शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिना गल्ती चालकलाई कारागार चलान गरिएको भन्दै मजदूरुहरुको  विरोध

बुधबार, ०१ साउन २०७६, १९ : ३८
बुधबार, ०१ साउन २०७६

बुटवल– विना गल्ती चालकलाई कारागार चलान गरिएको भन्दै यातायात मजदूरहरूले बुटवलमा बिरोध गरेका छन् । उनीहरुले सात दिनभित्र करागार चलान गरेका मजदूरलाई नछाडे आन्दोलन गर्ने चेतावनी समेत दिए । गत असार २ गते काठमाडौंबाट गुल्मीको तम्घासका लागि छुटेको लु १ ख ८३२६ नम्बरको बसले नवपुरको गैडाकोटमा गलत दिशाबाट अनियन्त्रित गतिमा आएको मोटरसाइकल बसमा ठोक्किन पुगेको थियो । 

उक्त घटनामा मोटरसाइकको पछाडि बसेका नवलपुर जिल्ला बुलिङटार गाउँपालिका–३ का विरेन्द्रनन्द गिरीको मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक विष्णुनिर्मल गिरी गम्भीर घाइते भएका छन् । घटनामा गाडी चालक रामबहादुर श्रेष्ठको कुनै गल्ती नहुँदा÷नहुँदै शक्तिकेन्द्रको आडमा गाडी चालकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको भन्दै सबै मजदूर संगठनहरूले तत्काल रिहाइको माग गरेका हुन् । सात दिनभित्र आफूहरूका माग पूरा नभएको कडा संघर्षका कार्यक्रमहरू ल्याउने पत्रकार सम्मेलन गरी सार्वजनिक गरे । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन प्रदेश नम्बर पाँचका अध्यक्ष कृष्णप्रसाद कँडेलले दुर्घटनाको वैज्ञानिक छानविन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरे ।

‘कानूनको गलत व्याख्या गरी उक्त घटनामा चालकको कुनै गल्ती नहुँदा कानूनको कारागार चलान गरिएको छ । दोषी गाडी चालक भए हामी रिहाई गर भन्दैनौं । तर उक्त घटनामा चालकलाई अनाहकमा फसाइएको छ । उनको तत्काल रिहाई हुनुपर्छ’ कँडेलले भने । उक्त गाडी पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध गाडी हो । आन्दोलनमा गण्डकी प्रदेश र प्रदेश पाँचका सबै मजूदरहरूले ऐक्यबद्धता जनाएका छन् ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले कानूनलाई हातमा लिएर चालकलाई दोषी देखाइएको बताए । उनले मजदुरको आन्दोलनमा प्रालि सधै साथमा रहेको स्पष्ट पारे । अखिल नेपाल यातायात मजदुर संगठन प्रदेश पाँचका सहसचिव डम्वर बुढाथोकीले मोटरसाइकलका चालक नै घटनामा दोषी रहेको बताए ।

मजदुरहरूले विभिन्न संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । जिल्ला प्रशासन कार्यालय नवलपुरमा घटनाको जानकारी गराउने, महान्याधिवक्ताको कार्यालयमा जानकारी गराउने, सबै प्रदेश सरकार तथा संघीय सरकारको ध्यानाकर्षण गराउने र सात दिनभित्र श्रेष्ठको रिहाई नभए कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने कँडेलले बताए । घाइते  निर्मल गिरीको उपचारका सम्पूर्ण खर्च पश्चिम नेपाल प्रालिले गरेको छ । अहिलेसम्म उनको उपचार खर्च ८ लाख ५० हजार रुपैयाँ पुगेको छ । जिफन्टका प्रदेश सचिव हुमकान्त काफ्लेले घटनाको कारण पत्ता नलगाई चालकलाई दोषी बनाउने र लापवाहीको आरोपमा कारवाही गर्ने कार्य आफूहरूलाई मान्य नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप