बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपीडित भन्छन्– यस्तो विपत्ति त शत्रुलाई पनि नपरोस्

बिहीबार, ०२ साउन २०७६, १३ : ४३
बिहीबार, ०२ साउन २०७६

 सिरहा– सिरहा नगरपालिका–१२ सारश्वर हटियाटोलका ७६ वर्षीय मो. भोला अन्सारीले आफ्नो जीवनमा यस्तो विपत्ति आइपर्ला भन्ने सोचेकासम्म थिएनन् । असार २७ शुक्रबार राती कमला नदीको पानी गाउँ पसेर घर भत्काएर घरका सरसामानसमेत बगाएपछि अन्सारी कष्टकर दैनिकी गुजार्दैछन् । चार दिनदेखि फुको चिउराका भरमा खुला आकाशमुनि रात बिताउन बाध्य अन्सारी भक्कानिँदै भन्छन्, ‘यस्तो विपत्ति त शत्रुलाई पनि नपरोस् ।’

बाढीले ढालेको घरअगाडि ५३ वर्षीया पत्नी खातुनसँग झोक्राएर बसेका अनिरुल खातुन भन्छन्, ‘घरका लत्ताकपडा, खाने अन्न भाडा वर्तनसमेत बाढीले बगायो, खानेकुरा छैन, एक बोतल पानीसमेत पाएनौँ ।’ दुई धुर जगामा बनेको झुपडीसमेत बाढीले लडाएपछि चिन्तित बनेका अन्सारी दम्पतीले रिपोर्टिङका लागि बस्तीमा पुगेका पत्रकारसँग गुनासो गरे, ‘भोट हाल्ने वेलामा मात्र जनता चाहिनेरहेछ, यस्तो विपत्तिमा नगरका पदाधिकारीको मुखसम्म देख्न पाएनौँ, राम्ररी ओत लाग्ने ठाउँ नपाउँदा जोखिममा छौँ ।’

घरमात्र होइन, गाउँमै बस्न सक्ने अवस्था नरहेपछि दुई बुहारी र नातिनातीनालाई माइत पठाएको आन्सारीले बताए । उनले भने, ‘हामीलाई बस्ने ठाउँ समेत छैन, नानीहरुलाई कसरी यो कष्टमा राख्ने भनेर मामली पठाईदिएँ । हामी बुढाबुढी थातथलो रुग्न यहाँ बसेका छौं ।’

सारश्वर गाउँको मुसलमान बस्तीकी ४३ वर्षीया साहजान खातुनको अवस्था पनि उस्तै दयनीय छ । ‘अकस्मात् बाढीको पानी बस्तीमा पसेपछि बालबच्चा जोगाउँदा घरका सरसामान बग्यो, शरीरमा लगाएको एकसरो लुगाबाहेक केही छैन,’ उनले गुनासो पोखिन् । गाउँमा बाढी पसेको पाँच दिन बितिसक्दा पनि राहतका सामग्री नपाएको उनले बताइन् । ‘राहतका रूपमा वडाध्यक्षको टोलीले सोमबार दिएको एक किलो फुको चिउराले धान्नै सकस परेको छ,’ उनले भनिन् । 

मुसलमान बस्तीका चानमियाँ, सदाम मियाँ, नजाम मियाँजस्ता करिब दुई दर्जन परिवार पछिल्लो पाँच दिनदेखि छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । 

‘घर, पसल बगाएपछि बाढीको पानी बगेको छ, राहतको नाममा केही पाएका छैनौँ । कसरी गुजारा गर्ने ?’ पीडित लक्ष्मण साहले भने, ‘बाढीले चामल, ग्यास लगायतका सामाग्री बगाउँदा करिब दुई लाख रुपैयाँको क्षति भएको छ ।’

कमला नदीमा बनाइएको बाँध कर्जन्हाको मरेवा, कल्याणपुर नगरको परसाही, निर्दना, चिकना, बेलहा र सिरहा नगरको सारश्वर, बसबिट्टा, खरसल्वा, पटेर्वामा गरी करिब एक दर्जन ठाउँमा क्षति पुगेपछि बाढीको पानी गाउँ पसेको हो । सिरहाको पटेर्वादेखि उत्तरतिर बाढीको पानीले डुबान भए पनि पटेर्वादेखि दक्षिण आफ्नो भूमिमा भारतीय पक्षले पानीको बहाव रोक्न बनाएको करिब दुई किलोमिटर बाँधको कारणले डुबान भएको स्थानीय ब्रह्मदेव चोरवार यादवले बताए । 

सशस्त्र प्रहरी बल बोर्डरआउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीका अनुसार उत्तरतिरको पानी माडरको दुर्गा मन्दिरछेउ हुँदै पूर्वतिर बग्छ । 

‘त्यहाँदेखि दक्षिण पर्ने पटेर्वा क्षेत्रचाहिँ नेपाल भारत सीमाक्षेत्रबाट भारतले बनाएको बाँधले पानीको बहाव थुनिँदा डुबान भयो, आइतबार बिहान आठबजेतिर बाँध फुटेपछि डुबान ह्वात्तै घट्यो,’ उनले भने । जिल्लास्तरीय तथ्याङ्क तथा सूचना व्यवस्थापन उपसमितिका संयोजक भवेश्वर झाका अनुसार मङ्गलबार साँझ ६ बजेसम्म सिरहाका १७ स्थानीय तहमा पाँच हजार तीन सय २६ घर पूर्ण क्षति, १० हजार एक सय ९९ घर आंशिक क्षति भएको छ । 

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने स्थानीय तह, रेडक्रसका प्रतिनिधि र प्रहरीसहितले लिएको तथ्यांकको आधारमा वास्तविक पीडित यकिन गरी छिट्टै राहत बाँड्ने जानकारी दिए । 

‘स्थानीय तह, वडास्तरमा राहत तथा पुनस्र्थापना व्यवस्थापन समितिमार्फत राहत दिन्छौँ, जिल्ला विपत् व्यवस्थापन समितिले अनुगमनको काम मात्र गर्छ,’ अधिकारीले भने, ‘बाढी र डुबानपीडितका लागि संघीय सरकारबाट प्राप्त भएको तीन हजार र रेडक्रसको एक हजार पाँच सय थान त्रिपाल तयारी अवस्थामा राखिएको छ ।’ 


सिरहा रेडक्रस सभापति राजदेव यादवले त्यसका अतिरिक्त रेडक्रससँग मौज्दात रहेको एक हजार थान कम्बल, चार सय परिवारका लागि भाँडावर्तन, तन्नासहितको सामान पनि समितिकै निर्णयका आधारमा पीडितलाई वितरण गरिने बताए । 

‘अन्य दातृनिकायबाट प्राप्त भएका राहत सामग्री पनि समितिमार्फत निर्णय गरी स्थानीय राहत व्यवस्थापन समितिमार्फत वितरण गर्छौँ,’ उनले भने । कमलाको बाढीले गाउँ पसेर प्रभावित बनेका बन्दीपुर, इटारी प्रसाही, भोक्राहा, निर्दना, बेलहा, सारश्वर र लहानका करिब तीन हजारजना पीडित बिस्तारै घर फर्किन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप