बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ पाठ्यक्रम बनाउन बुटवलमा शैक्षिक संगोष्ठी

आइतबार, २९ असार २०७६, १७ : ४६
आइतबार, २९ असार २०७६

बुटवल– बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमै पहिलो शैक्षिक संगोष्ठी गर्दै आगामी शिक्षाका बारेमा विशेष बहस सुरु गरेको छ ।  स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र कक्षा–११, १२ का लागि प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाका विषयमा विज्ञहरुलाई एकै ठाउँमा भेला गराएर उपमहानगरपालिकाले बहस थालेको हो ।

अबको शिक्षा कस्तो बनाउने र त्यसबाट उत्पादित जनशक्तिलाई कहाँ उपयोग गर्ने भन्ने विषयमा योजना बनाउन विज्ञहरुको समिति नै बनाएर छलफल थालिएको हो ।  कार्यक्रममा पढाउने, सिकाउने र सँगसँगै तत्परता जगाउने खालको शिक्षाको विकास गर्ने भन्दै सोही खालको पाठ्यक्रम बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।   

उपमहानगरले तयार पारेको स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाका विषयमा सुझाव सङ्कलनका लागि संगोष्ठी गरिएको हो ।  उपमहानगरले स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाको मस्यौदा तयार पारेको छ । आउँदो शैक्षिक शत्रदेखि लागू गर्ने यिनै विषयका मस्यांैदामा उपमहानगरपालिकाले विज्ञहरुको सुझाव सङ्कलन गरेको हो । 

गोष्ठीको शुभारम्भ गर्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शैक्षिक विकासका लागि नयाँ नीति र नयाँ योजनाको खाँचो रहेको बताए । बुटवलले बनाएको स्थानीय पाठ्यक्रम यहाँका अरु स्थानीय तहका लागि पनि उपयोगी दस्तावेजको काम गर्ने मन्त्री बरालले विश्वास व्यक्त गरे । 

संगोष्ठीमा शिक्षाविद् डा.विद्यानाथ कोइरालाले विद्यालयलाई बालबालिकाका लागि बहुज्ञान सिकाउने थलोका रुपमा विकास गर्न विकास गर्नुपर्ने र उनीहरुले रोजेको मातृभाषाका कक्षा पनि चलाउनुपर्ने सुझाव दिए । विद्यार्थीले खोजे अनुसारको सीप सिकाउने र त्यो सीपलाई बेच्ने ठाउँको पनि विकास गरिनुपर्ने डा.कोइरालाको सुझाव छ । 

बालबालिकालाई चुनौतीका बारेमा जानकार गराउने र चुनौतीसंग जुध्न पनि सिकाउनुपर्ने भन्दै विज्ञ कोइरालाले समुदायसँग जोड्ने र समुदायबाटै केही कुरा सिक्ने वातावरणको विकास गर्नुपर्नेमा जोड दिए । प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षा काठमाण्डौका प्राडा राजेन्द्रप्रसाद अधिकारी, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराई, शिक्षाविद् तथा भरतपुर उपमहानगरपालिकाका शिक्षाविज्ञ रमाकान्त सापकोटालगायतका विज्ञहरुले बुटवल उपमहानगरपालिकाले शैक्षिक विकासका क्षेत्रमा नमुना काम गरेको भन्दै प्रशंसा गरे । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षाविज्ञहरु रामलाल श्रेष्ठ, बुद्धिसागर भट्टराई र छवि नेपालले  स्थानीय पाठ्यक्रम, नगर शिक्षा योजना र प्राविधिक तथा व्यवसायिक सीपमूलक शिक्षाका बारेमा बुटवलका लागि तयार पारिएका योजनाहरु प्रस्तुत गरेका थिए । 

विज्ञहरुका सुझावका आधारमा मस्यांैदालाई अन्तिम रुप दिइने र आउँदो शैक्षिक शत्रदेखि लागू गरिने बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालले जानकारी दिए । यी योजनाहरुका बारेमा समूहहगत छलफलमार्फत निश्कर्ष निकाल्दै विज्ञहरु सामू प्रस्तुत गरिएको र त्यहाँबाट आएका निचोडलाई बुटवलको शैक्षिक योजनामा समेटिने उपसचिव खनालले बताए । 

बुटवल उपमहानगरपालिकाले आधारभूत तहदेखि कक्षा ८ सम्म पठन पाठन हुने गरि एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार पारेको छ । बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृति, धार्मिक, समाजिक र विविध विषयहरु समेटेर बुटवलको चिनारी गराउने उद्देश्यले यहाँको अलग्गै स्थानीय पाठ्यक्रम तयार पारिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप