विश्वकप क्रिकेट फाइनल : न्यूजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड बन्यो च्याम्पियन
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।
रोचक खेलको सुपर ओभरमा इङ्ल्यान्डले जस्तै न्युजिल्यान्डले पनि समान १५ रन बनाएको थियो । तर बढी बाउन्ड्री हानेको आधारमा इङ्ल्यान्ड विजेता बन्यो । सुपर ओभरमा इङ्ल्यान्डले दुई चौका हान्यो भने न्युजिल्यान्डले एक छक्का मात्र हानेको थियो ।
इङ्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको हो । सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीनपटक विश्वकपको फाइनलमा पुगे पनि उपविजेतामा सीमित बनेको इङ्ल्यान्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचाल्यो ।
न्युजिल्यान्डले दिएको दुई सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ४१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । इङ्ल्यान्डका लागि बेन स्टोक्स र जस बटलरले अर्धशतकीय पारी खेले ।
८६ रनमा चार विकेट गुमाइसकेको अवस्थामा स्टोक्स र बटलरले एक सय १० रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएका थिए । स्टोक्सले अविजित ८६ र बटलरले ५९ रन बनाए । जोनी बेयरस्टले ३६ र जासन रोयले १७ रन बनाए ।
कप्तान इयोन मोर्गनले नौ रनमा आउट भए । न्युजिल्यान्डका लुकी फर्गुसन र जेम्स निसामले तीन तीन विकेट लिए । म्याट हेनरी र कोलिन डे ग्रान्डहोमले एक एक विकेट लिएका थिए ।
यसअघि लर्डसमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा दुई सय ४१ रन बनाएको थियो । न्युजिल्यान्डका हेनरी निकोल्सले अर्धशतकीय इनिङ खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५५ रन बनाए ।
टम लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, जेम्स निसाम र मार्टिन गप्टिलले समान १९, कोलिन डे ग्रान्डहोमले १६ र रस टेलरले १५ रन बनाए । इङ्ल्यान्डका क्रिस वाक्स र लियाम प्लुनकेटले तीन तीन विकेट लिए । यसैगरी जोफरा आर्चर र मार्क उडले एक एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी