शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

११ महिनामा ६२ अर्बको कृषिउपज आयात, ५२ अर्ब त घाटा नै

आइतबार, २९ असार २०७६, १० : २९
आइतबार, २९ असार २०७६

काठमाडौँ । यस वर्ष पनि नेपालले ठूलो परिमाणमा कृषिउपज आयात गर्दै नोक्सानीको दरलाई बढाएको छ । गत वर्षको तुलनामा यस वर्ष नेपालले कृषि व्यापारमा २० प्रतिशतको घाटा वृद्धि गरेको हो । चालु आर्थिक वर्षको ११ महिनामा मात्र नेपालले ५२ अर्बभन्दा बढी कृषिमा व्यापार घाटा खाएको छ ।

चालू वर्षमा ६२ अर्ब बराबरको कृषि उत्पादन आयात गर्दा नेपालले करिब ९ अर्बको मात्र निर्यात गर्न सफल रहेको छ । गत वर्ष सोही अवधिमा कृषिमा करिब ४२ अर्ब मात्र घाटा रहेको थियो ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा ६१ अर्ब ९१ करोड ७७ लाख ४२ हजार रुपैयाँ बराबरको तरकारी, फलफूल, माच्छा–मासु, दुग्धजन्य पदार्थ, पशुपन्छी लगायतका वस्तुहरू आयात भएका छन् । जसमा निर्यातको अवस्था भने अत्यन्त न्यून रहेको छ ।

यसै अवधिमा नेपालले करिब ९ अर्ब हारहारीको मात्र कृषिउपज निर्यात गर्न सफल रहेको छ । विभागको तथ्याङ्कअनुसार यस वर्ष ९ अर्ब ३१ करोड ४१ लाख ८४ हजार रुपैयाँको मात्र कृषिउपज निर्यात भएको हो ।

विभागको तथ्याङ्क हेर्दा ११ महिनाको अवधिमा नेपालले कृषिउपजमा मात्र ५२ अर्बभन्दा बढीको नोक्सानी व्यहोरेको छ । जुन कृषिप्रधान देशको विडम्बनाको विषय हो ।

विभागको तथ्याङ्कअनुसार यस वर्ष २६ अर्ब ४६ करोड ५७ लाख ९ हजार रुपैयाँको तरकारी आयात भएको छ भने एक अर्ब २२ करोड रुपैयाँको मात्र निर्यात भएको देखिन्छ । यो तथ्याङ्क हेर्दा तरकारीमा मात्र २५ अर्बभन्दा बढीको घाटा रहेको छ । जुन आयातको तुलनामा निर्यात निकै न्यून हो । गत वर्ष सोही अवधिमा २२ अर्ब बराबरको मात्र तरकारी आयात भएको थियो ।

त्यस्तै, फलफूल १७ अर्ब ३ करोड ९६ लाख ५७ हजारको आयात भएको छ । माच्छा एक अर्ब ७६ करोड ८० लाख ३५ हजार, मासु १४ करोड ६१ लाख ३२ हजार र दुग्धजन्य पदार्थ एक अर्ब ६८ करोड ५७ लाख ४५ हजार रुपैयाँको आयात भएको छ । साथै ४ अर्ब रुपैयाँभन्दा बढीको जिउँदो पशुपन्छीसमेत यस वर्ष आयत भएको तथ्याङ्कमा छ ।

निर्याततर्फ भने, यस वर्ष नेपालले सबैभन्दा बढी फलफूल निर्यात भएको छ । विभागको तथ्याङ्क अनुसार चालू वर्षको ११ महिनामा साढे सात अर्ब बराबरको फलफूल नेपालबाट बाहिरिएको छ ।

तर निर्यातको तुलनामा आयात बढी हुँदा यसमा पनि घाटा नै रहेको छ । माच्छामा मात्र एक अर्ब ७६ करोड ६९ लाख ४१ हजार व्यापार घाटा रहेको तथ्याङ्कले देखाउँछ ।

त्यसपछि मासु २० करोड १७ लाख ६९ हजार, दुग्धपदार्थ १७ करोड ७९ हजार ७३ हजार, माच्छा १० लाख ९४ हजार र जिउँदो पशुपन्छी ९६ लाख २४ हजारको निर्यात भएका छन् ।

जसमा क्रमशः मासु ५ करोड ५६ लाख ३७ हजार, दुग्धजन्य पदार्थ एक अर्ब ५० करोड ७७ लाख ७२ हजार, माच्छा एक अर्ब ७६ करोड ६९ लाख ४१ हजार र पशुपन्छी ३ अर्ब ९९ करोड, ३७ लाख ८२ हजार व्यापार घाटा रहेको छ ।

तथ्याङ्क तालिका (हजारमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप