बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओली बालुवाटारमा असुरक्षित भए सैनिक मुख्यालयमा गएर बसे हुन्छ’

शुक्रबार, ०३ साउन २०७६, १६ : ०९
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं– नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त  जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आइसकेको बताएका छन् ।

शुक्रबार रिपोटर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् । 

उनले सरकार र विप्लववीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधमा रहेको पनि टिप्पणी गरे । उनले भने,‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’

उनले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरा पनि औंल्याए । उनले भने, ‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ ।’ उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गरे । गजुरेलले भने, ‘प्रतिबन्ध लगाउनु नै हुँदैनथियो । संविधानमा पनि यो कुरा निषेध गरिएको छ ।’ 

एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले सुनाए । उनले भने,‘घट्ना हुनु दुःखद् हो । त्यस घट्नामा संलग्न दोषीलाई बरु अदालती कारबाही गरेको भए हुन्थ्यो ।’

उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राख्न सुझाव समेत दिए । उनले भने, ‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन् । यो गलत छ ।’ 

गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोखे । उनले भने,‘सरकारले शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएन । विप्लवजीहरुसँग कि त राजनीति छोड्नुपर्ने विकल्प हुन्छ कि त भूमिगत हुनुपर्ने । होइन भने बादलहरुजस्तै आत्मसमर्पण गर्नुपर्ने थियो । तर, राजनीति गर्नेले त्यसो गर्दैन । भूमिगत भएर पनि राजनीति सञ्चालन गर्नुपर्छ ।’

वर्तमान सरकारले सुनियोजित ढंगले अहिलेको परिस्थिति सिर्जना गरेको उनको गम्भिर आरोप छ । अहिले सरकारले फेक इन्काउन्टरको नाममा निहथ्था नागरिकको हत्या गर्ने काम गरेको पनि गजुरेलले अरोप लगाए । उनले भने,‘यस्तो खालको हत्या त जनयुद्ध र पञ्चायताकालिन अवस्थामा पनि हुँदैनथियो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप