राप्ती नदीको बीचमा परेका सर्वसाधारण भन्छन्ः हामी अब कहाँ जाऔं ?
बुटवल– ‘हामीलाई राप्ती नदी र डुडुवा खोलाले मात्र होइन, नेपाल सरकारले नै चारैतिरबाट घेरेर राखेको छ । हामी कहिल्यै गुहार पाउन नसकेका अभागी जनता हौं’–बाँकेको डुडुवा गाउँपालिका १, कृषि चौफेरी टोलका श्रीकिशुन यादवले भने, ‘हामी राज्य र जुनसुकैनेताबाट पनि प्रयोग भए पछि फ्याँक्ने कण्डम जस्तै भएका छौ ।’
उनले अविरल वर्षा भएदेखि चारैतिर नदि र खोलाले घेरिएर त्रासमा बाँचेको बताए । उनले प्रतिप्रश्न गरे –‘आखिर हामी कहाँ जाऔं ? कसले सुन्छ हाम्रो कुरा ? हामीले त हाम्रो सरकार नै नभएको महशुस गर्दै आएका छौं ।’
तीनवटै मौसमको त्रासमा
उनका अनुसार कृषि चौफेरी गाउँमा करिब सय धुरी बसोबास गर्दछन् । उनीहरुका लागि बर्षका तीनवटै मौसम हानिकारक छन् । अधिकांशका घरहरु फुसले छाएका छन् । हिउँदे याममा घर आगोले जलेर नष्ट हुने गरेका छन् । जाडो मौसममा सितलहरको शिकार बन्छ त्यही वस्ति ।
अहिले बर्षायाममा बाढीले घेरेर त्रासमा बाँच्दै आएका छन् त्यहाँका जनता । उक्त टोलमा झण्डै २ सय ५० बढी घरधुरी त्रासमा बाँचेका छन् । कैयौंले सुरक्षित स्थानमा बसाई सारेका छन् । राप्ती नदिमा पानीको वहाव बढेदेखि रातमा सुत्न र खान नपाएको अधिकांशले गुनासो गर्छन् ।
चौफेरीका रेशमकुमार मौर्यले राप्ती नदीको सतह बढ्दै गएपछि डुवानको डरले अन्नपात, चौपाया र बालबालिकालाई सुरक्षित स्थानमा सारिएको बताए । चारैतिरबाट राप्ती नदी र डुडुवा खोलाले घेरेपछि स्थानियवासी तितरवितर भएर बसेको उनले बताए । चौफेरी पुत्तन बडही गाउँका वासिन्दाले गाउँ छाडेको ९ दिन भएको समेत उनले बताए ।
पहाडमा पक्की पुल बने, हामीले झोलुङ्गे पुल समेत पाएनौ
श्रीकिशन यादव भन्छन्, ‘हामीले सुन्छौ विकट पहाडमा समेत मोटरबाटाहरु पुगेका छन् । ठाउँ–ठाउँमा पक्की पुलहरु बनेका छन् । तर यस गाउँमा विकासका नाममा एउटा झोलुङ्ग पुल समेत आएको छैन ।
मोटरबाटो नहुँदा वडा कार्यालय सम्म तीनचार घण्टा हिडेर पुग्छौं । विद्यालय भवन राम्रो नहुँदा बालबालिकाहरु असुरक्षित हुँदै कक्षा ५ सम्म पढ्छन् र त्योभन्दा माथिल्लो कक्ष पढ्न घण्टौं हिँडेर जान्छन् । नेपालगञ्जबाट पूर्वतर्फ हाम्रो बस्ती छ । दुई तीन घण्टा लाग्छ हिँडेर पुग्न ।’
उनले थपे, ‘अहिलेसम्म यस वस्तीमा विद्युतका पोल समेत गाडिएको छैन । सोलर बाँड्छौ नागरिकताको फोटोकपी बुझाउनुस् भनेको पनि वडाध्यक्षले धेरै भयो । अहिलेसम्म अत्तोपत्तो छैन । दुई–तीन जना मान्छे वा चौपायाहरु डुबानमा परेर नमरेको बर्ष छैन ।
चिसो मौसममा सितलहरले कोही मर्ने कोही सिकिस्त बिरामी हुने गर्दछन् । हिउँदमा फुसका घर जलेर जनधनको क्षति हुँदै आएको छ । आफुहरु पुस्तौं देखिका वासिन्दा हौं । हामी सक्कली नेपालीहरुलाई हेर्ने कोही छैन , कतिपय नक्कली नेपालीहरु बरु नेताहरुको नजरमा परे होलान्, हामी पर्न सकेनौ ।’
सुरक्षित वस्तीमा सारिएकाहरु पनि असुरक्षित
२०६३ सालमा बाढीबाट विस्थापितहरुलाई सरकारले हजरत सामुदायिक वनमा सारेको थियो । १ सय ४४ घरधुरीलाई त्यस वनमा एक–एक कठ्ठा जमिन दिएर सारिएको हो । उनीहरुको गरिखाने जमिन बाढी प्रभावित पुरानो गाउँमै रहेकोले उनीहरु मर्कामा परेका छन् । उनीहरुले त्यस स्थानमा आफुहरु असुरक्षित भएकोले त्यहाँ सरकारले रुख रोपेर आफुहरुलाई अन्यत्रै सार्नुपर्ने माग गरेका छन् । त्यहाँका अधिकांश मानिस स्वास्थ्य सेवा, शिक्षा र रोजगारीबाट बञ्चित छन् ।
अधिकांश चरम गरिबी र अभावमा बाँचेका छन् । डुडुवा गाउँपालिका १ का वडाध्यक्ष पञ्चेश्वर कुर्मीले पनि त्यस टोलका वासिन्दा असुरक्षित हुँदै र विकासबाट पछाडी पर्दै आएको स्वीकार गरे । मधेसी मूलका मानिस मात्रै बस्ने तराईका अन्य स्थानमा समेत विकास हुन सकेको छैन । दुई चारजना पहाडी मुलका ब्राम्हण क्षेत्री पसेको तराईमा भने एकाएक विकास भएको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन