शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

औपचारिक रुपमै शुरु भयो भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम

अर्थमन्त्रीले भने – अनुहार हेरेर काम गर्दा पक्षपात हुने रहेछ
बुधबार, ०१ साउन २०७६, १३ : ४७
बुधबार, ०१ साउन २०७६

आजबाट मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली  (भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम) औपचारिक रुपमा लागु भएको छ । यसको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन् ।

खतिवडाले सो प्रणालीको उद्घाटन गर्दै अनुहार हेरेर काम गर्ने दिन सकिएको बताए । यस प्रणालीले फेसलेस (अनुहारविहीन)  कारोबारलाई प्रोत्साहन गर्ने बताए ।

उनले भने, ‘अनुहार हेरेर काम गर्दा मोलाहिजा (पक्षपात) हुने रहेछ । अनुहारको प्रतिक्रिया र हाउभाउले प्रभाव पार्दो रहेछ । प्रविधिको प्रयोगले विधिमा फेसलेस र प्रभावको हिसाबले मान अनुहार नै अगाडि आउँछ ।’

यस प्रणालीले अपारदर्शी र अनौपचारिक व्यवसायलाई पारदर्शी र औपाचारिकमा रुपान्तरण गर्ने अर्थमन्त्रीले बताए । शुरुमा नयाँ प्रणाली आउँदा त्यसलाई अपनाउन सहज नचाहने प्रवृत्ति रहेको र कालान्तरमा त्यही प्रणालीमा अभ्यस्त हुने खतिवडाको तर्क छ ।

तीन महिनासम्म यस प्रणालीलाई प्रवद्र्धनात्मक रुपमा अगाडि बढाउने राजस्व अनुसन्धान विभागले जनाएको छ । अबदेखि केन्द्रिय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसारपसार गर्नुपर्ने छ ।

आजसम्म ५ हजारले यसका लागि युजर आइडि बनाएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । उद्योग र व्यापारलाई पारदर्शी बनाउन गरेको सरकारको प्रयासमा सबैले सहयोग गर्नुपर्ने मैनालीले आग्रह गरे ।

व्यवसायकि प्रयोजनका मालवस्तु आयात–निर्यातकर्ता, उद्योग, भन्सार एजेन्ट, ढुवानी कम्पनी, वितरक तथा थोक स्तरमा विक्रि गर्दा भिसिटिएसमा इन्ट्री गर्नुपर्दछ ।

व्यवसायीले भने, ‘यसलाई अहिले परिक्षण प्रयोगका रुपमा अगाडी बढाऔँ’

सरकारले आजैबाट भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम औपारिक रुपमा लागु गरेपनि व्यवसायी भने त्यसलाई अझै केही समय परिक्षण प्रयोगमा रहन दिनुपर्ने माग गरेका छन् ।

व्यापार सहजीकरणको हिसाबले स्थानीय ढुवानीमा सहज नदेखिएको नेपाल चेम्बर अफ कर्मका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवालले बताए । हाल यो प्रविधिलाई परिक्षणको रुपमा प्रयोग गराउँन उनले सुझाएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले नेपालको व्यापार त्यति विकसीत नभएकाले यसबारे सोच्नुपर्ने बताए । ‘नेपालको इन्टरनेट त्यसैपनि महङ्गो छ र त्यसमा यो प्रणालीले व्यवसायलाई अझ महंगो नवनाओस्,’ अध्यक्ष मोरले भने ।

यता, उद्योग वाणिज्य महासंंघकी अध्यक्ष भवानी राणाले देशव्यापी प्रयोगमा कठिनाइ हुने भएकाले चरणबद्ध रुपमा अगाडी बढाउनुपर्ने धारणा राखिन् ।

कसरी प्रयोग गर्ने भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम

सर्वप्रथम राजस्व अनुसन्धान विभागको वेभसाइट www.dri.gov.np मा लग इन गर्ने त्यसपछि माथि left navigation मा रहेको vechicle & consignment Tracking system मा क्लिक गरेपछि यो सफ्टवेयर खुल्छ । यो संगै user manual भन्ने स्थानमा क्लिक गरेपछि यो प्रणालीमा विवरणहरु इन्ट्रि गर्ने तरिका डाउनलोड गर्न सकिन्छ । प्रयोगकर्ता आफैले युजर आइडि र  पासवर्ड बनाइ मालवस्तु  र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गर्न सक्नेछन् । मालसामान गन्तव्यमा पुगेपछि ड्राइभर र प्रयोगकर्ताले डेलिभरी भएको जनाउ दिनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप