केन्द्रीय संस्करण
विचार

काठमाडौँ उपत्यकामा उत्पन्न सङ्कट, हाम्रो विकासको ‘मोडल’ र समाधान

person explore access_timeसाउन ३, २०७६ chat_bubble_outline1

काठमाडौँ– हामी केटाकेटी हुँदाको काठमाडौँ र अहिलेको काठमाडौँ तुलना गर्दा कहीँकतै विकास भएको देखिँदैन । काठमाडौँमा जसरी घर थपिएका छन्, सडक थपिएका छन्, त्यसलाई विकास भन्न सकिँदैन । जसकारण काठमाडौँ समस्याको चाङ छ । यता यहाँको वायुप्रदूषण पनि विकराल समस्याका रूपमा देखापरेको छ । यो काठमाडौँबासीको लागि सङ्कट हो ।

काठमाडौँमा देखिएका समस्याबारे विश्वविद्यालय तथा अध्ययनहरुले रिपोर्ट निकाल्छन् । हामी हेर्छौँ, पढ्छौँ र आफ्नो धारणा बनाउँछौँ । मेरै कार्यालय (एमपी अफिस) ले मेरै अगुवाइमा गरेको काठमाडौँको वातारणबारे गरेको पछिल्लो अध्ययनले भन्छ, यहाँको प्रदूषण कल्पना गर्न नसकिने अवस्थामा पुगेको छ । काठमाडौँमा हावामा रहेको प्रदूषणबारे ‘एयर पोलुसन इन्डेक्स’ को आधारलाई आधिकारिक मान्न सकिन्छ ।

यसको अर्को भाग भनेको यहाँको वातावरणको अवस्था कस्तो छ भनेर मात्र होइन, यहाँको भौगोलिक बनावट कस्तो छ भनेर पनि हेर्न सकिन्छ ।

काठमाडौँ वरपर रहेको पहाड नभएको भए यहाँको वायुमण्डलमा रहेको धुलो–धुवाँलाई हावाले उडाएर लैजान्थ्यो । वरिपरि डाँडाले घेरिएको कचौराजस्तो छ काठमाडौँ । काठमाडौँ कचौराजस्तो भएको हुँदा यहाँको प्रदूषित वायुमण्डल यही रहने भयो । अझ जाडो मौसममा त यहाँको वायुमण्डलमा रहेको फोहोर डेग चल्दैन । हुरी, वर्षात भयो भने बल्ल काठमाडौँको आकाश सफा देख्न पाइन्छ । हुरीले वायुमण्डलमा रहेको प्रदूषणको तह उडाएर लग्दिन्छ, पानीले जमिनमा झार्दिन्छ । 

पछिल्लो समयमा विश्वको सबैभन्दा प्रदूषित दिल्ली, ढाकालगायतका सहर भनिए पनि त्यहाँ भन्दा पनि काठमाडौँ प्रदूषित देखियो । प्रदूषित सहरको नम्बर १ मा काठमाडौँको एकाध स्थान तलमाथि भइरहन्छ । तर हाम्रो विकासको मोडल यही रहने हो भने काठमाडौँ १ नम्बरमा स्थिर भएर बस्ने कुरा पक्का छ ।

काठमाडौँको वातावरणबारे जति अध्ययन गरे पनि अवस्था एकदम खराब छ । हामी काठमाडौँवासी सङ्कटमा छौँ । अब यसमा अलिअलि सुधारका काम गरेर पुग्दैन ।

काठमाडौँमा प्रदूषण बढ्नुका थुप्रै कारण छन् । कचौराजस्तो अवस्थाले मात्रै यस्तो भएको होइन । यहाँका निर्माणाधीन सडक वायुप्रदूषणको प्रमुख कारण हो । अर्को कुरा यहाँको सडकमा कति सवारी साधन हिँड्छ भन्ने हो । यहाँको वातावरणले धेरै मान्छेमा अनेक रोग  लाग्ने गर्छ । जसमा हृदयाघात, तनाव, श्वासप्रश्वास लगायत रहेका छन् ।

यसले बालबालिका सबैभन्दा बढी प्रभावित छन् । म दुई छोरीको बाऊ हुँ । मेरा छोरीहरु इँटा भट्टाको चिम्नीमा हुर्किरहेका छन् । नयाँ खोज, अध्ययनले अझै धेरै समस्या पहिचान हुँदैछन् ।

 सडक विस्तार कि फुटपाथ विस्तार ?

काठमाडौँमा वातावरण समस्या कम गर्नका लागि धेरै काम गर्नुपर्ने हुन्छ । प्रमुख काम फुटपाथको पुनस्र्थापना र विस्तार हो । कानुनअनुसार हामीले हिँड्दै आएको फुटपाथको चौडाइ दुई मिटरभन्दा बढी हुनुपर्छ ।

काठमाडौँ उपत्यकाको बाहिर सडक छ । त्यो सडकमा दुई पइन्टदेखि दुई पइन्ट पाँच मिटर फुटपाथ अनिवार्य हो ।

यस्तै महानगरपालिकाले बनाउने रोड कुरा गर्दा मार्टिन चौतारीबाट थापाथली वा बबरमहल जानका लागि प्रयोग गरिने सडकलाई लिन सकिन्छ । यसमा वान पइन्ट फाइप मिटर फुटपाथ हुनुपर्छ । तर हामीले काठमाडौँमा यस्तो बाटो देख्न दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ ।

पछिल्लो समयमा विदेशका ठूला सहरमा सडकको लेन घटाएर फुटपाथ बढाएको पनि देखियो । सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउँदै लगियो । यसले पनि मैले अघि भने जस्तै फुटपाथ पुनस्र्थापना र विस्तार आयोजनाको आवश्यकता पुष्टि गर्छ । काठमाडौँमा सडक विस्तारभन्दा पनि फुटपाथ विस्तारलाई प्राथमिकता दिनुपर्छ । सडक विस्तारले काठमाडौँ सुन्दर हुन्छ भन्ने भ्रम छाडेर फुटपाथ विस्तारले काठमाडौँ सुन्दर बन्छ भन्ने सत्यलाई स्वीकार्नुपर्छ ।

सुन्दर, सफा, सभ्य भनिएका ठूला सहरको अध्ययन गर्दा त्यहाँ फुटपाथ चौडा देखिन्छ । सडकभन्दा चौडा फुटपाथ न्युयोर्कमा मात्र हैन छिमेकी मुलुक भारतको बैङ्गलोरमा पनि देखियो । बैङ्लोरमा सडकको लेन घटाएर फुटपाथको लेन बढाएको पाइन्छ ।  पैदल बाटो पुनस्र्थापनाको लागि छुट्टै आयोजना हुनुपर्यो । त्यसैले त हाम्रो पहिलो प्राथमिकता काठमाडौँलाई उपत्यका सडक विस्तार आयोजना होइन फुटपाथ पुनस्र्थापना आयोग चाहिएको छ ।

सरकारको तर्फबाट फुटपाथ पुनस्र्थापना आयोग स्थापना गर्नुपर्यो । हामी सडक विस्तार, सडक विस्तार भनिरहेका छौँ । यो ठीक छ । तर सडक विस्तार गर्दा गाडी गुड्ने बाटो होइन,  अब फुटपाथ विस्तार गर्नतिर लाग्नुपर्छ । काठमाडौँमा फुटपाथ पुनस्र्थापना भन्ने समय आएको छ ।

नयाँ बनाउँदा मैले माथि भने जस्तै सडक विस्तार गर्दा जुन मापदण्ड तोकिएको छ, त्योभन्दा विपरीत बनाउन नपाइने र पहिले बनाइसकिएको ठाउँमा पुनस्र्थापना गर्यो भने  समस्याको हल हुन्छ ।

हामीले विभन्न मुलुकमा देखेका छौँ । हाम्रोमा पनि सम्भव छ । त्यसका लागि हाम्रो सोचाइमा बदलाव चाहियो । हामीले सडक विस्तार आयोजनाभन्दा पहिलो फुटपाथ विस्तार वा फुटपाथ पुनस्र्थापन आयोजना चाहिएको छ भन्नेकुरालाई स्वीकानुपर्यो । काठमाडौँमा केही ठाउँमा सुन्दर फुटपाथ छ, सिंहदरबारको पश्चिमपट्टिको बाटो उदाहरण हो ।

अब यस्तै फुटपाथ अन्त पनि विस्तार हुनुपर्यो । फुटपाथ पुनस्र्थापना र विस्तार भए ट्रमा सेन्टर थपिरहनुपर्दैन । यसैले हामी सोचौँ, ट्रमा सेन्टर विस्तार गर्दै जाने कि  फुटपाथ विस्तार ? फुटपाथ व्यवस्थित भए दुर्घटना घट्छ । यसैले बाटो फराकिलो बनाए सबै समस्या समाधान हुन्छ भन्ने सोच बदलौँ । चौडा फुटपाथ छ, खानेपानीको पाइप, ढलको पाइप, बिजुलीको तार यावत कुरा फुटपाथको मुनि विच्छ्याइएको छ । हामीलाई पनि अवसर छ । खानेपानीको पाइप बिछ्याउने काम भइरहेको बेला छ, ढलको र बिजुलीको तार बिछ्याउने योजना छ । अब फुटपाथ विस्तार गरी सबैथोक फुटपाथ मुनिबाट विस्तार गरौँ ।

अझै १० वर्ष धुलो र हिलोमय हुन्छ

अहिले काठमाडौँमा मेलम्ची खानेपानीको काम चल्दै छ । यो काम अझै पाँच वर्ष चलिरहन्छ । यसपछि एसियाली विकास बैङ्क काठमाडौँमा ढल हाल्ने योजना बनाएर बसेको छ ।

पहिले मेलम्चीको खानेपानी पाइप राखिसक्ने, त्यसपछि सबै ठाउँमा ढल हाल्ने एडीबीले बताउँदै आएको छ । अर्को १० वर्षसम्म काठमाडौँ ढल हाल्न व्यस्त हुने अनुमान गर्न सकिन्छ । विद्युत प्राधिकरणले तारलाई जमिनमुनिबाट लैजाने योजना बनाएको छ ।

यसैबीच सडक विस्तारको कामले निरन्तरता पाइरहन्छ । अहिले पनि हरेक विकास निर्माणसम्बद्ध निकायमा सडककै माग छ । मेरै अफिसमा पनि सबैभन्दा धेरै सडककै माग छ ।

स्थानीय, प्रदेश, सङ्घीय तीनै तहका सरकारले सडकमै बजेटको उल्लेख्य हिस्सा खन्याउँदै छन् । यसैले अर्को १० मात्र हैन २० वर्ष काठमाडौँको धर्ती खन्ने र पुर्ने काम रफ्तारमा हुने देखिन्छ । हाम्रो विकासको ‘मोडल’ सामान्य रहेको छ । सरकारले नै सडक विस्तार गरी विकास गर्ने नीति छ । सडक विस्तारका लागि हामीले अर्बौं अर्ब रूपैयाँ विनियोजन हुँदै आएको छ ।

सङ्घ, प्रदेश तथा स्थानीय सरकारलगायत सबैको एउटै उद्देश्य सडक विस्तार गर्ने रहेको छ । अहिलेसम्म मेरो कार्यालयमा आएको सबैभन्दा बढी निवेदन बाटो विस्तारको छ । यस्तै, सबैभन्दा बढी गुनासो निर्माण हुँदै आएको बाटो समयमा विस्तार भएन भन्ने छ ।

काठमाडौँमा सबै एजेन्सी बाटो विस्तार गर्ने काममा छन् । बाटो विस्तार भयो भने एक ठाउँबाट अर्को ठाउँमा जान सजिलो हुन्छ । त्यो पनि मान्छे होइन गाडी र गाडीले मान्छे बोक्ने काम गर्छ । एउटा अध्ययनले देखाएको तथ्याङ्कअनुसार अबको १० वर्षपछि काठमाडौँको सडकमा सवारीको चाप १ सय ७१ प्रतिशतले बढ्ने छ । किनकि यो अवधिमा हामी बाटो विस्तारमा नै अधिक खर्च र समय लगाउँदै छौँ ।

मसँग अमेरिकाको एउटा अध्ययन प्रतिवेदन छ । अमेरिकाको क्यालिफोर्नियामा भएको अध्ययनअनुसार बाटो जति विस्तार हुँदै गयो, त्यति नै मात्रामा सवारी साधनको सङ्ख्या बढ्दै जान्छ । जति सवारी साधन बढ्यो त्यति नै मात्रामा यसले पार गर्ने दूरी बढेको हुन्छ । अर्थात, सडक विस्तार हुनु भनेको सवारी गुडाउने काम विस्तार हुनु हो । यसबाट काठमाडौँमा जति सडक विस्तार हुँदै गयो त्यति नै मात्रामा सवारी चाप बढ्दै जाने हो ।

ट्राफिक जाम बढ्दै जान्छ । हामीले १० वर्ष सडक विस्तार गर्यौँ भने त्यहीअनुपातमा सवारी चाप र ट्राफिक जामका समस्या बढ्दै जानेछन् । हामी ट्राफिक समस्या कम होस्, आवागमन सहज होस भनेर सडक विस्तार गर्दैछौँ तर यसले झन नसोचेको समस्या उत्पन्न गराउँदै जानेवाला छ । वातावरणमा नसोचेको समस्या र सङ्कट उत्पन्न हुनेवाला छ ।

समन्वयको खाँचो

हामीले काठमाडौँमा मोनोरेल, मेट्रोरेलका सपना सुन्दै आएका छौँ । संविधानले सम्पत्तिको हकसम्बन्धी अधिकार दिएको छ । यसैले चावेल–जोरपाटी सडकको विस्तार अलपत्र छ । विवाद अदालतमा विचाराधीन छ । सडकमा आउजाउ गर्ने र स्थानीयले सास्ती खेप्न परेको छ । काठमाडौँमा विकास गर्ने भन्दैमा व्यक्तिले घर भत्काउन दिने कुरा भएन । मेट्रोरेल, मोनोरेलका सपना देखाइए पनि त्यो तत्काल सम्भव छैन । सम्भव के छ भन्दा बस स्टिम नै हो । काठमाडौँमा बस स्टिम चल्छ, चलाउन सकिन्छ । बस स्टिमको नेटवर्क बनिसकेको छ । मैले अघि भने कुरा यहाँ आएर लागू हुन्छ ।

सडक सानो बनाउँ, फुटपाथ फराकिलो बनाउँदा मान्छे हिँड्न सजिलो हुन्छ । सडकमा बस कुदाउने प्राथमिकता दिँदा गाडी कम हुन्छन् । कम गाडी हुँदा अहिले भएको सडक हामीलाई काफी हुन्छ । बसमा पनि विद्युतीय बस छनोट गर्नुपर्छ । यसैले अहिले गर्न सक्ने काममा ध्यान दिनु जरुरी हुन्छ ।

तर हाम्रो विकासको अवस्था कस्तो छ भने काठमाडौँ महानगर मोनोरेलको कुरा गर्छ, ललितपुर महानगरले साइकल लेनलाई प्राथमिकता दिएको घोषणा गर्छ । तर हामीले बसको कुरा गरिरहँदा यसले भने समस्या हुने देखिएको छ । 

काठमाडौँ उपत्यकामा विकास गर्न सजिलो होस् भनेर काठमाडौँ, भक्तपुर र ललिपुरलाई छुट्टाछुट्टै इकाई बनाइएको हो । त्यसैले अब काठमाडौँ उपत्यकामा अहिलेको सङ्कट वा समस्याबाट बाहिर निस्किन, सहज आवागमनको लागि एकीकृत विकास योजना चाहियो । काम गराइमा समन्वय नहुँदा थप समस्या भइरहेको छ । हेर्दा काठमाडौँ बाटो बनाउने काममा व्यस्त छ । सबै एजेन्सी काठमाडौँमा माटो खोस्रिरहेका छन्, पुरिरहेका छन् । एकअर्कासँग समन्वय गरेर हैन प्रतिस्पर्धा गरेर माटो खनिरहेका छन् । यसले काठमाडौँको सुन्दरता विस्थापित गरेको छ । काठमाडौँको सौन्दर्यमा  खलल पुर्याएको छ ।

निर्माणमा ढिलासुस्तीले पनि वायु प्रदूषण, मान्छेलाई सास्ती थपेको छ । लागत अनुमानभन्दा कम रकममा ठेक्का कबोल्ने, एउटै ठेकेदारले धेरै बाटो निर्माणको जिम्मा लिने र समयमै पूरा नगर्ने समस्या छ । यसले केकस्ता कष्ट भोग्न परेको छ, सबैलाई थाहा छ । अलि गहिरो गरी कुरा बुझ्ने हो भने यसले भ्रष्टाचारको जरा झन् मजबुत पारेको छ ।

सार्वजनिक बसको विस्तार

हामीले तत्काल गर्न सक्ने सार्वजनिक बसको विस्तार नै हो । यसका लागि विदेशीसँग हात फैलाउनु पर्दैन । बढीभन्दा बढी सार्वजनिक बस चलाउन सके ट्राफिक जामका साथै वायु प्रदूषणको समस्या कम गर्न सकिन्छ ।

बसका लागि छुट्टै लेन छुट्याउन सके बसबाट मोटरसाइकलभन्दा चाँडै गन्तव्यमा पुग्न सम्भव छ । यसमा पनि समयको मागअनुसार विद्युतीय बस छनोट गर्नुपर्छ । विद्युतीय बसका लागि आवश्यक ‘चार्जर सेन्टर’ निर्माण गरी धान्न सकिन्छ । नेपाल इलेक्ट्रोनिक इन्क्वाइरीको तथ्याङ्क हेर्ने होे भने अबको तीन वर्षमा विद्युत प्राधिकरणले विद्युत खपत बढाउने योजना ल्याउनपर्ने अवस्था छ । यसैले विद्युतीय बसका लागि बिजुलीको अभाव हुने छैन ।

निजी सवारीभन्दा चाँडै विद्युतीय बसमा चढेर गन्तव्यमा पुग्न सकिन्छ भने निजी सवारी हुनेले पनि सधैँ आफ्नो सवारी प्रयोग गर्दैनन् । सस्तो र सुलभ सार्वजनिक यातायातकै प्रयोग गर्नेछन् । मानौँ कुनै व्यक्ति कालिमाटीबाट कमलपोखरीको कुनै बैङ्कमा काम गर्छ । विभिन्न ठाउँमा ट्राफिक छल्दै ऊ मटरसाइकलमा त्यहाँ आइपुग्न ४० मिनेट लाग्छ । उसको वार्षिक न्यूनतम खर्च करिब ४५ हजार हुन आउँछ । उसलाई सार्वजनिक बसमा आउँदा भने ३४ मिनेट लाग्छ । ३४ मिनेटमा आइपुग्दा उसको जम्मा वार्षिक खर्च १८ हजार हुन्छ ।

मान्छेले यो अप्सन चुज गर्न भन्ने मेरो भनाइ हो । सार्वजनिक गाडी मात्र चल्न थाल्यो भने निजी गाडी आफै कम हुन्छन् । जसले ट्राफिक व्यवस्थापन पनि सहज बन्छ, प्रदूषण पनि कम हुन्छ । सार्वजनिक बसमा आउँदा गन्तव्यसम्म पुग्दा केही समय हिँड्नु पर्ने होला । बस स्टेसनबाट आफ्नो ठाउँमा पुग्नलाई १०, १५ मिनेट नहिँड्नु पर्ने कुनै ठाउँ पनि छैन । विदेशमा पनि यस्तो स्टिम छ ।

ठेक्का दिने परिपाटी परिमार्जन

समस्या समाधानका लागि विदेशकै अध्ययन गरी एउटा निष्कर्षमा पुगेको छु । ठेक्का गर्दा सबैभन्दा कम रकम कबोल्नेलाई नै निर्माणको जिम्मा दिने अहिलेको परिपाटीमा परिमार्जन गर्नुपर्छ । ठेक्कामा प्रतिस्पर्धा गराउँदा रकम मात्र हैन समय पनि कबोल्न लगाउने कुरामा ध्यान दिन जरुरी छ ।

हामीले समयको लागत पनि हिसाब गर्ने गर्नुपर्छ । कसैले रकम कम कबोलेको भए पनि समय बढी लगाउने भए हिसाब निकाल्ने र हिसाब निकाल्दा रकम बढी भए पनि चाँडै काम सम्पन्न गरी किफायती हुने हिसाब आए त्यसैलाई ठेक्का दिने गर्नुपर्छ ।

समय बढी लगाए हरेक दिनको लागत कति पर्ने हिसाब निकालिएको छ, त्यसैअनुसार जरिवाना गर्ने अभ्यासलाई कडाइका साथ पालन गरिए निर्माणमा देखिएको अहिलेको अराजकता नियन्त्रण हुन्छ । 

(नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद गगनकुमार थापाद्वारा बिहीबार मार्टिन चौतारीमा प्रस्तुत विचारको सम्पादित अंश ।)

कमेन्ट

  1. July 19, 2019, 6:52 p.m. uttar Regmi
    Agree with you.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...