मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रानीजमरा सिँचाइ आयोजनाको पहिलो खण्ड सञ्चालनमा, १४ हजार हेक्टरमा सिँचाइ

मङ्गलबार, ३१ असार २०७६, २१ : ५६
मङ्गलबार, ३१ असार २०७६

-रमेश लम्साल

काठमाडौं-रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लामो प्रतीक्षापछि आयोजनाको पहिलो खण्ड सम्पन्न भएको जानकारी दिए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “आज म एउटा खुशीको खबर सुनाउँदै छु, सिँचाइतर्फको राष्ट्रिय गौरवको आयोजनाको पहिलो खण्ड सम्पन्न भएको छ ।” 

कूल १४ हजार ३०० हेक्टर क्षेत्रमा सिँचाइ हुने गरी आजदेखि नहरमा पानी छाडिएको उनले बताए । मन्त्री पुनले भने, “उक्त क्षेत्रमा सिँचाइ गर्नका लागि मुख्य ढोकाबाटै पानी छाड्ने काम सम्पन्न भएको छ ।” सो क्षेत्रमा परम्परागत रुपमा सिँचाइ हुँदै आएको थियो । मनसुनको समयमा समेत आकाश हेरेर खेती गर्नुपर्ने सो क्षेत्रका स्थानीय किसानलाई आयोजना सम्पन्न भएपछि खुशी मात्र दिएको छैन, लामो प्रतीक्षाको फलसमेत प्राप्त भएको छ । 

सो आयोजनाको बाँकी खण्ड आगामी वर्षमा सम्पन्न गर्ने सरकारको प्रतिबद्धता छ । आयोजनाको मुहान चिसापानीस्थित कर्णाली पुलभन्दा १२० मिटर तल रहेको छ । आव २०७०/७१ मै आयोजनाको इन्टेक निर्माण सम्पन्न भएको थियो । इन्टेकमा जडान गर्नुपर्ने आठमध्ये तीन वटा ढोका जडान सम्पन्न भइसकेका छन् । उक्त तीन वटा ढोकाको सञ्चालन परीक्षणसमेत सम्पन्न भइसकेको छ । असार मसान्तसम्म आठ किमी मूल नहर निर्माण सम्पन्न भएको छ ।

यसै आयोजनाअन्तर्गत ‘क्यानल फल’को उपयोग गरी ४.७ मेगावाट विद्युत् उत्पादन गर्नेगरी विद्युत् गृहको निर्माण भइरहेको छ । लम्कीतर्फ चालू आवमा ५.५ किमी नहरका साथै १० वटा संरचना (साइफन, हाइवे क्रसिङ तथा ड्रेन बाइपासलगायत)को निर्माण सम्पन्न भइसकेको छ । लम्की विस्तारको कार्यबाट छ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको छ । रानी जमरा आयोजनाको लक्ष्य परम्परागतरुपमा सिँचाइ भइरहेका १४ हजार ३०० हेक्टर प्रणालीलाई स्तरोन्नति गरी कूल ३८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको छ । 

त्यसैगरी सिक्टा सिँचाइ आयोजनाको भत्केको संरचना निर्माणको काम तीव्र रुपमा भइरहेको छ । सो आयोजनाको भत्केको नहरमर्मत गर्न गत वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले नै निर्देश गरेको थियो । “मुख्यरुपमा नहरको भत्केको दुई स्थानमा मर्मतको काम सञ्चालन भइरहेका छन् । एउटा सम्पन्न भइसकेको छ भने अर्को केही दिनमा सम्पन्न हुने क्रममा छ”, मन्त्री पुनले भने, “साउनको पहिलो साताभित्रै नहरको ३० किलोमिटर क्षेत्रमा पानी सञ्चालन गरिनेछ ।”

निर्माण व्यवसायी कालिका कन्ट्रक्सनले चित्त बुझ्दो काम नगरेको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्रालयले छानबिन समिति नै गठन गरेर अध्ययन गरेको थियो । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आयोजनाको मिहीन अध्ययन गरी आयोजना प्रमुखसहित निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

विगतमा चर्चा भएजस्तो आयोजना अलपत्र अवस्थामा नरहेको जिकिर गर्दै मन्त्री पुनले सो आयोजना मर्मत सम्भार हुँदै पानी सञ्चालन गर्नेतर्फ गइरहेको बताए । सोही आयोजनाको पूर्वी नहरसमेत निर्माणाधीन रहेको छ । पूर्वीखण्ड पूर्णरुपमा सञ्चालन गर्ने सरकारले यसअघि नै प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले ५०० हेक्टर जमिनलाई सिँचाइ हुने गरी मुख्य नहरबाटै पानी सञ्चालनमा ल्याइएको जानकारी दिए । “सिक्टा सिँचाइ आयोजना अब विगतकै अवस्थामा रहेन”, मन्त्री पुनले भने, “आयोजना निर्माणले प्रगति हासिल गर्दै गएको छ ।”

आयोजनाको पश्चिमी मूल नहर तीव्र रुपमा मर्मत भइरहेको छ । आयोजनाको पश्चिमी मूल नहर मर्मत गर्न तीनवटा सिलबन्दी दरभाउपत्र स्वीकृति गरी करिब ६० लाखको ठेक्का बन्दोबस्त गरिएको मन्त्रालयले जनाएको छ । गतवर्ष साउन ७ गते भत्किएको खण्डमा करीब २५ मिटर नहर ‘लाइनिङ’ को कार्य सकिएको छ । नहरको किनारामा रहेको बालुवासहितको छिद्रमा चुना मिसाइएको नदीजन्य पदार्थ (गिट्टी बालुवा)ले पुर्ने काम जारी रहेको छ । ३०० मिटरमध्ये २०० मिटरमा छिद्र पुर्ने काम सम्पन्न भइसकेको मन्त्री पुनले जानकारी दिए । 

यही असार २३ गतेदेखिको लगातारको वर्षाका कारण मुल नहरको २५ मिटर क्षेत्रमा ‘लाइनिङ’को काम हुन नसकेको आयोजनाले जनाएको छ । वर्षाकै कारण नदीजन्य पदार्थबाट छिद्र पुर्ने कामसमेत अवरुद्ध हुने पुगेको छ । दुवै काम सकिए पछि पानी सञ्चालन गर्ने तयारी आयोजनाले गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप