शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारी गाडी लिएर फिल्म हेर्न हलमा ! रोकिएन सरकारी गाडीको दुरुपयोग

बिहीबार, ०२ साउन २०७६, १३ : २१
बिहीबार, ०२ साउन २०७६

काठमाडौं–बुधबार साँझ सवा ६ बजे सरकारी नम्बरप्लेटको एउटा स्करपियो गाडी कुमारी सिनेमा घरभित्र प्रवेश गर्यो । 

बा २ झ १३७१ नम्बरको सरकारी जिप कुमारी हलको पार्किङमा प्रवेश गरेलगत्तै त्यस जिपबाट करिब १० जना यात्रुहरु ओर्लिए । जीपबाट ८ जना युवती तथा महिला र २ जना पुरुष ओर्लिए । अनि सरासर उनीहरु फिल्म हलतर्फ प्रवेश गरे । तर उनीहरु सरकारी कर्मचारी जस्ता भने देखिएनन् । 

उनीहरु ओर्लिएलगत्तै यस गाडीका चालकले गाडी फर्काए र फर्किन लागे । त्यहीबेला हामीले सोध्यौँ ‘यो कसको गाडी हो ? जवाफमा चालकले ‘किन चाहियो’ भन्दै तर्किए ।  पछि मिडिया भएको थाहा पाएपछि उनले यो गाडी काशीराज दाहालको भएको बताए ।

चालकले गाडीमा सवार भएकाहरु दाहालकै परिवारका सदस्यहरु रहेको समेत जानकारी दिए ।  त्यसपछि उनी हतारिएर गाडी लिएर गए ।

प्रशासकीय अदालतका अध्यक्ष हुन् काशीराज दाहाल । सरकारी गाडीको दुरुपयोग भएकोबारे बिहीबार दाहालसँग प्रतिक्रिया लिँदा सुरुमा उनले त्यो गाडीबारे आफूलाई थाहा नभएको दाबी गरे ।  आफू चढ्ने गरेको गाडी ८०८५ नम्बरको भएको भन्दै उनले फोन काटे । 

त्यसको १० मिनेटमा फेरि दाहाल आफैले फोन गरेर बुधबार आफ्नो गाडी बिग्रिएकाले बा २ झ १३७१ नम्बरको गाडी प्रयोग गरेको स्वीकारे । आफू गौशालामा बस्ने गरेको र आफूलाई छाडेर फर्कँदा छोरा, छोरीहरु उक्त गाडीमै बसेर ज्ञानेश्वर गएको उनको भनाई छ । 

तर जीपमा १० जना व्यक्तिहरु थिए र उनीहरु कुमारी सिनेमा घरमा फिल्म हेर्न गएका थिए नि भन्ने प्रश्नमा उनले आफ्नो बचाउ गर्ने कोशिश गरे । 

परिवारकै सदस्य भएकाले चढ्नै नमिल्ने हो र ? भन्दै उनले प्रतिप्रश्नसमेत गरे । त्यसपछि ‘गाडी तपाईँलाई दिएको हो कि तपाइँको परिवारको लागि भन्ने प्रश्नमा उनले भने, ‘यो ठूलो होइन ।’ दिउँसो बाटो पर्दा परिवारका सदस्य बोक्दा ठूलो विषय बनाइन नहुने उनको तर्क थियो ।

सरकारी गाडीको दुरुपयोगसम्बन्धी समाचार रातोपाटीले निरन्तर फलोअप गरेपछि सरकारले यस्तो सवारीको दुरुपयोग रोक्न सर्कुलर नै जारी गरेको थियो । गृह मन्त्रालयले जारी गरेको सर्कुलरमा कर्मचारीबाहेक अन्य व्यक्तिलाई सवारीको प्रयोग गर्न नदिन र कार्यालय प्रयोजनका लागि मात्रै प्रयोगमा ल्याउन भनेको थियो । 

सरकारी सवारीसाधनमा रातो नम्बर प्लेट प्रयोग गर्ने सम्बनधमा पनि रातोपाटीमार्फत समाचार प्रकाशित भएपछि अनुसन्धान गर्ने निकाय र न्यायाधीश बाहेक अन्य सबै सरकारी गाडीमा सेतो नम्बर प्लेट प्रयोग गर्न थालिएको थियो । 

सरकारी गाडीमा रातो प्लेटको मोह : सचिवज्यूहरुलाई छुने आँट कसको ? (सूचीसहित)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप