शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार रिजालको ‘नेपालको कूटनीतिक अभ्यास : राजदूतहरुको अनुभव’ बजारमा

बिहीबार, ०२ साउन २०७६, १३ : ३५
बिहीबार, ०२ साउन २०७६

काठमाडौँ– कूटनीति आफैमा जटिल विषय हो । अहिलेको आधुनिक विश्वमा त यो अत्यन्तै संवेदनशील विषय हो । प्रत्येक व्यक्तिको आपसी सम्बन्ध कति दरिलो छ भन्ने त्यस व्यक्तिको कूटनीतिक व्यवहारमा भर पर्छ । प्रत्येक देशको कूटनीतिक सम्बन्ध त झनै गम्भीर हुन्छ । नेपाली बृहद् शब्दकोशले ‘कूटनीति राष्ट्र राष्ट्रका बीचको राजनीतिक सम्बन्ध वा त्यस्ता सम्बन्ध दक्षतापूर्वक सञ्चालन गर्ने नीति; व्यक्ति व्यक्ति वा राष्ट्र राष्ट्र बीच पारस्पारिक व्यवहारमा दाउपपेच गर्ने नीति, रहस्य बुझ्न गाह्रो पर्ने र अरुलाई अलमल्याउने तथा आफू सधैँ ओबानु रहन सक्ने राजनीतिको बाठो चाल; गुप्त चलन; जसरी पनि आफूअनुकूल अर्थ लगाउन सकिने वचन वा शैली’ भनेको छ । 

कूटनीतिक विषयमा जानकारी राख्न विगतका कूटनीतिज्ञहरुको अनुभव, देशको राजनीतिक व्यवस्था र देशले अँगालेको विकासको रणनीतिका बारेमा जानकारी हुन आवश्यक हुन्छ । तसर्थ कूटनीतिज्ञ हुनका लागि बौद्धिक क्षमता, कलात्मक अभिव्यक्ति र संयमित हुनसक्ने क्षमता हुन आवश्यक छ । नेपालको कूटनीतिक क्षेत्रका अनुभवहरु केकस्ता छन् भन्ने विषयका पाठ्यसामग्रको कमी भएको महसुस हुँदै आएको महसुस गर्दै पत्रकार विष्णु रिजालले ‘नेपालको कूटनीतिक अभ्यास’ पुस्तक सम्पादन गरी प्रकाशन गरेका छन् । 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशित रिजालद्वारा सम्पादित यस पुस्तकमा २० जना राजदूतहरुका अनुभवलाई समावेश गरिएको छ  । ती कूटनीतिज्ञहरुले यसमा पुस्तकमा सैनिक पृष्ठभूमिको कूटनीति, प्रधानमन्त्रीको पहिलो औपचारिक फ्रान्स भ्रमण, बुद्धको जन्मस्थलका बारेमा भ्रम निवारण, जापानी प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण, चार दशकको कूटनीतिक अनुभव, बर्माको सैनिक सरकारसँग काम गर्दा, इजिप्टमा विताएका पाँच वर्ष, चार दशकपछि चीनमा राजदूत, जर्मनीमा नेपाल प्रवद्र्धन, पाकिस्तानसँगका केही प्रसङ्ग, सिपाहीलाई कूटनीतिको अनुभव, अमेरिकाको त्यो राजकीय भ्रमण, नाकाबन्दीका बेलामा ढाकामा कसरत, चीनसँगको समस्यारहित सम्बन्ध, बदलिँदो रुससँगको सम्बन्ध, कतारमा कूटनीति सुरु गर्दा, असंलग्नताको असल अभ्यास, बेलायतमा नेपालको कूटनीति, खाडीमा चार वर्ष, बौद्ध देशमा पर्यटन कूटनीति शीर्षकमा २० जना कूटनीतिज्ञहरुका अनुभव समेटिएको छ । 

२० जना पूर्वराजदूतका अनुभव सङ्गृहित यो पुस्तक विगत ५० वर्षको नेपाली कूटनीतिको सानो आँखीझ्याल हो भन्दै भूमिकामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन् ‘यस पुस्तकमार्फत हामीले नेपालसँग सम्बन्ध राख्ने यस कालखण्डको विश्व र क्षेत्रीय परिवेशलालई बुझ्न सकक्छौँ  र हाम्रो कूटनीतिले त्यो परिवेशमा नेपालको राष्ट्रिय हित प्रवद्र्धनमा के योगदान गर्यो या गरेन भन्ने जानकारी पाउन सक्छौँ ।’ ज्ञवालीले भनेजस्तै यो पुस्तकबाट विगत ५० वर्षको नेपालको कूटनीतिक सम्बन्धको इतिहासका बारेमा धेरथोर जानकारी पाउन सकिन्छ । 

‘आजको कूटनीति इतिहासको जानकारी विना अघि बढ्न सक्दैन’ परराष्ट्र सचिव शङ्करदास वैरागीले भनेका छन् ‘ज्ञान र अनुभवमा आधारित परराष्ट्र सेवा आजको आवश्यकता हो । यसका निम्ति ज्ञानको व्यवस्थापन आवश्यक छ । यस पुस्तकलाई ज्ञान व्यवस्थापनका रुपमा लिएको छु  । यसले कूटनीतिक अनुभव र सैद्धान्तिक ज्ञानको संयोजनबाट  समयानुकूल विदेशनीति निर्माण, प्रभावकारी कूटनीतिक सञ्चालन र राष्ट्रिय हितको रक्षा हुने मेरो बुझाइ छ’ वैरागीले भनेका छन् । 

नेपाली कूटनीतिक अभ्यासका बारेमा जानकारी लिन हामी विदेशीहरुका पुस्तकमा भर पर्नुपरेको छ भन्दै सम्पादकले भनेका छन् ‘हामीसँग पुराना कागज पत्र नभएका होइनन् तर तिनलाई सार्वजनिक जानकारीमा ल्याउने काम नहुँदा हाम्रा अध्ययन परनिर्भर भएको यथार्थ छ । यसलाई सन्तुलित बनाउन हामी आफैले आफ्ना कुरा लेख्नुपर्छ र अरुलाई बुझाउन सार्वजनिक गर्नुपर्छ । राजदूत भएका वा कूटनीतिक क्षेत्रमा जिम्मेवारी बहन गरेकाहरुले लेख्दा प्रकट हुने आधिकारिकता अरुले लेखेर पूर्ति हुन सक्दैन, सम्बन्धित व्यक्तिहरुबाटै भन्ने मान्यताका अधारमा यो पुस्तक तयार गरिएको हो ।’ 

पुस्तकमा अर्जुननरसिंह राणा, इन्द्रबहादुर सिंह, कमलप्रसाद कोइराला, केदारभक्त माथेमा, केदारभक्त श्रेष्ठ, खड्गजीत बराल, गोपीनाथ दवाडी, नयनबहादुर खत्री, नोवलकिशोर राई, पुष्करमानसिंह राजभण्डारी, भिक्ट्री शमशेर जवरा, डा. भेषबहादुर थापा, प्राडा मोहनप्रसाद लोहनी, राजेश्वर आचार्य, लिलाप्रसाद शर्मा, श्यामानन्द सुमन, सुन्दरनाथ भट्टराई, सूर्यप्रसाद श्रेष्ठ, सुरेन्द्रबहादुर श्रेष्ठ, सुशीलचन्द्र आमात्यका कूटनीतिक अनुभवहरु समेटिएका छन् । कूटनीतिक विषयमा जानकार राख्न चाहाने पाठकका लागि पुस्तक उपयोगी छ ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप