बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्यान लिनुभयो ? यदि लिनुभएको छैन भने तलब नपाउनुहोला

भोलिदेखि हुँदैछ प्यान अनिवार्य, यसरी लिनुहोस् प्यान
मङ्गलबार, ३१ असार २०७६, १३ : ४६
मङ्गलबार, ३१ असार २०७६

सरकारले भोलि (साउन १) बाट प्यान अनिवार्य गरेको छ । यसले गर्दा कुनै पनि फर्म, निकायले स्थायी लेखा नम्बर (प्यान) बिना तलब दिन पाउने छैन ।

उनीहरुले दिने तलब खर्च हो । लेखा परीक्षण गर्दा यसलाई खर्चमा लेख्ने गरिन्छ । यदि प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिएको छ भने त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन पाउने छैनन् ।

कुनै पनि कर्मचारीलाई तलब बैङ्क खातामार्फत् दिनुपर्ने भएकाले प्यान अनिवार्य हुनेछ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार हालसम्म ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेका छन् । उसको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।

हालसम्म ९ लाख जनाले प्यान नम्बर लिएको भनिएको छ । आर्थिक विधेयकमा कर्मचारीलाई तलब दिँदा प्यान अनिवार्य गर्नुपर्ने उल्लेख छ ।

स्थायी लेखा नम्बर नभएको एक हजार रुपैयाँभन्दा माथिको मूल्यको विजक वापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।

यो नयाँ व्यवस्थासँगै एक हजारभन्दा कम पारिश्रमिक हुनेले नगद भुक्तानी पाउँछ । नेपालका संस्थागत क्षेत्रमा काम गर्ने धेरैजसोले प्यान नम्बर लिएका छैनन् ।

व्यवसायी भन्छन् – एक हजार कम भयो, प्यान नभएकालाई कामै नदिनु ?

सरकारको प्यानको व्यवसायी तथा रोजगारदाताले विरोध गरेका छन् । सरकारले हजारभन्दा माथिको पारिश्रमिक बैङ्क खातामार्फत दिनुपर्ने प्रावधान गरेको र त्यसमा प्यान अनिवार्य भएकोमा कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेस अग्रवालले सरकारले पारिश्रमिकको सिलिङ एक हजार राख्नु भनेको निकै कम हो यसलाई कमसेकम पाँच हजार रुपैयाँ राख्नुपर्ने तर्क गर्छन् ।

उनी भन्छन्, ‘मानौँ कुनै कामदारलाई कुनै सामान बोक्न लगाउनु छ अर्थात् लोड गर्न लगाउनुछ भने कम्तिमा पनि हजार÷पन्ध्र सय लिन्छन् । यस्तो अवस्थामा काम लगाउनुअघि प्यान नम्बर सोध्नुपर्यो । यदि प्यान नम्बर छैन भने उनीहरुलाई काम नै नदिनु त ? यो त धेरैको रोजगार खोस्ने  काम सरकारले गर्दैछ ।’

त्यस्ता कामदारहरुले प्यान नम्बर लिनै न चाहने उनी भन्छन् ।

प्यान लिनको लागि अनलाइन फारम भर्ने तरिका

सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेभसाइट  www.ird.gov.np

टाइप गरेर होम पेजमा भएको Taxpayer मा क्लिक गरेर Registration मा जानु होस । त्यसपछि एप्लिकेसन फर रजिष्ट्रेसनमा क्लिक गरी नाम थर भएको बक्समा आप्नो नाम र थर लेखेर भर्नुहोस् ।

त्यसपछि युजर नेममा आफुले सम्झने नाम राख्नुहोस् । पासवर्ड हाल्नुहोस् र फेरि अर्को बक्स रिपासवर्डमा त्यही अघि राखेको पासवर्ड राख्नुहोस्  । सम्पर्क नम्बर र इमेल ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना आइआरओ नम्बरमा खुलाउनुहोस् । त्यसपछि ओके बटनमा थिच्नुहोस् ।

यति गरेपछि तपाइको व्यक्तिगत विवरण माग्नेछ । सो अनुसार भर्दै जानुहोस र सबमिट गर्नुहोस् ।

सबमिट भएपछि सबमिट र सेभ अप्सन इनेबल हुन्छ ।

त्यसपछि प्रिन्टमा थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।

सोही प्रिन्ट लिएर सम्बन्धित कार्यालयमा जानुहोस् ।

कार्यालयले तपाईंलाई विवरण जाँच गरेर प्यान नम्बर दिनेछ । यसका लागि कुनै शुल्क लाग्ने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप