बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाका शीर्ष नेताको जिम्मेवारी बाँडफाँडमा रस्साकस्सी

बुधबार, ०१ साउन २०७६, १५ : ००
बुधबार, ०१ साउन २०७६

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकता प्रक्रिया टुंगो लगाएको बताइएपनि शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँडमा रस्साकस्सी देखिएको छ । 

सोमबार र मंगलबारको लामो छलफल पछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्याकेजमै एकीकरणका वाँकी काम टुंगो लगाएको नेताहरुले बताएका छन् । 
अध्यक्षद्वयको सहमति अनुसार ३२ विभाग मध्ये १८ पूर्व एमालेले र १४ विभागको नेतृत्व गर्ने सहमति भएको छ । तर, व्यक्तिको बारेमा भने सहमति जुटिसकेको छैन । 

मुख्यतः संगठन, स्कूलिङ र विदेश विभागको नेतृत्व सचिवालयका शीर्ष नेता कसले लिने भन्नेबारे विवाद कायम छ । यी विभागको प्रमुखमा दावी गर्ने नेताहरु आ–आफ्नो लविङमा लागेका छन् ।

स्रोतका अनुसार संगठन विभाग पूर्व एमालेको भागमा परेको छ । त्यस्तै प्रचार र आर्थिक विभाग पूर्व माओवादीको भागमा परेको छ । पूर्वएमालेको भागमा परेको संगठन विभाग वामदेव गौतमले पाउने सम्भावना छ । त्यस्तै स्कूलिङ विभागमा नारायणकाजी श्रेष्ठ र इश्वर पोख्रेलको दावी छ । प्रचार विभाग पूर्वमाओवादीको भागमा परेको हुँदा चाँही श्रेष्ठले यो विभागको जिम्मेवारी पाउने छन् । तर श्रेष्ठले विदेश वा स्कूलिङ विभाग मध्ये एक आफूले पाउनु पर्ने दावी गरेपनि यो विभागको जिम्मा पोख्रेलले पाउने सम्भावना छ । 

यस्तै विदेश विभागमा अहिलेसम्म वरिष्ठ नेता माधवकुमार नेपाल र नेता श्रेष्ठको दावी भएपनि नेता नेपाललेनै यसको जिम्मेवारी पाउने सम्भावना छ । सवै विभागहरुको सदस्य संख्या ३५ रहने भएको छ । जसमा पूर्वएमाले २० र पूर्व माओवादीबाट १५ सदस्य रहने सहमति भएको छ ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज भने पूरानै मापदण्ड अनुसार बनाउने सहमति अनुसार पूर्व एमालेले ४४ र पूर्व माओवादीले ३३ पाउने भएको छ । 
त्यस्तै २ आयोगको नेतृत्व पूर्व एमाले र माओवादीले एउटा आयोेगको नेतृत्व गर्ने भएको छ । आयोग ३१ सदस्य बन्ने छ । जसमा पूर्व एमाले १८ र पूर्व माओवादीबाट १३ जना रहने छन् । 
जेष्ठ कम्युनिष्ट मञ्च २२१ सदस्यीय बन्ने भएको छ । जसमा १२१ पूर्व एमाले र १०० पूर्वमाओवादीका सदस्य रहने भएका छन् । सल्लाहकार समिति पनि २२१ सदस्यीय बन्ने भएको छ । जसमा १२१ पूर्वएमाले र १०० सदस्य पूर्वमाओवादीको भागमा परेको छ । 
आआफ्ना भागमा परेका सदस्यको नामावली टुंगाउन शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन् । मुख्य विभागको जिम्मा कसलाई दिने भन्नेबारे पाँच गते बस्ने सचिवालयमा छलफल हुने नेताहरुले बताएका छन् । 

नेकपामा दुई अध्यक्ष र महासचिव विष्णु पौडेलले भने कुनै जिम्मेवारी नलिने सहमति नेकपामा भएको छ । मुख्यविभाग बाहेकको जिम्मेवारी पाएका बाहेक सचिवालयका अन्य नेताले जनवर्गीय संगठनको इन्चार्ज पाउने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप