शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुँजीवृद्धि अनुसार नाफा नहुँदा बीमा कम्पनीलाई सकस

राम्रो लाभांश दिन नसक्दा संस्थापक सेयरधनी नै बाहिरिने खतरा
सोमबार, ३० असार २०७६, १० : ००
सोमबार, ३० असार २०७६

निर्जीवन बीमा कम्पनीहरुले पुँजीवृद्धि अनुसारको व्यवसाय विस्तार गर्न नसक्दा लगानीकर्तालाई राम्रो लाभांश दिन नसक्ने सम्भावना बढेर गएको छ । बीमा समितिका एक अधिकारीले कम्पनीहरुले राम्रो व्यापार गर्न नसक्दा ५/१० प्रतिशतभन्दा बढी लाभांश दिन नसक्ने अवस्थामा पुगेको बताए ।

अहिले निर्जीवन बीमा कम्पनीले कम्तीमा एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने प्रावधान छ । कम्तीमा एक अर्ब चुक्ता पुँजीलाई आधार मान्ने हो भनेपनि अहिले २० वटा निर्जीवन बीमा कम्पनी छन् । यस आधारमा उनीहरुको चुक्तापुँजी २० अर्ब हुन्छ । २० अर्ब चुक्तापुँजी भएको बीमा कम्पनीले अहिले औसतमा वार्षिक २१ अर्बको व्यापार विस्तार गरेका छन् । यसमा कम्तीमा ६० प्रतिशत रकम दाबी भुक्तानीमै कम्पनीहरुले खर्च गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि  एउटा कम्पनीको ५० देखि ६० करोड मात्र मार्जिन रहन्छ । एक अर्ब लगानी गरेको  कम्पनीले सोही अनुसारको लगानीकर्तालाई लाभांश दिनुपर्ने, कर्मचारी खर्र्च, कार्यालय सञ्चालन खर्च र सफ्टवेयर खर्च बुझाउँदा न्युनमात्र रकम बाँकी रहन जान्छ । यसले पनि ती कम्पनीले आफ्ना लगानीकर्तालाई ५/१० प्रतिशत पनि लाभांश दिन नसक्ने अवस्था रहेको ती अधिकारीले भने ।

ती अधिकारी भन्छन्, ‘जुन अनुपातमा चुक्तापुँजी बढ्यो, सो अनुपातमा नाफा बढाउन नसकेपछि संस्थापकले लगानी फिर्ता लैजाने अवस्था आएको छ । यसले सर्वसाधाण लगानीकर्तामा नराम्रो छाप परेर भटाभट सेयर बेच्न सक्नेछन् । बीमा कम्पनीहरुले पनि नेपाल सरकारले अनिवार्य गरेको बाहेकका बीमा पोलिसी बेच्न सकिरहेका छैनन्  ।’

अधिकांश बीमा कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ भने कतिपयले लाभांश बिनै साधारण सभा घोषणा पनि गरेका छन् । एभरेष्ट, हिमालयन जनरल, आइएमइ जनरल, लुम्बिनी जनरल, एनएलजी युनाइटेड इन्सुरेन्सले अहिलेसम्म लाभांश प्रस्ताव गरेका छैनन् । यी त प्रतिनिधी मात्र भए । राष्ट्रिय बीमा कम्पनीले पनि लाभांश प्रस्ताव गरेको छैन ।

नयाँ कम्पनीले लाभांश दिन नसकेपनि लामो समयदेखि सञ्चालनमा रहेका कम्पनीले समयमै लाभांश घोषण नगर्दा अथवा राम्रो लाभांश दिन नसक्दा लगानीकर्ताहरु मारमा परेका छन् ।

४/४ वटा जीवन र निर्जीवन बीमाको पुँजी अझै पुगेन

बीमा क्षेत्रको नियामक बीमा समितिले गत असार मसान्तमै सबै बीमा कम्पनीले तोकिएको पुँजी वृद्धि गरिसक्नुपर्ने निर्देशन दिएको थियो । तर सो समयमा धेरै जसो बीमा कम्पनीले तोकिएको पुँजीवृद्धि गर्न सकेनन् । त्यसपछि ३÷३ महिना गरेर दुई पटक पुँजीवृद्धिको समय थप गर्न सकिने प्रावधान अनुरुप ६ महिना समय थप पनि भयो । घोषित रुपमा २०७५ पुस मसान्तसम्म  पुँजीवृद्धि गरिसक्नुपर्ने अवस्था पार भयो र अर्को अघोषित ६ महिनाको  म्याद थप भयो जुन ६ सकिन अब २ दिन मात्र बाँकी छ तर पनि अझै ८ वटा बीमा कम्पनीले पुँजीवृद्धि गर्न सकेका छैनन् । 

पुँजी नपुर्याउने बीमा कम्पनीमा सुर्या लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र राष्ट्रिय बीमा संस्थान छन् ।

सुर्या लाइफले बीमा समितिले तोकेको न्युनतम २ अर्ब चुक्तापुँजी पुर्याउन   हकप्रदको बाटो रोजेको छ । कम्पनीले पुँजीवृद्धिको लागि ७० प्रतिशत हकप्रद जारी गर्दैछ । कम्पनीले यस हकप्रदको रेटिङ समेत गराइसकेको छ । सूर्या लाईफ चुक्तापुँजी पुर्याउने प्रक्रियामा रहेको देखिएको छ ।

यता एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स जुन नीर्जिबन बीमा कम्पनी हुन यीनीहरुले पनि तोकिएको समयमा पुँजी पुर्याउन सकेनन् । यता एभरेष्ट इन्सुरेन्सले पुँजी वृद्धिको लागि हकप्रदको साहारा लिएपनि यसको हकप्रद सबै बिक्री भएन । यसको ५ लाख २९ हजार ८ सय १९ कित्ता सेयर बिकेको छैन । अब उसले पुनः लिलामीमा ल्याउनुपर्नेछ ।  यता युनाइटेडले पनि १ः२.४ को अनुपातमा हकप्रद ल्याएर पुँजी वृद्धि गर्ने अवस्थामा छ ।

पहिलो तीन महिना मर्जरको प्रस्ताव पर्खने, प्रस्ताव नआए फोर्स मर्जरमा लैजाने

पुँजी पर्याउन नसकेका बीमा कम्पनीलाई मर्जरमा लैजाने तयारी बीमा कम्पनीले गरेको छ । नयाँ आर्थिक वर्ष लागेपछि पहिलो तिन महिना कम्पनीहरुले मर्जरका लागि पठाउने प्रस्तावलाई कुर्ने र सो अवधिमा प्रस्तावन नआए फेर्स मर्जरमा लैजाने बीमा समिति स्रोतले बतायो । बीमा समितिले बिमक गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७० संशोधन गरी नयाँ निर्देशिका समेत यस अघिनै जारी गरिसकेको छ । पुँजी नपुर्याउनेका लागि र नयाँ बीमा कम्पनीलाई इजाजत नदिन मर्जर नीति ल्याएको बीमा समितिले भनिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप