केन्द्रीय संस्करण

अर्थराजनीतिक दृष्टिमा बाढीपहिरो

person explore access_timeसाउन ४, २०७६ chat_bubble_outline0

     यो वर्ष पनि बाढीपहिरो र डुबानले व्यापक धनजनको क्षति गरेको छ । योक्रम विगतका वर्षहरुमा भन्दा झनै बढ्दै गएको देखिन्छ । गत सातादेखि परेको अविरल वर्षाका कारण मुलुकभर ८४ भन्दा बढीको ज्यान गइसकेको छ । यता ३२ जना बेपत्ता भएका छन् भने ३८ जना घाइते छन् । बाढीपहिरो र डुबानले ३१ भन्दा बढी जिल्ला प्रभावित भएको छ । यसबाट झण्डै १७ हजार घरपरिवार विस्थापित भएका छन् । निरन्तर वर्षे झरीको कारण विस्थापितहरुको जीवन–व्यवहार असाध्यै कष्टकर र जटिल बनिरहेको छ । 
 

   पछिल्लो समय वर्षायाम सुरु हुनेवित्तिकै आतङ्कित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ । विगत वर्षहरुमा भन्दा योक्रम अझ भयावह बन्दैगएको छ । यहाँसम्म कि जान्दा जान्दै, देख्दा देख्दै अनि भन्दा भन्दै यस्तो विपत्तिहरुको सामना गर्नु परिरहेको छ । यसलाई प्राकृतिक विपद् मात्र भनेर चित्त बुझाउने अवस्था छैन । यसको सारभूत कारणहरु पक्कै पनि हुनुपर्छ । यसकारण विपतको शृङ्खला एकपछि अर्को बढ्दै जानुको जिम्मेवार कारण के के हुन् ? धेरैलाई यसको असली कारण थाहा नहुन पनि सक्छ । कतिपयले थाहा भएर पनि स्वार्थवश अनभिज्ञता जनाइरहेको होला । तर सरकारी र जनस्तरबाट यसको कारण पहिचान गरी समाधनको दिशामा जानुको विकल्प छैन । मूलतः बढ्दो बाढी, पहिरो र डुबानको असली कारणहरु बारे यहाँ छलफल गर्ने प्रयास गरिएको छ । 

     (क) अर्थराजनीतिक कारणः  धेरैलाई अर्थराजनीतिक सम्बन्धको प्राकृतिक प्रकोपसँग कुनै साइनो सम्बन्ध हुँदैन भन्ने लाग्नसक्छ तर कुरा त्यसो होइन । वस्तुतः मानव समाजमा हुने सवै क्रियाकलापहरु अर्थराजनीतिद्वारा निर्देशित हुन्छ । यो सार्वभौम सत्य हो, तर्क होइन अर्थात वर्तमान नेपाली अर्थराजनीति जसरी पनि धेरै सम्पत्ति र नाफा आर्जन गर्ने सामाजिक पद्धतिमा आधारित रहेको छ । यस्तो अर्थराजनीतिमा साम, दाम, दण्ड र भेदको नीति उपयोग गर्दै अरूले भन्दा बढी नाफा र पैसा कमाउने एकल मनोरोगबाट हरेक व्यक्ति ग्रस्त हुन्छ । समग्र सामाजिक पद्धति नै एकाएक लोभी–पापी बनाइदिन्छ । यद्यपि यसमा व्यक्तिको दोष गौण हुन्छ । मूलतः केन्द्रीय अर्थराजनीति जिम्मेवार हुन्छ । 
 

 यो सबैभन्दा मुख्य कारण हो किनकि भौतिक संरचना विकासमा पनि लोभी पापी नजर लाग्छ । अर्थात आफ्नै स्वार्थ हेर्ने गरिन्छ । उपयुक्त स्थानमा उपयुक्त विधिबाट कुनै पनि संरचना निर्माण हुँदैन । सडकको गुणस्तरभन्दा पनि चाँडो डोजर लगाएर चाँडो नाफा कमाउने सवाल महत्त्वपूर्ण हुन्छ । त्यसो भएपछि त्यहीँबाट पहिरोको खतरा सुरु हुन्छ । यता जग्घाजमिन र भवन निर्माणमा पनि त्यहीँ हुन्छ । नाफा र पैसा कमाउने मानसिकताले खोलानाला नभनी जग्गा जमिन प्लटिङ र बिक्रीवितरण गर्नेदेखि लिएर भवन निर्माणसमेत मापदण्डविपरीत गरिन्छ । यसैको उच्चतम रूप विपत्मा अभिव्यक्त हुनथालेको देखिन्छ । लोभी पापी र स्वार्थी जीवन पद्धतिकै उपज प्राकृतिक प्रकोपलाई सुहाउँदो संरचनाहरु निर्माण भइरहेको छ । गलत या त्रुटि यहीँनेर हो ।

     (ख) भौतिक संरचना विकास अवधारणाः नेपालमा पछिल्लो समय भौतिक संरचना विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । यो सुखद् र सकरात्मक कुरा हो । तर विकास अवधारणामा कहीँ न कहीँ खोट देखिन्छ । मूलतः सडक सञ्जाल निर्माण गर्ने नाममा जथाभावी डोजरको प्रयोगले स्थिति भयावह हुँदै गएको देखिन्छ । सडक लगायतका भौतिक संरचना निर्माण गर्दा अन्य भौगोलिक धरातल, वातावरण, दिगोपना र सामाजिक–सांस्कृतिक पक्षहरुलाई नजरअन्दाज गर्ने प्रवृत्ति काहली लाग्दो रहेको छ । यस्तो विकासे नीतिले विकाससँगै विनाश निम्त्याइरहेको छ । हुँदाहुँदा यस्तो मनोविज्ञानको विकास भइरहेको देखिन्छ कि, विकास भनेको सडक हो । सडक भनेको डोजर हो । डोजर चलाए पुग्छ अनि अरू केही गर्नुपर्दैन जस्तो डोजरमेनिया देखिन्छ, जुन सरासर गलत छ ।

डोजरले उधिनेपछि सबैकुरा बनिबनाउ हल हुन्छ भने जस्तो भएको छ । यसरी जथाभावी सानोतिनो काममा पनि डोजरको प्रयोगले भू–धरातलको प्राकृतिकपनालाई तहसनहस गरिरहेको छ । भौगर्भिक रसायनलाई खल्बल्याइदिएको छ ।  असाध्यै साना साना प्रयोजनमा पनि डोजरकै प्रयोग बढिरहेको छ । उदाहरणका लागि एक डेढ सय मिटर लम्बाइको छोटो तथा सानो सडकमा पनि डोजरकै एकाधिकार छ । मोटरबाइक र कार राख्ने ठाउँ सम्याउन पनि डोजर नै । घर, पाली, चियापसल, गाइगोठ, बाख्रा, सुँगुर, कुखुरा खोर, पानी पँधेरो र कुवा खनाउन पनि डोजर नै प्रयोग गर्नुपर्ने अवस्था छ । साँचो अर्थमा भन्ने हो भने, हाल नेपालमा डोजर आतङ्क बढेको छ । सरकारको पनि डोजरले नखनेसम्म विकास होइन भन्ने मनोविज्ञान छ भने जनताको त झन नहुने कुरै भएन । यसकारण पहाडी धरातलमा डोजरको अत्याधिक प्रयोगले भूवनोटको रसायनमा गम्भीर असर गरेको छ । यसैको परिणाम पहिरो बढी जानथालेको देखिन्छ । पहिरोले खोला बाढी बढाउँछ । खोला बाढीले डुबान गर्छ, जुन हामीले अहिले भोगिरहेका छौं ।

     (ग) अव्यवस्थित सहरीकरण ः पछिल्लो समय सहरीकरण तीव्ररुपमा भइरहेको छ । सहरीकरण हुनु नराम्रो होइन । नेपालमा भन्दा विदेशमा झन धेरै पहिलानै सहरीकरण भइसकेको हो । तर फरक यति मात्र हो, विदेशमा व्यवस्थित र योजनाबद्ध सहरीकरण गरिएको थियो भने, नेपालमा अव्यवस्थित र विनायोजना गरिएको छ । यसरी विनायोजना र अव्यवस्थित रूपमा गरिएको सहरीकरण अन्तर्गत कतिपय खहरे खोला, खोल्सी, ढल, पैनी र नालीहरुलाई बेवास्ता गर्दै भवन निर्माण गरिएको छ । बहुमूल्य जग्गा अतिक्रमण गरेर जथाभावी घर, पर्खाल, छेकवार, सडक र ढलहरु बनाइएको छ । यसले खोला, खोल्सी,  पैनी र ढलहरुको प्राकृतिक बाटोहरु बन्द गरिदिएको छ । परिणामस्वरूप वर्षायाममा डुबानको जोखिम खेप्नुपरिरहेको छ । झट्ट हेर्दा सामन्य जस्तो भए पनि अली गहिरिएर नियाल्दा यो विषय निकै गम्भीर छ ।
 

   (घ) अव्यवस्थित बसोवास ः यो पनि सहरीकरणसँगै पैदा भएको समस्या हो । राजकीयरुपमा एकीकृत बस्तीको अवधारणा सबैभन्दा  वैज्ञानिक र व्यावहारिक हुन्छ । तर आजसम्म एकीकृत बस्ती योजना नारा र भाषणमा मात्रै सीमित देखिन्छ । यसले ठूलो या सानो सहर नजिकैको खोला, खहरे, ढिस्को र जङ्गल क्षेत्रमा अव्यवस्थित रूपमा बस्ती बसाल्ने संस्कृति बढेको छ । खोला, खोल्सी र नाली छेउमै घर र टहरा बनाउने लहर चलेको छ । यसरी जथाभावी बनाइएको घर टहराले एकातिर खोला, खहरे, ढल र नालीको स्वाभाविक बहावलाई रोकिदिन्छ भने अर्कोतिर सानै वर्षा र बाढीमा पनि बगाउने र डुबानको जोखिम बढी हुन्छ । अर्थात यस्तो संवेदनशील क्षेत्रमा प्रकोपको खतरा बढी हुन्छ । पछिल्लो समय बढ्दो बाढीको क्षति र डुबानको समस्यामा जथाभावी वा खोला किनारको बस्तीको बसोवास पनि जिम्मेवार देखिन्छ ।
 

   (ङ) घरजग्घा कारोबारः नेपालमा चाँडो र धेरै पैसा कमाउने माध्यम भनेको घरजग्घा कारोवार रहेको छ । यसमा धेरैको आकर्षण देखिन्छ । अधिकांशले यही घरजग्घा कारोवारबाट नै छिटो र धेरै पैसा कमाएको कथा सुनाउने गर्दछ । यो सबैभन्दा नाफादारी एवं सजिलो व्यवसाय भएको छ । यो सुखद् पक्ष हो । तर बढी नाफा र पैसा कमाउने स्वार्थले जथाभावी प्लटिङले प्रश्रय पाइरहेको छ । सहर आसपासको खहरे खोला, खोल्सा खोल्सी र जङ्गल क्षेत्रहरु पनि प्लटिङको महामारीबाट अछुत छैन । त्यस्तो ठाउँमा भवन निर्माण गरी बस्ती पनि बसालिएको छ । परिणामतः बढ्दो सहरीकरणसँगै साँघुरो भएको जमिन र खहरे खोला र खोल्सीको प्राकृतिक बहाव बन्द हुनाले बाढी र डुबान दुवैको प्रकोप बढेको देखिन्छ । यस अतिरिक्त सहरमा डुबान हुनुमा मापदण्डविपरीत बनाइने भवन, सडक र  ढल पनि उत्तिकै जिम्मेवार रहेको छ । 

     (च) असमान सन्धि सम्झौताः खास गरेर नेपालको तराई क्षेत्र डुबान हुनुमा भारतसँग गरिएको असमान सम्झौताहरु पनि जिम्मेवार देखिन्छ । यही सम्झौताको बुँदाहरु माथि चढेर उसले सीमावर्ती क्षेत्रमा बाँध बाँधेको छ । कोसी, गण्डकी र महाकाली बाँध यसको ज्वलन्त उदाहरणहरु हुन् । वर्षायाममा यी बाँधहरुमा पानीको बहाव अत्यधिक हुनेगर्छ । बाँधको ढोका खोल्ने र बन्द गर्ने विषय असाध्यै गम्भीर बन्छ । यसले सीमावर्ती क्षेत्रमा व्यापक डुबानको समस्या झेल्नु परिरहेको छ । यही बाँधको कारण बर्सेनि हजारौँ बिघा जमिन डुबानमा पर्नेगर्दछ । यसकारण डुबान समस्यामा नेपाल मात्र नभएर भारतीय पक्ष पनि जिम्मेवार रहेको छ । असमान सम्झौताहरु पनि गाँसिएको छ । यो निकै विचारणीय पक्ष हो । 

पछिल्लो समय बाढी, पहिरो र डुबानको प्रकोप अचाक्काली बढिरहेको छ । यसलाई स्वाभाविक र प्राकृतिक भनेर चित्त बुझाउने अवस्था देखिन्न । वस्तुतः उपर्युक्त सम्पूर्ण कारणहरु अर्थराजनीतिक जीवन पद्धतिले निर्धारण गर्छ । आज हाम्रो अर्थराजनीति लोभी–पापी, नाफा र कमिसनमुखी छ । यसो भएपछि नियम, कानुन, विधि, मापदण्ड र स्थायित्वको कदर हुँदैन । सार्वजनिक र खोला खोल्सीहरु व्यक्तिगत सम्पतिमा रूपान्तरण गरिन्छ । जसरी पनि धेरै र छिटो कमाउने मानसिकताले घर गर्छ अनि गुणस्तर, स्थायित्व र मापदण्डको कुरा निर्णायक हुँदैन । भौतिक संरचना विकासको अवधारणा पनि गलत छ । बढ्दो अव्यवस्थित सहरीकरण देखिन्छ । जथाभावी बस्ती बसाल्ने र घरजग्घा प्लटिङ भइरहेको छ । उता भारतीय सीमा क्षेत्रमा बनाइएको बाँध पनि त्यतिकै जिम्मेवर छ । 
 

   त्यसैले प्रकोप न्यूनीकरण चोटीलो भाषण, गुलियो नारा र स्वादिलो प्रतिबद्धताहरुले मात्र पुग्दैन । बढ्दो बाढी, पहिरो र डुबानलाई न्यूनीकरण गर्ने हो भने लोभी–पापी र स्वार्थी अर्थराजनीतिक पद्धतिलाई बदल्नुपर्छ । यो सबैभन्दा जिम्मेवार पक्ष हो । डाँडा–पाखा भत्काएर विकास गर्ने डोजरे संस्कृतिको विकल्प खोज्नु पर्छ । अर्थात विकास गर्दा अरू पक्षहरुमा पनि ध्यान दिनुपर्छ । अव्यवस्थित सहरीकरण, नदी र खहरे किनारको बस्ती र जथाभावी जग्घा प्लटिङ बन्द गर्नुपर्छ । भारतीय सीमाक्षेत्रको बाँधहरु पुनर्निर्माण गरी प्रकोपमैत्री बनाउनुपर्छ । तब मात्र बाढी, पहिरो र डुबानको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । यसमा सम्बन्धित सबैको गम्भीर ध्यान जान जरुरी छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...