केन्द्रीय संस्करण

‘औद्योगिक हब’ बन्दै बाँके

person explore access_timeसाउन २, २०७६ chat_bubble_outline0

–काशीराम शर्मा

बाँके– वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा ल्यायो । औद्योगिक घराना ‘चाचान’ समूह जय बागेश्वरी सिमेन्ट उद्योगमार्फत पश्चिम नेपालमा प्रवेश गर्यो । 

भैरहवामा छड उद्योग चलाइरहेको अम्बे समूहले त्यहाँको प्लान्टभन्दा ठूलो क्षमताको अम्बे स्टील उद्योग जानकी गाउँपालिकामै स्थापना ग¥यो । यस उद्योगको पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने उत्पादनको तयारी भइरहेको छ । रु ३ अर्ब लगानीमा बनेको छड उद्योग पश्चिम नेपालकै सबैभन्दा ठूलो हो ।

विगत साढे दुई दशकदेखि खानेपानीका ट्याङ्की उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इण्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुरबाट पनि ट्याङ्की उत्पादन थाल्ने भएको छ । कोहलपुर नगरपालिकाको पिपरीमा १४ कट्ठा जमीन लिएर उसले पूर्वाधार निर्माणको काम शुरु गरिसकेको छ । 

वासुदेवपुरमा पाँच तारे होटल सोल्टी पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ भने देशकै सबैभन्दा ठूलो भाटभटेनी सुपरमार्केट सन् २०१९ भित्रै नेपालगञ्जको कारकाँदोमा सञ्चालन हुने तयारीमा छ । अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ । पश्चिम नेपालको ‘ट्रान्जिट’ बाँकेमा ठूला औद्योगिक समूहको आकर्षण बढेको यी तथ्यले पुष्टि गर्छन् । 

राज्यको पुनःसंरचनासँगै बाँकेले प्रशासनिक र राजनीतिक शक्ति गुमाएको छ तर, पश्चिम नेपालको ‘आर्थिक हब’ बन्ने दौडमा ऊ छ । पूर्वमा मात्र केन्द्रित उद्योगहरु एकपछि अर्को गर्दै बाँकेमा खुल्न थालेका छन् । राजनीतिक स्थिरतापछि देशभर लगानीको वातावरण बन्दै जाँदा त्यसको प्रत्यक्ष फाइदा बाँकेलाई पनि मिलेको छ । 

राजनीतिक स्थिरतासँगै बाँकेमा ठूला उद्योग सञ्चालनको सङ्ख्या बढ्दैछ । बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै रहेको पाइन्छ । यो गाउँपालिका नेपालगञ्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमै लहरै उद्योगहरु स्थापना भएका छन् । 

ठूला उद्योग स्थापना हुन थालेपछि बाँके लगानीका लागि अब्बल क्षेत्र हो भन्ने सन्देश देशभर प्रवाह भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । द्वन्द्वकालमा बाँकेले गुमाएका पुराना उद्योग पुनःस्थापना भएको र नयाँ स्थापना हुने क्रम तीव्ररुपमा बढेको उनको बुझाइ छ । 

स्थानीयदेखि देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र ऊर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ, बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’ उनी भन्छन् । बाँके जिल्ला लगानीकर्ताका लागि आफैंमा ‘सुनौलो’ ठाउँ भएको श्रेष्ठको भनाइ छ । 

राजनीतिक अस्थिरता र ऊर्जालगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वार बाँके भएकाले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए । ‘अहिले अवस्था सुध्रिएको छ, एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ श्रेष्ठले भने– ‘यो वातावरणलाई सधैं यस्तै बनाइराख्न जरुरी छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग स्थापना गर्न जमीन नपाइने मात्र नभई महङ्गो पर्ने भएकाले अधिकाँश उद्योगीको नजर जानकी गाउँपालिकामा पर्ने गरेको छ । नेपालगञ्जमा उद्योग सञ्चालन गर्दा शहर दुर्गन्धित हुने भयले पनि उद्योगीहरुले जानकीलाई रोज्ने गरेको केन्द्रीय सदस्य श्रेष्ठले बताए । 

यहाँ उद्योग सञ्चालन गर्दा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान ढुवानीसँगै कारोबारमा सजिलो हुने भएका कारण उद्योगी व्यवसायीले जानकी गाउँपालिकाको गनापुरलाई रोज्ने गरेको हो । ‘शहरभन्दा यहाँ जग्गा सस्तो छ, त्यही भएर पनि यहाँ उद्योगीको आकर्षण छ,’ श्रेष्ठले भने । 

जानकी गाउँपालिका औद्योगिक ‘हब’को रुपमा विकास भइरहेको छ । ‘अहिले अवस्था सुध्रिएको छ, गनापुर क्षेत्रमा ठूला उद्योग खुल्ने क्रम तीव्र छ,’ श्रेष्ठले भने– ‘अब ठूला लगानीकर्तालाई बाँके नआएर सुखै छैन ।’ यहाँ सिमेन्ट, आइरन, खाद्य, ईंटा, जडीबुटी, रोजिन एण्ड टर्पेन्टाइन, औषधिजस्ता ठूला उद्योगहरु सञ्चालनमा छन् । 

नेपालगञ्ज औद्योगिक क्षेत्रमा झण्डै ३० वटा उद्योग मात्र सञ्चालनमा रहेका बेला जानकी गाउँपालिकाको गनापुरमा भने औद्योगिक क्षेत्रको तुलनामा आन्तरिक खपत र निर्यातमा महत्व राख्ने दोब्बर ठूला उद्योगहरु सञ्चालनमा छन् । वडा ६ कार्यालय गनापुरका अनुसार ६३ उद्योगमध्ये ६ वटा उद्योग बन्द छन् । पाँच उद्योग सञ्चालनको क्रममा छन् । 

यहाँ जयमंगलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गंगा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा छन् । सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महङ्गा र नाम चलेका गाडीको शोरुम पनि जानकी गाउँपालिकामै छन् ।

धान र मसुरो प्रशोधन तथा बीउविजन उत्पादन केन्द्र, ठूला तथा नाम चलेका होटल पनि जानकी गाउँपालिकाले पाएको छ । ‘जानकी गाउँपालिका औद्यागिक क्षेत्रको ‘हब’को रुपमा विकास भएको छ,’ गाउँपालिका अध्यक्ष रामनिवास यादवले भने । त्यसमध्ये सबैभन्दा धेरै जानकी गाउँपालिका–६, गनापुरमा मात्र ६३ वटा उद्योग सञ्चालनमा छन् । 

औद्योगिक क्षेत्र बनाउने सरकारको कुनै योजना नभए पनि यहाँ स्वतःस्फूर्त रुपमा लगानीकर्ताले उद्योग स्थापना गरिरहेको वडाध्यक्ष सुरेश यादवले बताए । उनले उद्योग सञ्चालनका लागि अनुमति लिन आउने उद्योगीको सङ्ख्या धेरै भएको जानकारी दिए । ‘ठूल्ठूला उद्योगको आर्कषण छ, अझै उद्योगहरु थपिइरहेका छन्, सञ्चालनका लागि मापदण्ड पु¥याएर आएपछि अनुमति दिनैप¥यो,’ वडाध्यक्ष यादवले भने । पश्चिम नेपालमा एउटै वडामा यति धेरै सङ्ख्यामा उद्योग सञ्चालन भएको सम्भवतः यो एउटै मात्र वडा हो । 

आर्थिक वर्ष २०७४/७५ मा बाँकेमा उद्योग सञ्चालनका लागि जयअम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाइक्लिङ्ग इण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोबाइल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति पाएका छन् । अनुमति पाएका अधिकाँश उद्योग सञ्चालनमा छन् । 

बाँकेमा स्टील उद्योगको आकर्षण नै देखिएको छ । देशकै सबैभन्दा ठूलो औद्यागिक समूह जयअम्बे स्टील प्रालिले जानकी गाउँपालिकामा रु ४ अर्ब १५ करोड चुक्ता पुँजीसहित उद्योग सञ्चालनको तयारी गरिरहेको छ । पूर्वाधार निर्माणको काम भइरहेको छ । त्यस्तै, सगरमाथा स्टील उद्योगले पनि जानकी गाउँपालिकाको खजुराखुर्दमा रु २४ करोड चुक्ता पुँजीसहित उद्योग स्थापना गरेको छ । 

उद्योग विभागको दर्ता अनुसार नेपाल वेलहोप एग्रीटेक प्रालिको चितवनपछिको यहाँको दोस्रो शाखा हो । चितवनमा रहेको उद्योगले कोहलपुरमा रु २४ करोड लगानी गरी उद्योग सञ्चालनमा ल्याइसकेको छ । उक्त उद्योगले दानाहरु उत्पादन गर्दैआएको छ । बाँकेमा रु २४ करोड लगानीमा भिएमआई ग्रुप अन्तर्गत वर्षा रिसाइक्लिङ्गले प्रेसर कुकुर उत्पादन गर्दै आएको छ भने विकास फ्लोर मिलले रु २ करोड ४५ लाख लगानी गरेको छ । 

भिभो मोबाइल प्रालिले अत्याधुनिक सर्भिस सेन्टर स्थापनाका लागि रु ३० लाख लगानी गर्ने उद्देश्यसहित गत आर्थिक वर्षमा उद्योग विभागबाट दर्ता प्रमाणपत्र लिएको छ । विभागका अनुसार आव २०७३÷७४ भन्दा आव २०७४/७५ मा बाँकेमा ठूला उद्योग स्थापनासँगै लगानीमा पनि तीव्र विस्तार भएको छ । आव २०७३÷७४ मा बाँकेमा चार वटा उद्योग स्थापना भएका थिए । ती उद्योगमार्फत रु ५६ करोड हाराहारीमा लगानी भित्रिएको थियो । 

सङ्घीयतापछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ती दुई प्रदेशसँगै प्रदेश ५ लाई चाहिने वस्तुको हिस्सा ओगट्न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नैपर्ने बाध्यता छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिकजसो हरेक उत्पादनको बजार क्षेत्र बढ्दै गएको छ । 

विकास निर्माण तीव्र रुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ । ठूलो परिमाणमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग सञ्चालनका लागि रोजेको शिखर प्लाइउड प्रालिका सञ्चालक चम्पालाल बोथ्राले बताए । पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिँदैछ । 

पूर्वमा उत्पादित सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानीमा धेरै खर्च पर्छ । यहीँ उद्योग खोलेर उत्पादन गर्दा दीर्घकालीन रुपमा फाइदा हुने भएपछि उद्योगीहरु बाँकेमा उद्योग स्थापना गर्न तम्सिएको उनको बुझाइ छ । उनले भने– ‘बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहज रुपमा जग्गा प्राप्त गर्न सकिने हो,’ उनले भने– ‘अन्य ठाउँभन्दा सहज रुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।’ 

भारतसँग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकाले पनि बाँकेलाई उद्योगीले रोज्न थालेका हुन् । नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल सञ्चालनमा आए त्यसले आयात–निर्यातमा समेत फाइदा पुग्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई ध्यानमा राख्दै सरकारले बाँकेको नौवस्तामा प्रदेश ५ कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...