शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समितिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण सुरु

शुक्रबार, ०३ साउन २०७६, १६ : ४४
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं– संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।  संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

बाढी आउनुको कारण पत्ता लगाई त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमाडौंको बाढी पीडित क्षेत्र कलंकी, बल्खु र कुलेश्वरको स्थलगत निरीक्षण गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । उनले निरीक्षण अवलोकनका क्रममा पाइएको तथ्याँकको आधारमा आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई पुनः सचेत गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

समितिले गत असार २७ गतेबाट सुरु भएको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको समस्या समाधानका लागि आवश्यक योजना तय गर्न प्रभावित क्षेत्रको सबै ठाउँमा स्थलगत निरीक्षण गर्ने योजना तय गरेको छ । त्यसैअनुसार काठमाडौंका पनि स्थलगत निरीक्षणको काम सुरु गरिएको सभापति श्रेष्ठले बताए ।

निरीक्षणको क्रममा कुलेश्वर अपार्टमेन्ट सोसाईटीले आफूहरुको करिव १ करोड ५४ लाख बराबरको क्षति भएको विवरण समिति समक्ष पेश गरेको थियो । पीडित पक्षले संसदीय समितिलाई तत्कालका लागि खानेपानी र विद्युत आपूर्तिको व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरिदिन पनि आग्रह गरेका थिए ।

यता, समितिकी सभापति श्रेष्ठले सरकारलाई बाढी पीडितको उचित व्यवस्थाका लागि आवश्यक निर्देशन दिइएको र थप व्यवस्थाका लागि पनि सचेत गराउने प्रतिवद्धता पीडित समक्ष गरेका थिइन् । बाढी, पहिरो र डुबानबाट धेरैको जनधनको क्षति भएपछि सो समितिले उनीहरुको राहतको तत्काल व्यवस्था गर्न सरकारलाई यस अघि नै सचेत गराएको थियो ।

सभापति श्रेष्ठले यो समस्याको दीर्घकालीन समाधानका लागि पनि ठोस योजना बनाएर सरकारलाई आवश्यक निर्देशन दिने गरी डुबान, बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणको कामलाई सुरु गरिएको पनि स्पष्ट पारेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप