अर्थसचिव अमेरिका उड्दा मौद्रिक नीति आउन सकेन
काठमाडौं– नेपाल राष्ट्र बैंकले असारभित्रै ल्याइसक्नुपर्ने मौद्रिक नीति पछि धकेलिएको छ ।
अर्थ सचिव राजन खनाल मौद्रिक नीति ल्याउने समयमा विदेश भ्रमण गएपछि ढिलाइ भएको हो । सचिव खनाल गत असार २४ गते अमेरिका प्रस्थान गरेका थिए ।
मौद्रिक नीतिबारे उनलाई राखेर छलफल हुन सकेको छैन राष्ट्र बैंक उनैलाई कुरेर बसिरहेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले अर्थसचिवसँग यसबारे छलफल हुन नसक्दा ढिलाइ हुन पुगेको बताए ।
उनले भने, ‘अर्थसचिवज्यू देश बाहिर हुनुहुन्छ । उहाँसँग मौद्रिक नीतिका विषयमा छलफल हुन बाँकी छ । अरु सबै काम सकेर उहाँलाई कुरेर बसेका छौँ । आउने वित्तिकै राष्ट्र बैंक सञ्चालक समिति बसेर छलफल हुन्छ र मौद्रिक नीति आउँछ ।’ उनी आइतबार स्वदेश फर्किने बताइएको छ ।
अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य रहने प्रावधान छ । समिति सात सदस्यीय समिति हो । त्यसको अध्यक्षता गर्भनर आफैले गर्ने प्रावधान छ ।
गर्भनर डा. चिरञ्जीवि नेपालले असार २७ गते नै मौद्रिक नीति आउने र त्यसभन्दा पहिलेनै बैंकहरुलाई मर्जरमा जाने लिखित प्रतिवद्धता बुझाउन निर्देशन दिएका थिए ।