बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २: डुबानबाट कुन जिल्लामा कति क्षति भयो ? (तथ्याँकसहित)

मङ्गलबार, ३१ असार २०७६, १९ : ५१
मङ्गलबार, ३१ असार २०७६

जनकपुर– विगत केही दिनदेखिको अविरल वर्षाका कारण प्रदेश नम्बर २ मा करिब ३ दर्जन सर्वसाधारणको ज्यान गएको छ भने २ जना वेपत्ता भएका छन् । प्रदेश नम्बर २ अन्तर्गत विभिन्न स्थानहरुमा रहेका बस्तीहरु डुवानमा परेका छन् ।

 प्रदेश २ मा ३२ जनाको मृत्यू भएको छ भने २ जना बेपत्ता भएका छन् । त्यस्तै ७ वटा क्षेत्र प्रभावित रहेका छन् भने २२ हजार ४७ जना सर्वसाधारणको उद्धार भएको छ  । त्यस्तै १ लाख १८ हजार १ सय ४ वटा घर प्रभावित भएका छन् । प्रभावित हुने घरसंख्या १३ हजार ४४ रहेका छन् भने ६ लाख ७९ हजार ३ सय १५ जना बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् ।  त्यस्तै ३ हजार ५ सय ७४ घर पूर्णरुपमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उद्दारका लागि २८ वटा रबरको बोट सुरक्षा निकायले परिचालन गरेको थियो ।

महोत्तरीको बर्दीवासस्थित पूर्व–पश्चिम लोकमार्गमा पर्ने भप्सी खोलाको पुल भत्किँदा सवारी आवागमनमा अवरोध भएको थियो । त्यसलगत्तै डाईभर्सन निर्माण गरी सबै किसिमका सवारी साधनहरु सञ्चालनमा आएका छन् । उक्त पुल भत्केको स्थानमा बेली ब्रीजको निर्माण कार्य भइरहेको प्रदेश प्रहरी निरीक्षक रामज्ञान महतोले जानकारी दिए ।

त्यस्तै,नेपाल–भारत सिमा जोड्ने धनुषाको दक्षिणी क्षेत्र अवस्थित जटहीको जलाद नदीको पुलको पाया भासिएको छ भने माटो समेत भुस्खलन भएको छ । 

यस्तो छ जिल्लाहरुको अवस्था 

बाढीका कारण पर्सामा हालसम्म ३ जनाको मृत्यू भएको छ भने ६ वटा घर पूणरुपमा क्षति भएको छ । त्यस्तै जिल्लाको बकहा मैनपुर गाउँपालिकाको वडा नम्बर ४ र ५, बिन्दाबासिनी गाउँपालिकाका वडा नम्बर ३, ४, ११, १६ र १४ अति प्रभावित क्षेत्र हुन् ।

सो जिल्लाबाट प्रहरीले २ हजार ५ सय ६८ बाढी पीडितलाई उद्धार गरेको छ भने २ हजार ५ सय ७२ वटा घरहरु प्रत्यक्ष प्रभावित भएका छन् । जसमध्ये १ हजार २ वटा घर परिवार विस्थापित भएका छन् भने १० हजार सर्वसाधारण प्रभावित भएका छन् । उद्धारका लागि सुरक्षाकर्मीले २ वटा रबरको बोट प्रयोग गरिरहेको जनाएको छ ।

त्यसैगरी बारामा २ जनाको मृत्यू भएको छ । सो जिल्लाका प्रसौनी र विश्रामपुर गाउँपालिका डुवानबाट अति प्रभावित बनेका छन् भने ७ सय बाढी पीडितलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यस्तै डुबानबाट १ हजार ३ सय २४ वटा घरहरु प्रभावित बनेका छन् भने ५ हजार ५ सय १५ सर्वसाधारणहरु प्रभावित छन् ।  ५० वटा घर पूर्णरुपमा क्षति भएको छ ।

यता,  रौतहटमा १० जनाको मृत्यू भएको छ भने १ जना बेपत्ता भएका छन् । गौर नगरपालिका, ईष्ठनाथ नगरपालिका, दुर्गा भगवती गाउँपालिका, गढीमाई नगरपालिका डुवानबाट अति प्रभावित बनेका छन्  ।  उक्त जिल्लाबाट अहिलेसम्म ३ हजार सर्वसाधारणलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । 

बाढीबाट गौर–चन्द्रपुर सडक, गरुडाबाट कटरिया मौलापुर जोड्ने सडकखण्ड, देवाही–गोनाही–मौलापुर सडकखण्ड, गौर–राजदेवी सडक खण्ड, गौरबाट अन्य भागमा जान नसक्ने गरी सडकहरु भत्किएका छन् । यो जिल्लामा ४ हजार घरहरु प्रभावित भएका छन् भने ४ सय घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने १ हजार घर परिवारहरु विस्थापित भएका छन् ।  डुबानमा ३० हजार सर्वसाधारणहरु प्रभावित भएका छन् ।

बाढी पीडितलाई उद्धार गर्नका लागि १० वटा रबरको बोट परिचालन गरिएको छ । त्यस्तै, सर्लाहीमा १ को मृत्यू छ भने ३३ घर पूर्णरुपमा क्षति भएको छ । जिल्लाको रामनगर, बलरा र धनकऔल गाउँपालिका बाढीबाट अति प्रभावित बनेका छन् । डुबानबाट १० हजार ९ सय ३० जनालाई उद्धार गरिएको छ भने २५ हजार ५ सय ४९ घर परिवार प्रभावित भएका छन् । त्यस्तै २ हजार १ सय ५ घरपरिवार संख्या विस्थापित भएका छन् भने १ लाख २५ हजार सर्वसाधारणहरु बाढीबाट प्रभावित छन् ।

उता, महोत्तरीमा बाढीको कारण ६ जनाको मृत्यू भएको छ भने २ हजार घर पूर्णरुपमा क्षति भएका छन् । महोत्तरीको जलेश्वर नगरपालिका, बलुवा नगरपालिका र लोहरपट्टी नगरपालिका बाढीबाट पूर्णरुपमा प्रभावित भएका छन् । बाढीले गर्दा महोत्तरी–जनकपुर, सडकखण्ड र बर्दिवास–जलेश्वर सडकखण्ड पूर्णरुपमा ठप्प छ । यहाँ २ लाख सर्वसाधारणहरु प्रभावित छन् भने २ हजार घर पूर्णरुपमा क्षति भएका छन् । यो जिल्लामा ५ हजार २ सय घर परिवार पूर्ण विस्थापित भएका छन् । 

त्यसैगरी धनुषामा ५ जनाको मृत्यू भएको छ भने १ जना बेपत्ता छन् ।  जनकनन्दनी गाउँपालिका डुबानबाट अति प्रभावित छ भने १२ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । त्यस्तै २१ हजार ५ सय ६८ व्यक्ति प्रभावित भएका छन् भने २४ घर पूर्णरुपमा क्षति भएका छन् । त्यस्तै यो जिल्लामा २ सय ७९ घर परिवार विस्थापित छन् ।

त्यसैगरी सिरहामा ५ जनाको मृत्यू भएको छ भने ३ जना सामान्य घाइते भएको छ । यो जिल्लाको सिरहा नगरपालिकाको वडा नम्बर १, २, ६, लाहान नगरपालिकाका वडा नम्बर २ र २० तथा कल्याणपुर नगरपालिकाका वडा नम्बर २, ३, ५ र १२ एवम कर्जन्हा नगरपालिकाका वडा नम्बर २ अति प्रभावित क्षेत्रका रुपमा रहेका छन्  । यहाँ अहिलेसम्म १२ जनाको उद्धार भएको छ भने ५ हजार २ सय ३२ जना सर्वसाधारण प्रभावित छन् भने १ हजार ११ वटा घर परिवार पूर्णरुपमा क्षति भएको छ ।

त्यस्तै यहाँ १ हजार ८ सय ३४ घर पूर्णरुपमा विस्थापित भएको जनाइएको छ । सप्तरीमा भने कुनै किसिमको मानवीय क्षति भएको छैन । यो जिल्लाका अति प्रभावित क्षेत्रमा हनुमान नगरपालिका, सप्तकोशी नगरपालिका, कोइलारी गाउँपालिका र त्रिहुत गाउँपालिका रहेका छन् । ५० घर पूर्णरुपमा क्षति भएका छन् भने ३ सय घर परिवार विस्थापित भएका छन् ।  १ हजार २ सय जना अति प्रभावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप