बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

सोमबार, ३० असार २०७६, १२ : ५३
सोमबार, ३० असार २०७६

बाँके– बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक, खजुरा–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की शनिबार राति १२ बजे फरार भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका चार थुनुवामध्ये तीन जना शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका हुन् । फरार भएकाहरुमध्ये विक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ ।

‘चार जनामध्ये कर्तव्य ज्यान मुद्दाका आरोपी त्यहीँ छन्’, प्रहरी उपरीक्षक वलीले भने, ‘घटनालगत्तै म आफैँ त्यहाँ पुगेर हेर्दा भेन्टिलेटरको ग्रिल भित्रपट्टि कपडाले छोपेर राखेको अवस्थामा भेटियो । राम्रोसँग जडान नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको पाइएको छ ।’

तेइस जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मख्खनप्रसाद यादव फोक्सोको क्यान्सर भएका कारण थेरापी गराउन ६ दिनको बिदा लिएर उपचारका लागि काठमाडौं गएकै दिन शनिबार राति उनीहरु फरार भएका हुन् ।

प्रहरी निरीक्षक यादव बिदामा रहेपछि कार्यालयको जिम्मेवारी प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले सम्हालेका थिए । उनीहरु भागेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयले विभिन्न माध्यमबाट खोजी जारी राखे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप