पनि मानिन्छ । त्यसैले यसलाई संसारको छानोको नामले पनि चिनिने गर्छ । चिनियाँ शहरहरूमध्ये तिब्बत नेपालसँग भौगोलिक, धार्मिक र सांस्कृतिक हिसाबले पनि धेरै नजिक छ । तिब्बत हिमालय पर्वत तथा कैयौँ प्राकृतिक ताल र नदीहरूको स्रोत मानिन्छ । 

हो, यस्तै स्रोत मध्ये एक हो तिब्बतको ‘यामड्रोक लेक’ । तिब्बती भाषामा ‘याम्ड्रोक’ को अर्थ ‘माथिल्लो खर्क’ हो । तिब्बत पुग्ने पर्यटकहरु यो माथिल्लो खर्कको ताल हेर्न पनि पुग्ने गर्दछन् । तिब्बतबासीहरु यो ताललाई पवित्र ताल मान्दछन् । यो ताल दक्षिण पश्चिम ल्हासाको नान्गात्से काउन्टिको स्याननमा अवस्थित छ ।

तिब्बतमा यस्ता ठूला अरु दुई ताल छन्, नाम्त्सो ताल र मानसरोवर । खाम्बा ला बाट यो तालको मनोरम दृश्य देख्न सकिन्छ । तालको पानी निकै स्वच्छ र सफा छ । यहाँबाट भुटानको सबैभन्दा अग्लो पहाड कुला काङ्ग्रीको समेत अवलोकन गर्न सकिन्छ । 

यो तालको लम्बाई पूर्वदेखि पश्चिमसम्म १ सय ३० किलोमिटर छ भने चौडा ७० किलोमिटरसम्म फैलिएको छ । समुन्द्री सतहबाट ४ हजार ४ सय ४१ मिटरमा अवस्थित यो तालको औसत गहिराई २० देखि ४० मिटर रहेको छ । 

‘यामड्रोक् ताल’ जिम्नोसिप्रिस प्रेजवाल्स्किी नामक माछाका लागि प्रख्यात छ । यो तालका कारण माछा पालन व्यवसाय पनि राम्रो छ । यो तालको किनार चरन क्षेत्र हो । जहाँ चौरी, भेडाहरु चरनको लागि छोडिएको हुन्छ । तालको बरिपरि बस्तीहरु पनि छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप