शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति कार्यालयभित्रको फोटो सार्वजनिक गर्ने अभिनेता सरोज खनालमाथि लाग्यो गम्भीर आरोप

मङ्गलबार, ३१ असार २०७६, १२ : २३
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं – गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज खनाल शौचालयको कमोडमा बसेको तस्विर यतिबेला भाइरल भएको छ ।
तस्विर बाहिरिएसँगै राष्ट्रिय अवार्डलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन् । 

सरोजको उक्त तस्बिरले देशलाई नै लज्जित बनाएको भन्दै कलाकर्मीले सामाजिक संजालमा टिकाटिप्पणी गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उनकै निवासमा बाँडिएको ०७३, ०७४ र ०७५ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा बस्ने ठाउँ नभएर कलाकार शौचालयको कमोडमा बस्न बाध्य भएको भन्दै सरोजले तस्बिर पोष्ट गरेका थिए । 

उक्त तस्बिरका कारण आयोजक विकास बोर्डप्रति कलाकर्मीले समाजिक संजालबाट आक्रोस पोखिरहेका छन् ।

राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा अभिनेता सरोज खनालको फोटो र फेसबुक प्रतिक्रिया बारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ । 

सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै बोर्डले अभिनेता सरोज खनालको उक्त तस्बिर कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको जनाएको छ । 

यस्तो छ बोर्डको विज्ञप्ति
 प्रेस विज्ञप्ति

२०७६ असार ३० गते सोमबारः चलचित्र विकास बोर्डले यही २०७६ असार २७ गते शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा अभिनेता सरोज खनालको फोटो र फेसबुक प्रतिक्रिया बारे चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । 
अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सभा हलमा कार्यक्रम प्रस्तुत गर्ने क्रममा त्यहाँ रहेको शौचालयमा बसेर व्यङ्ग्यात्मक शैलीमा फोटोसेशन गरेर सामाजिक सञ्जालमा पोष्ट गरी लेख्नु भएको स्टाटस र त्यसपछि विभिन्न सञ्चार माध्यममा आएको समाचार बारे बोर्ड निम्न कुरा प्रस्ट पार्दछ । 

१.     राष्ट्रपति भवनको सभा हलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेशन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ । 

२.     पुरस्कार समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र नृत्य प्रस्तुत गर्नुभन्दा आधा घण्टा अघि तयारीका लागि कलाकारहरु मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको जानकारी गराउँदछौं । शौचालयमै बस्नु पर्ने गरी कुनैपनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनैपनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभा हलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाईएको र उहाँहरुले पनि हलमै बसेर कार्यक्रम हेरेको पनि बोर्ड स्पष्ट पार्दछ ।

३.    कार्यक्रम सुरु हुनुअघि र पछि पनि नृत्य प्रस्तुत गर्ने सम्पूर्ण कलाकारहरुलाई कुनै असुविधा नहोस् भनेर  बोर्डका अधिकृत तहका ४ जना कर्मचारी सहित १० जना कर्मचारी उहाँहरुको सेवामा रहेको र उहाँहरुलाई सोक्रममा खाजासँगै आवश्यक पिउने पानी समेत उपलब्ध गराएको स्पष्ट पार्दछ । सो क्रममा कर्मचारी पनि कलाकारहरुसँगै प्रतीक्षा कक्षमै थिए । अभिनेता खनालले सो क्रममा आफूलाई असुविधा भयो भनेर तत्क्षण सँगै रहेको बोर्डका कर्मचारीलाई कुनैपनि गुनासो नगरेको बोर्ड स्पष्ट पार्दछ । 

४.     राष्ट्रिय चलचित्र पुरस्कारको सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयबाट कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराइएकाले त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जानकारी गराउँदछ । तसर्थ, यो विषयसित राष्ट्रपति कार्यालयको कुनै सम्बन्ध नरहेको सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गर्दछ । 

५.     सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी कमजोरी भएको भए बोर्ड क्षमा चाहन्छ । र, आगामी दिनमा पुरस्कार समारोहलाई अझ परिस्कृत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछ । 

के भन्छन् सरोज ?
यता अभिनेता सरोज खनालले भने अवार्डको नाममा राष्ट्रपति भवनमा कलाकारको अपमान भएको दाबी गरेका छन् । नृत्यका लागि सहभागी सरोजले राष्ट्रिय अवार्डमा आफूले दिएको प्रस्तुति यो नै पहिलो र अन्तिम भएको बताए ।
    
घटना के हो ?
अवार्ड वितरण गरिएको दिन अर्थात गत शुक्रबार अभिनेत्री करिस्मा मानन्धरले घुमाउरो शैलीमा राष्ट्रपतिको घरमा नाच्न आफूलाई स्वीकार्य नभएको भन्दै एक स्टाटस लेखेकी थिइन् ।

उक्त स्टाटसमा कमेन्ट गर्दै अभिनेता सरोज खनालले अवार्ड सकिए लगत्तै ट्वाइलेटको कमोडमा बसेको तस्विर सहित क्याप्सनमा लेखेका थिए, ‘सम्मानित हुने र सम्मान गर्ने सोफामा विराजमान थिए तर, हामी पर्फमर करिब ३५ जनालाई ८ र १० को कोठामा कोचेर राखियो । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर पालो पर्खी बसेँ ।’ 

सरोजको कमेन्टसहितको तस्बिर सार्वजनिक भएको केही समयमै सामाजिक संजालमा भाइरल हुन पुगेको थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप