बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवलाई संगठन र माधव नेपाललाई विदेश विभाग दिन अध्यक्ष ओली सहमत !

शुक्रबार, ०३ साउन २०७६, १२ : २५
शुक्रबार, ०३ साउन २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा सबैभन्दा शक्तिशाली विभाग मानिएको संगठन विभागको प्रमुख वामदेव गौतमलाई दिने करिब–करिब सहमति भएको छ ।

३२ विभागको भागबन्डामा सङ्गठन विभाग तत्कालिन एमालेको कोटामा परेको थियो । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पूर्व एमालेका नेताहरुको बैठकले संगठन विभागको जिम्मेवारी नेता गौतमलाई दिन सहमत भएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता गौतमलाई संगठन विभाग र विदेश विभाग प्रमुखको जिम्मा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिन करिब–करिब सहमत भएका हुन् ।

नेता नेपाल यसअघि पनि एमालेमा विदेश विभाग प्रमुख थिए । बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, नेता गौतम लगायतका नेता सहभागि रहेको स्रोतले बतायो ।

तत्कालिन एमालेमा शक्तिशाली मानिने नेता गौतम बर्दियाबाट चुनाव हारेपछि भूमिकाबिहीन छन् । उनले पार्टीमा सक्रिय रहने गरी आफूलाई राम्रो जिम्मेवारी दिन अध्यक्षद्वयलाई आग्रह गर्दै आएका थिए । पार्टीमा संगठन, स्कूल, विदेश, प्रचार, अर्थिक विभागलाई शक्तिशाली विभाग मानिन्छन् । तत्कालिन एमालेको भागमा परेका अन्य विभागहरुको नेतृत्व कसलाई दिने भन्नेबारेमा पनि मोटामोटी सहमति भएको बताइएको छ ।

नेकपामा यस्तो देखियो शक्तिसन्तुलन

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३२ विभागमा तत्कालिन एमाले १८ र तत्कालिन माओवादीले १४ विभागको नेतृत्व लिने गरी सहमति गरेका थिए । बिहिबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाललाई अर्थ तथा योजना विभागको प्रमुख बनाउनेबारे छलफल भएको थियो ।

तत्कालिन माओवादीको कोटामा परेका विभागको नेतृत्व कसले लिने भन्ने टुङ्गो लागेको छैन । पार्टी अध्यक्ष प्रचण्ड अस्वस्थ भएका कारण तत्कालिन माओवादीले आफ्ना भागमा परेका विभाग र आयोगको नेतृत्व टुंगाउन नसकेको स्थायी कमिटीका एक नेताले बताए ।

तत्कालिन माओवादीको भागमा शक्तिशालि मानिने प्रचार विभाग र आर्थिक विभाग परेको छ ।

स्रोतका अनुसार पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई अध्यक्षद्वय ओली र प्रचण्डले प्रचार विभागको नेतृत्व लिन आग्रह गरेका छन् । तर श्रेष्ठले प्रचार विभाग नलिने भनेपछि तत्कालिन माओवादीको भागमा परेको यो विभागको जिम्मा कसलाई दिने भन्नेबारे सहमति जुटेको छैन । नेता श्रेष्ठले स्कूल विभागको प्रमुखमा दावी गर्दै आएका छन् ।

स्रोतका अनुसार बिहिबार बालुवाटारमा पूर्व एमाले वृत्तका नेताहरुको बैठकमा नेता पोख्रेलले आफूलाई स्कूल विभागको जिम्मा दिन अध्यक्ष ओलीलाई दबाव दिएका थिए । तर, अध्यक्षद्वय, महासचिव र बहालवाला मन्त्रीलाई विभागीय जिम्मेवारी नदिने सहमति भएको भन्दै अध्यक्ष ओलीले पछि छलफल गर्ने बताएका थिए ।

नेकपामा अन्य विभागमा भागबन्डा भएको बताईएपनि स्कूल विभागको नेतृत्व तत्कालिन कुन पार्टीले लिने भन्नेबारे भने सहमति नजुटेको एक नेताले बताए । ती नेताका अनुसार स्कूल विभागमा प्रवक्ता श्रेष्ठ र नेता पोख्रेलको दावी रहँदै आएको छ ।

यस्तै, अर्को शक्तिशाली मानिने आर्थिक विभागको प्रमुखमा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई बनाउनेबारे पूर्व माओवादी वृत्तमा करिब–करिब सहमति भएको छ ।

तत्कालिन दुवै पार्टीको कोटामा परेका विभाग, आयोगको नेतृत्व र सदस्यहरुको नामावली टुङ्गिएपछि ५ गते बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप