बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पत्तै नपाई लाग्छ यौन रोग : लुकाएर बस्ने होइन, ढिला नगरी अस्पताल जाने

शनिबार, ०४ साउन २०७६, १२ : ३७
शनिबार, ०४ साउन २०७६

काठमाडौं–कुनै समय यौन रोगीलाई नेपाली समाजले निकै घृणाको दृष्टिले हेथ्र्यो । अहिले यौन रोग र रोगीलाई हेर्ने दृष्टिकोणमा केही सुधार आएको भएपनि समस्याहरु कायमै छन् । जसका कारण समयमा यौन रोगको उपचार भएको पाइँदैन ।

बिर्सन नहुने कुरा के हो भने–यौन रोगको समयमै उपचार नगरे थप समस्या निम्तन सक्छ । त्यसैले यौन रोगको लक्षण देखिना साथ बिना हिच्किचाहट उपचारका लागि अस्पताल जानुपर्ने कन्सल्टेन्ट ड्रमाटोलोजिस्ट डा रवीन्द्र बाँस्कोटाको सुझाव छ । उनै डा बास्कोटाले यौन रोग लाग्ने कारण, लक्षण, उपचार र बच्ने उपायबारे केन्द्रीत रहेर जानकारी गराएका छन् । 

के हाे यौन रोग ? 
यौन रोग मुख्यतयाः यौन सम्पर्कको माध्ययमबाट एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने रोग हो । कुनै अवस्थामा भने यौन सम्पर्क बाहेक अरु माध्ययमबाट पनि यौन रोग सर्न सक्ने सम्भावना हुन्छ । यौन रोग लागेको आमाबाट जन्मिने बच्चामा यो रोग हुन सक्छ ।

 एचआइभी पनि यौन रोग हो । यो भने रगत भएको सुईको माध्ययमबाट पनि सरेको देखिन्छ । त्यसकारण कसैलाई यौन रोग लाग्यो भन्दैमा असुरक्षित यौन सम्पर्कबाटनै लागेको भन्न मिल्दैन । तर धेरैजसो यौन रोग भने यौन सम्पर्कबाटनै सर्ने हो । यौन रोगमा भाइरस, ब्याक्टेरिया, फङ्गाइलगायतका किटाणुहरु हुनसक्छ । तिनै किटाणु एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने रोगलाईनै यौन रोग भनिन्छ । 

कस्ता व्यक्ति बढी जोखिममा हुन्छन् ?
जो व्यक्ति असुरक्षित रुपमा यौनजन्य क्रियाकलापमा लाग्ने गर्छ त्यस्ता व्यक्तिलाई यौन रोग लाग्ने धेरै सम्भावना हुन्छ । १५—१६ वर्ष देखि २८—३० वर्षका युवा बढी यौन क्रियाकलापमा लागेको देखिन्छ । यही उमेर समूहका व्यक्तिलाई बढी यौन रोग लाग्ने सम्भावना हुन्छ । 

अधिकांश युवालाई यौन रोगबारे जानकारी भए पनि आफूले जानेको कुरालाई लागू गरेको पाइँदैन ।  यौन रोगबाट बच्ने विषयमा जानकारी हुँदाहुँदै पनि उनीहरुले सावधानी अपनाएको पाइँदैन । यही कारणले पनि यो उमेरका व्यक्तिहरु धेरै जोखिममा रहेको देखिन्छ । 

यस्तै शिक्षा र यौन रोगबारे जनचेतनामूलक कार्यक्रमको कमीले गर्दा पनि यौन रोग लाग्ने गरेको देखिन्छ । यौन रोग लाग्ने बढी सम्भावना यौनकर्मीहरुमा पनि बढी देखिन्छ । सीधा अर्थमा भन्नुपर्दा जथाभावी असुरक्षित यौन क्रियाकलाप गर्दा नै यौन रोग लाग्ने हो । 

यौन रोगका लक्षण
महिला र पुरुषमा यौन रोगको फरक—फरक लक्षण देखिन्छ । महिलाको सन्दर्भमा योनीबाट सेतो, बाक्लो र गन्हाउने पानी जाने लक्षण हुन्छ । यो प्रमुख लक्षण हो । 

तल्लो पेट दुख्ने र ढाड दुख्ने समस्या पनि हुनसक्छ । साथै पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने पनि यौन रोगका लक्षण हुन् भने यौन सम्पर्क गर्दा धेरै पिडा हुने पनि यौन रोगका लक्षण हुन् ।

यी लक्षण बाहेक पनि कुनै समयमा योनीमा घाउ हुन सक्ने सम्भावना पनि हुन्छ । कुनै दुख्ने, कुनै नदुख्ने खालको घाउ हुन्छ । यसरी घाउ आउनु पनि यौन रोगको लक्षण हुन सक्छन् ।

पुरुषमा यौन रोग लाग्दा लिङ्गबाट पिप जस्तो पदार्थ बग्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब पोल्ने, दुख्ने वा नदुख्ने घाउ आउने जस्ता लक्षण देखा पर्छन् । 

समयमै अस्पताल आउनु जरुरी
यौन रोग लागेपछि बिरामी समयमानै अस्पताल जानुपर्ने हुन्छ । अर्को महत्वपूर्ण कुरा के हो भने यौन रोग लागेपनि सुरुवातको अवस्थामा लक्षण नै देखिँदैन । यौन रोग लागेको हुन्छ तर लक्षण नदेखिँदा अन्य व्यक्तिलाई पनि यौन रोग सर्न सक्ने सम्भावना हुन्छ । जब लक्षण देखिन थाल्छ त्यसपछि पनि बिरामी ढिला गरी अस्पताल पुग्छन् ।  

यौन रोग समूदायमा लुकेर बसेको रोग पनि हो । समाजका अन्य व्यक्तिले थाहा पाउने हो कि वा आफूलाई नराम्रो भन्ने होकि भन्ने त्रास अझै पनि छ । 

समाजले नकारात्मक दृष्टिले हेर्ने र घृणा समेत गर्ने हुँदा यौन रोगबारेमा अझै पनि खुलेर भन्न सक्ने र समयमा अस्पताल जान सक्ने अवस्था छैन । यस कारणले पनि यौन रोग लुकाउने गरिन्छ ।

 जबसम्म धेरै समस्या पर्दैन तबसम्म परिवारका अन्य सदस्यलाई पनि नभन्ने र उपचारमा पनि नजाने हुँदा पछि धेरै समस्या आइपर्छन् । ढिला गरी उपचारमा पुग्दा पहिला सामान्य औषधि मात्रै खाए पुग्ने ठाउँमा पछि अनेकन उपचार विधिका साथै  सुइ लगाउनु पर्ने हुन्छ । 

उपचार नगर्दा कस्ता समस्याहरु आउँछन् ?  
  यौन रोगको समयमा उपचार नगर्दा एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने सम्भावना हुन्छ । समयमा यौन रोगको उपचार नगर्दा अथवा यौन रोगलाई बेवास्ता गर्दा महिलाबाट समयमा बच्चा हुन गाह्रो हुने हुन्छ । साथै गर्भ नबस्ने, बसेको गर्भ पनि खेर जान,  रगत बग्ने जस्ता समस्या पनि देखिन सक्छ । 

गर्भवती आमालाई यौन रोग छ भने बच्चामा कुनै समस्या नभए पनि डेलिभरी हुने समयमा योनीको बाटो हुँदै जन्मिने हुँदा बच्चाको छाला, आँखा र मुखको इन्फेक्सन हुन्छ । 

यस्तो अवस्थामा आमामा भएको यौन रोग बच्चामा पनि सर्ने सम्भावना हुन्छ । पुरुषमा पनि उपचार नभएको खण्डमा बच्चा जन्माउन सक्ने क्षमता कम हुने, यौन दुर्बलता हुने जस्ता समस्या हुन्छ । सँगै यौन रोग लागेपछि धेरै सोच्दा डिप्रेशन नै हुन सक्ने सम्भावना हुन्छ । यौन रोग लागेका धेरै व्यक्तिहरु डिप्रेशनमा पनि गइरहेको अवस्था छ । 

कसरी बच्ने ? 
  यो रोगबाट बच्ने प्रमुख उपाय भनेको सुरक्षित यौन सम्पर्क नै हो । यौन रोगबाट बच्ने उपायबारे जनचेतनाको पनि जरुरी छ ।  यस्तै  धेरै जनासँग यौन सम्पर्क नगर्ने, विवाह अगाडि यौन सम्पर्क नगर्ने, यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने, यौन रोग लागेको छ भने समयमानै उपचार गराउने गर्नुपर्छ । 

उपचार पछि निको हुन्छ ?
उपचारको क्रममा लक्षणको आधारमा एन्टिबायोटीकहरु दिइन्छ । दुई तीन थरीका एन्टिबायोटीक मिसाएर दिँदा रोग छिटो निको हुन्छ ।

तर कहिलेकाहिँ एन्टिबायोटीकलेनै काम नगर्ने अवस्था आए सुई पनि लगाउनु पर्ने हुनसक्छ । उपचार पछि यौन रोग निको हुन्छ ।समयमा रोग निको हुनको लागि नागरिकले नहिचकिचाई स्वास्थ्य संस्थामा जानु पर्छ । आफ्नो समस्याको बारेमा खुलस्त भन्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप