शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

आइतबार, २९ असार २०७६, १३ : २८
आइतबार, २९ असार २०७६

रुकुम– जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । 

च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहेका छन् । त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनिषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिरामी सबैको मुसीकोट नगरपालिका–१ खलङ्गाको साझा अस्पतालमा उपचार भइरहेको छ । अहिले बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार जङ्गलबाट ल्याएको च्याउ पकाएर हिजो साँझ खाएका उनीहरु लगत्तै बिरामी परेका थिए । समयमै स्वास्थ्य संस्थामा ल्याएका कारण उनीहरुलाई केही हुन नपाएको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ । 

यसैबीच प्रहरीले जङ्गली च्याउ नखान आग्रह गरेको छ । जङ्गली च्याउ विषालु हुने र त्यसको सेवनबाट ज्यानै जाने भएकाले जङ्गलबाट ल्याएको च्याउ नखान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले सबैलाई आग्रह गरे । सधैँ खाइरहेको र चिनेको च्याउसमेत विभिन्न कारणले विषालु हुनसक्ने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन् । जङ्गलमा पाइने विभिन्न प्रकारका च्याउ तरकारीको रुपमा खाने गरिन्छ ।

च्याउ खाँदा सात बिरामी

जाजरकोट– जङ्गलबाट ल्याएको च्याउ खाँदा जाजरकोटमा सात बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–१ सिल्पाचौर घर भई सदरमुकाम खलङगामा डेरा गरी बस्दै आएका ३८ वर्षीय शान्त बुढा, ३५ वर्षीय रत्न बुढा, २३ वर्षीय ओमप्रकाश बुढा बिरामी परेका छन् ।

यस्तै २६ वर्षीय डम्बर पुन, २२ वर्षीया शान्ति पुन, २३ वर्षीय टकबहादुर पुन र ४७ वर्षीय तीलबहादुर थापा रहेका छन् । उनीहरुको जाजरकोट अस्पतालमा उपचार भइरहेको अस्पतालका डा.अमिन शाहले बताए ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको शाहले बताए । बारेकोट घरबाट खलङ्गा आउँदा फूलचाउँलीको लेकबाट रत्न बुढाले च्याउ टिपेर ल्याएको र शनिबार साँझ पकाएर खाएका थिए । खाएलगत्तै उनीहरुमा बान्ता भएको थियो । जङ्गलमा जथाभावी उम्रेको च्याउ नखाना डा.शाहले सबैमा अनुरोध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप