बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कुबेतमा बिचल्लीमा परेकी महिला नेपाल फिर्ता

शनिबार, ०४ साउन २०७६, ११ : ०२
शनिबार, ०४ साउन २०७६

काठमाडौँ । दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ । 

राम्रो काम लगाइदिने आशमा छ महीनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

तामाङलाई शुक्रबार बिहान ११ः०० बजे एयरअरबिया एयरलायन्सबाट  नेपाल फर्काइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सह–सचिव रुद्रादेवी शर्माले जानकारी दिए । यस बारेमा राससले निरन्तर समाचार सम्प्रेषण गरिरहेको थियो । 

पीडित तामाङले घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको बताएपछि परराष्ट्र मन्त्रालय, महिला मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायले पहल शुरु गरेका थिए । अहिले अनुलाई छोरी सलिनाको जिम्मा लगाइएको छ । 

पछिल्लो समयमा यसरी गैरकानूनी रुपमा विभिन्न प्रलोभनमा विदेश जाने र बिचल्लीमा परेपछि सरकारलाई हारगुहार गर्ने प्रचलन बढ्दै गएको छ । महिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुबेत र साउदी अरब लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जना व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ता गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप