मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तोलीगाउँ कर्णाली नदीको कटानको जोखिममा

शनिबार, २८ असार २०७६, १५ : २३
शनिबार, २८ असार २०७६

कैलालीको टीकापुर नगरपालिका–८ श्रीलङ्कास्थित तोलीगाउँमा कर्णाली नदीले जमीन कटान शुरु गरेको छ । पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि नदी कटान तीव्र भएको स्थानीयवासी दिलबहादुर बुढाले बताए ।
    
किसानले लगाएको ऊखु, तिल, मासलगायतका बालीसमेत कटान गरेको छ । वर्षेनी कटान र डुवानको समस्या झेल्दै आएका त्यहाँका बासिन्दा वर्षात्मा सधैँजसो त्रसित रहन्छन् । विगतका वर्षमा वर्षायाम सकिएर नदीमा पानीको सतह घट्ने बेला कटान हुने गरेको भए पनि यसवर्ष वर्षायामको शुरुवातबाटै कटान भएपछि स्थानीयवासी त्रसित भएका छन् ।
    
स्थानीय लोकसिंह बुढाले वर्षाको शुरुवातमै नदीले कटान शुरु गरेपछि त्रसित बनाएको बताए । “यसवर्ष त हामीले खेती पनि गर्न पाएका छैनौं, वर्षाको शुरुवातमै कर्णाली नदीले कटान शुरु गरेको छ”, उनले भने, “चार बिघाभन्दा बढी कटान गरिसकेको छ, यही गतिमा काट्दै गए श्रीलङ्का क्षेत्र सबै नदीमा परीणत हुनेछ ।”
    
नदी कटानबाट उर्वर भूमि बालुवामा परीणत हुँदै गएको स्थानीयवासी धर्म चौधरीले बताए । कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ गत वर्षदेखि तटबन्ध बनाएपछि नदीको कटान झन तीव्र भएको हो । तटबन्ध सकिएको ठाउँबाटै नदीले यसवर्षसमेत कटान शुरु गरेको हो । 
    
कैलालीको क्षेत्रमा भने तटबन्ध निर्माण हुनसकेको छैन । कर्णाली नदीले श्रीलङ्कामा कटान शुरु गरेको टीकापुर–८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । केही दिनदेखि नदीले कटान शुरु गरेको छ । “बर्दियातिरबाट भएको तटबन्ध भन्दा तलबाट कटान शुरु छ”, ठकुल्लाले भने, “कटानले श्रीलङ्काको उर्वरभूमि सखाप हुने अवस्थामा पुग्यो ।” नदी कटानका कारण किसानले लगाएको बालीसमेत नष्ट भइरहेको अध्यक्ष ठकुल्लाले बताए। श्रीलङ्कामा झण्डै ८० परिवार बसोवास गर्दै आएका छन् । 

त्यहाँका अधिकांश नागरिकले उखुखेती गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप