४० लाख रकम मागेर बेसबल हेर्न श्रीलङ्का भ्रमणमा निस्किए अर्थ समितिका सभापति
१४ औँ पश्चिम एसिया बेसबल कपमा सहभागी हुनका लागि नेकपाका सांसद एवम् अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल श्रीलङ्का पुगेका छन् ।
बेसबल प्रतियोगितामा सहभागिता जनाउन पुगेको नेपाली टोलीसँगै अर्थ समितिका सभापति दाहाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, पूर्व सभासद अनन्त पौडेल पनि श्रीलङ्का पुगेका हुन् ।
खेल क्षेत्र वा बेसबलसँग कुनै सरोकार नभएपनि अर्थ समितिका सभापति दाहाल नातामा भाई पर्ने दीपक न्यौपानेको डिजाइनमा सरकारी खर्च गर्नेगरी श्रीलङ्का पुगेका हुन् ।
सोमबारबाट श्रीलङ्कामा सुरु भएको १४ औँ पश्चिम एसिया बेसबल कपमा नेपालले सहभागिता जनाएको छ । नेपालको पहिलो खेल १६ जुलाईमा श्रीलङ्कासँग हुँदै छ ।
अर्थ समितिका सभापति दाहालको मामाको छोरा हुन् दीपक न्यौपाने । न्यौपाने नेपाल बेसबल तथा सफ्टबल एशोसिएसनका महासचिवसमेत हुन् । त्यसअघि उनी पूर्व सभासद अनन्त पौडेलका स्वकीय सचिव थिए ।
हाल दीपक न्यौपाने राष्ट्रिय सभाका सांसद रामचन्द्र राईका स्वकीय सचिव रहेका छन् । यिनै दीपकको डिजाइनमा राज्यकोषबाट ४० लाख रुपैयाँ लिने गरी करिब ३५ जनाको टोलीसहित उनीहरु श्रीलङ्का पुगेका हुन् ।
शनिवार श्रीलङ्का पुगेर उनीहरुले घुमघामसमेत सुरु गरेका छन् । आइतबार उनीहरुले श्रीलङ्काको समुद्री तट घुमेको फोटोसमेत सामाजिक सञ्जालमा पेश गरिसकेका छन् ।
अर्थ समितिका सभापति कुन उद्देश्यले किन श्रीलङ्का पुगेका हुन् भनेर सभापति दाहालका स्वकीय सचिव हरिशरण तिमल्सिनालाई सोध्दा उनले सभापति श्रीलङ्का गएको पुष्टि गरेपनि किन र कसको खर्चमा गएको हो थाहा नभएको बताए ।
उनले भने ‘सभापतिज्यू, शनिबार श्रीलङ्का जानुभएको हो । मैले सुनेअनुसार उहाँ बेसबल प्रतियोगितामा सहभागिता जनाउन जानुभएको छ । तर, भ्रमण औपचारिक हो कि अनौपचारिक हो र कसको खर्चमा कसरी जानुभएको हो त्यो चाहिँ थाहा छैन ।’
अर्थ समितिका सभापति बेसबल प्रतियोगितामा सहभागी हुनुपर्ने कुनै आधार र कारण छैन । यद्यपि उनले सभामुख कृष्ण बहादुर महरालाई मौखिक जानकारी गराई केही दिनका लागि श्रीलङ्का गएको बताएका छन् ।
बेसबल संघका महासचिव दीपक न्यौपानेले राज्यकोषबाट रकम लिने गरी उनीहरुलाई श्रीलङ्का घुमाउन लगेका हुन् ।
बेसबस संघकै लेटर प्याडमा खेलकुद परिषद्मा ४० लाख रकम माग गरी दीपकले निवेदन दिएका थिए । तर खेलकुद परिषद्मा रकम नभभएको भन्दै परिषद्ले खेलकुद मन्त्रालयलाई रकम दिलाइदिन सिफारिश गरी पठाएको छ ।
हेर्नुहोस् परिषद्ले खेलकुद मन्त्रालयलाई लेखेको पत्र ।
यता, खेलकुद मन्त्रालयमा पनि उक्त शीर्षकमा रकम नभएको भन्दै ४० लाख रकम निकाशाका लागि अर्थ मन्त्रालयलाई पत्र लेखी पठाएको छ ।
छिटो पत्र लेख्न र रकम निकासाका लागि दबाब दिन अर्थ समितिका सभापति आफै खेलकुद मन्त्रालयमा उपस्थित भएको मन्त्रालयका एक अधिकारीले रातोपाटीलाई बताए ।
खेलकुद मन्त्रालयले चलानी नम्बर २१२१ मिति २०७६ असार २२ गतेको पत्रबाट अर्थ मन्त्रालयसँग रकम निकासाका लागि सिफारिश गरी पठाएको छ । खेलकुद मन्त्रीले अर्थ मन्त्रालयमा सिफारिश गर्ने तोक आदेश दिएपछि मन्त्रालयले अर्थमा यो सिफारिश पठाएको हो ।
हेर्नुहोस् खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयलाई पठाएको पत्र ।
असार २२ गते अर्थ मन्त्रालयमा यो पत्र दर्ता भएको छ । अर्थसचिव राजन खनाललाई दबाब दिएर अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले १० लाख रकम स्वीकृत गराएको श्रोतले दाबी गरेको छ । यद्यपि अर्थ मन्त्रालयले भने यस सम्बनधमा हालसम्म कुनै निर्णय नभएको प्रतिक्रिया दिएको छ ।